Home / Feature Breaking news / ‘रियाल’ मा विकेको प्रेम

‘रियाल’ मा विकेको प्रेम

देवेन्द्र बस्नेत

विदेशी डलरको सपना देख्न नसक्नु मेरै कमजोरी थियो । विदेशमा गएर टन्न पैसा कमाएको भए तिम्रो प्रेम किनिदिन्थेँ । किनकी तिमी प्रेमको दुकानदार । ढ्याब्ली थापेर प्रेमको मोलमोलाई गर्ने ब्यापारी तिमी । तिमीलाई जतिसक्यो महंगोमा प्रेम बेच्नु छ । जसले डलरको लोभ देखाउँछ,उसैलाई बेच्छौ तिमी आँफूलाई । सकिन तिम्रो प्रेम किन्न ।

तिमीले तोकेको तिम्रो प्रेमको चर्को मुल्य कसरी तिर्न सक्थेँ र म । तिम्रो प्रेमलाई किन्न त दिनहुँ ‘रियाल’ र ‘डलर’ खेलाउन सक्नु पथ्र्यो । कहाँ सौ पचासका नोट पट्याएर तिम्रो प्रेम किन्ने हिम्मत गर्नु ? आलु,गोभी हो र तिम्रो प्रेम ? सौ पचासमा मिल्ने ?
एकमन त लाग्छ, यहिँ पैसा जम्मा गरेर तिमीले तोकेकै ‘रेट’ फालीदिउँ । तिम्रो प्रेम किन्न सक्ने हैसियत देखाउँ । आँफूलाई कति कमजोर पारेर राख्नु ? ढ्याब्लीमा प्रेम प्रदर्शन गरेर तिमी चुनौती दिँदै छौ,‘सक्छस भने आईज,मेरो प्रेम किन्न,नोटको पुला बोकेर ।’ तिम्रो चुनौती सामु असक्षमको बिल्ला भिरेर बसिरहन्छु । हेरिरहन्छु, तिम्ले बिक्रीका लागि ढ्याव्लीमा राखेको तिम्रो मुल्यवान प्रेमलाई ।

खल्तीमा सौ पचास मात्रै जम्मा के भएको हुन्छ,सामसुंग मोवाईलले गोजी रित्तिने संकेत गरिहाल्छ । ‘आज तरकारी छैन,तरकारी लिएर आउनु ।’ अनि तोडिन्छ तिम्रो प्रेम किन्ने सपना । घरी शिशासरी चकनाचुर बन्छ । फेरी सौ पचास हप्ता दिन पछि मात्रै जुट्ला । त्यो बेला सम्म फेरी तरकारी सकिईसकेको हुन्छ । यसैगरि तुहिईरहेका छन्, तिम्रो प्रेम किन्ने सपना । तिम्रो प्रेम सम्झेर दिनदिनै आलु र गोभी किनिरहे छु । तरकारी बनेर पाक्ने आलु र गोभीकै स्वादमा तिम्रो प्रेमको मिठास खोजिरहेको छु ।

तिमी प्रेम किन्ने चुनौती दिँदै जाउ,मेन चोकमा ढ्याब्ली थापेर प्रेमको प्रदर्शन गरिराख । म आलु र गोभी किनिरहन्छु । तिम्रो प्रेमलाई आलु र गोभीको स्वादमा निल्दै जाने छु । यहि हो, तिम्रो महानता माथीको मेरो कमजोरी । तिमी सानो हिम्मत गर्दैनौ । म सानोमै चित्त बुझाउँछु । तिमी दिनहुँ रियाल र डलरको सपना देख्छौ ।

