Home / Feature Breaking news / लोपोन्मुख कुसुण्डा बने उपमहानगरका ‘सांसद’

लोपोन्मुख कुसुण्डा बने उपमहानगरका ‘सांसद’

देवेन्द्र बस्नेत
दाङ, ४ साउन
लामो समय सम्म सरकार समक्ष लोपोन्मुख कुसुण्डा समुदायको उत्थानका लागि अपिल गर्दै आएका धनवहादुर कुसुण्डा सोमवार स्थानीय सरकारको नेतृत्वकर्ताको हैसियतामा सपथ खाँदै थिए । माग सुनुवाई नहुँदा बर्षौँ सम्म राज्यबाट उपेक्षित महशुस गर्दै आएका धनवहादुरलाई स्थानीय सरकारको नेतृत्वकर्ताको सपथ अपत्यारिलो, असहज जस्तै लागिरहेको थियो । उनले हाँस्दै भने ‘विपना हो की सपना हो जस्तो महशुस भैरहेको थियो ।’ आँफैका लागि अपत्यारीलो सोमवारको सपथसंगै उनी स्थानीय सरकारको निर्णायक हैसियतामा पुगेका छन् । धनवहादुर घोराही उप–महानगरपालिकाको कार्यपालिका सदस्य अर्थात उप–महानगरको ‘सांसद’ सरह बनेका छन् । उप–महानगरपालिकाले मनोनित गरेका नगर कार्यपालिकाका ८ सदस्य मध्य धनवहादुर अल्पसंख्यकबाट सदस्य चुनिएका हुन् ।
बर्षौँ सम्म लोपोन्मुख आफ्नो समुदायको बृहत्तर हितका लागि दौडधुप गरेका उनि आँफै नीति तथा कार्यक्रम निर्माण गर्ने हैसियतामा पुगेका छन् । अब उनी उपमहानगरको नीति कार्यक्रम निर्माणका निर्णायक मध्यका एक बनेका छन् । कुसुण्डा समुदायबाट स्थानीय तहमा प्रतिनीधित्व गरेका उनि पहिलो हुन् । ‘अहिले सम्म हाम्रो समुदायबाट स्थानीय सरकारमा कोही पनि प्रतीनिधी बनेको थिएन,’ उनले भने–‘मेरो प्रतिनीधित्व नै हाम्रो समुदायमा ईतिहास कै पहिलो हो ।’

dhanbahadur kusunda
सरकार वा दलहरुको उपेक्षामा परेको भन्दै गुनासो ब्यक्त गर्ने धनवहादुरलाई अहिले महशुस भएको छ ‘पालो सबैको आउँदो रहेछ ।’ उनले आफ्नो पदीय जिम्मेवारीलाई आफ्ना लागि अधिक ठूलो महशुस गरेका छन् । भन्छन् ‘यति ठूलो भुमिकामा पनि कुसुण्डाहरु पुग्न सक्ने रहेछौँ, यो त हाम्रो कल्पना भन्दा पनि बाहिरको कुरा जस्तो लाग्थ्यो ।’ एमालेबाट स्थानीय