म दुई रुपैयाँ ढ्याकको अभाव दिनदिनै देखिरहन्छु । दुई रुपैयाँ ढ्याकको अभाव महशुस गर्ने मबाट कसरी लिन सक्थ्यौ त,रियाल र डलरको सन्त्ष्टि ? अनित तानियो नी तिम्रो मन सिधै खाडी मुलुक । त्यहाँ तिम्रो लागि रियाल जम्मा भैरहेको छ । भोली बोरा भरिएला , अनि रियालकै चाङै चाङ । अनि किनिने छौ, चाङ भरी रियालसंग । रियालै खानु,रियालमै सुत्नु । दुई रुपैयाँ ढ्याके मैले शुभकामना भन्दा बढि के दिउँ ?
तिम्रो आगामी योजनाको रिस गरेको हैन,नत दुखै मान्छु । मेरो दुई रुपैयाँ ढ्याकमा तिम्रो प्रेमलाई बिक्री गर भनेर कर गर्नु पनि मेरै मुख्र्याई हो । तिमी आफ्नो जिन्दगीको निर्णय गर्न स्वतन्त्र छौ । चाहे रियालमा बिक, चाहे डलर वा दुई रुपैयाँ ढ्याकमा । तर मलाई के थाहा ? तिमी आफ्नो प्रेमलाई ढ्याब्लीमा बिक्रि गर्न राख्छौ भन्ने ? नत्र किन गाँसिन आउँथे तिमीसंग ?

दुनियाँले तिम्रो प्रेमको मुल्य तोकेको सुन्दा दुख लागेर आउँछ । किनकी तिम्रो प्रेम म थिएँ,मेरो प्रेम तिमी । कहिलेकाँही सोच्छु,तिमी मेरो प्रेमलाई ढ्याब्लीमा राखेकी छौ । कुरिरहेकी छौ,मोटो रकम बोकेर आउने ग्राहकलाई । कोही आउने छ, पैसाको बिटो बोकेर अनि बनाउने छ, मेरो प्रेमलाई आफ्नो प्रेम । दुखी यतिमै छु ।

के गर्नु तिम्रो जस्तो सपना देख्न सकिन । देख्न सकेको मात्रै भएपनि पुरा गर्ने आँट आउँथ्यो होला । म त अक्षरको ब्यापारी । दिनभर अक्षरको खेती गर्छु । उब्जनी किलो वा लम्बरमा जोखिन्न । फित्ता लगाएर नापिन्छ । अनि तोकीन्छ मुल्य । ‘तेरो अक्षरको मुल्य यति’ यो पनि भनिदैन । जति दिईन्छ त्यतिमै चित्त बुझाउनु पर्ने ।

त्यो पनि उधारो । रकम आउँदा सम्म कोठामा कैयौँ आलु र गोभी सिद्धिईसकेका हुन्छन् । कैयौँ चामलका बोरा रित्तिएर खुट्टा पुछ्न बिछ्याईएका हुन्छन् । चामलका बोरा फेरी भर्नु छ , अनि आलु र गोभी खरिदेको उधारो तिर्न उस्तै । तलव हात परेको दुईदिनमै चिया खुवाउने डोनर खोज्न सुरु । ‘तँ संग कहिले हुन्छ पैसा भन्त ?’ डोनरले गरेको कटाक्षले फिस्स हाँस्नु शिवाय केही उपाय हुन्न । यति ठूलो कटाक्षलाई पचाएर चियाको चुस्की मार्नुको आनन्द लिनु पर्छ । कति नकचरो म । आँफू संग दुई कौडी नहुनेले छिनछिनमै चियाको चुस्की मार्ने ख्वाब ? कति मिठो मुख ? केही नहुनेको ।

खान त खानै पर्ने रे, बरु मागेरै किन नहोओस् । खुवाउनेले नांगोबुंगो भनेपनि ङिच्च दाँत देखाएर पचाईदिए भैगो । पैसा नभएको पनि हैन, हुन्छ,बचाउन नसक्नु मेरो कमजोरी हो । यात बच्ने गरि कमाउन नसक्नु अर्को कमजोरी होला । पोहोर किनेको जुत्ताले खुट्टामा पहिरिन मन गर्दैन । उसलाई बाहिर देखिन लाज भैसक्यो । ठूलै प्यावल परेको उ लज्जीत छ । आँफू च्यातीएको देखाउन किन मन लागोस् उसलाई ? अर्को नयाँ जोर जुत्ता किन्नु पूर्व,कोठाका आलु र गोभीको अवस्था सोच्नै पर्छ ।

कोठामा बस्ने मुखहरु आलु गोभीले मिच्छिईसके रे । ति मुखहरु मासुले मिठिन खोज्न थालेको पनि हप्ता दिन हुनै आँट्यो । बरु ब्रोईलरकै मासु भएनि ठिक अरे । २ सय ७० रुप्पे किलो मासु खाईसकेपछि किन खाएँ हुँला भनेर पछुताउनु पर्ने दिन टरेकै छैनन् । खाँदा स्वाद,खाईसकेपछि पैसा खेर गएकोमा चुकचुकी ।
तिमी रियाल भोगी नहुँदी हौत, मासु खानुको आनन्द पछि अवश्य चुकचुकाउनै पथ्र्यो । मासु खानमा धुरन्धर तिम्लाई सधैँ आलु र गोभी पच्ने थिएन पक्कै । मासु खाँदी हौत,सपना देखेपछि मात्रै । बिपनामा त साँझ आलु र गोभी,विहान गोभी र आलु । फेरी फेरी तरकारीको स्वाद । नत तिमी वाईनको नशामा मस्त हुन पाउँथ्यौ ।

तिम्रा लागि वाईन नपिए जिन्दगी खल्लो । के खान्थ्यौ होला र ? वाईन सम्झेर जरुवाको पानी । मैले खुवाउन सक्ने भनेको त्यहि पानी त हो नी । वाईन,भोड्का,वियर जे भनेनी ।
मेरो सत्यता बारे तिम्लाई सवै जानकारी छ । यहि सत्य बुझेरै तिमी रियालको सपनामा हराउन थालेकी हौ पक्कै । के थाहा मलाई ? अख्तियार जस्तै मेरो आम्दानी चेकजाँच गरौली भन्ने ? कहिलेकाँही त यस्तो लाग्छ,मेरो आम्दानी, हैसियत जाँच गर्न तिमी अख्तियार बनेर आयौ,प्रेमको खोल ओढेर । मेरो हैसियत बुझेर तिमी जाँदा पो थाहा पाएँ,तिमी अख्तियार,मेरो हैसियत बुझुन आएकी । म तिम्रो चेकजाँचमा फेल भए हुँला । त्यहि त रातभरी रियाल गफमा मस्त हुन्छौ, खाडी मुलुकसंग । ढ्याक छोडेर ।

त्यहि भएर पोख्छौ रियालको बेग्र प्रतिक्षारत पीडाहरु सामाजिक सञ्जालहरुमा । आउँछ, रियाल तिम्रो जीवन बनेर । लाने छ उठाएर आँफूसंगै । सुर्ता नगर धेरै । प्रतिक्षा गर्न सक्ने धैर्यता देखाउ । अव तिम्रो जीन्दगी त्यहि रियाल हो,दुई रुपैयाँको ढ्याक हैन । तिमी रियालको आनन्दमा हराउ, म दुई रुपैयाँ ढ्याक अभाव जिन्दगीको आनन्द लिन्छु ।
म यहि अभावमा बाँच्छु । यसैमा आनन्द लिन्छु । किनकी अभावमा पनि मान्छे बाँच्न सक्छ भन्ने उदाहरण बन्न चाहन्छु तिम्रो लागि । हुनत तिम्रो लागि खाडी मुलुकमा कहिले सम्म रियाल जम्मा होला र ? ठूलो सपना राखेकी तिमीलाई म जस्तै ढ्याकको अभावमा तड्पिनु नपरोस् । रियालकै लागि प्रेम बेच्यौ । भोली ढ्याकको लागि तिम्रो अस्मिता बेचीएका अक्षर मैले कोर्नु नपरोस् । अस्मिता ब्यापारीको सप्रमाण सहित प्रहरीले तिम्रो हातमा हतकडी लगाउँदा क्यामेराको ‘एंगल’ मिलाएर क्लिक हान्ने दिन नआउन् ।

त्यो बेला मैले तिमीलाई समाचार बनाएर बेच्नै पर्छ । फित्तामा नापिने छौ तिमी । अनि मेरो मासिक तलवमा जम्मा हुनेछौ । बरु नुन पानी उमालेरै छाक टारौला तर तिम्रो समाचार बेचेर आलु र गोभी खरिद गर्ने अवसर नदिनु मलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*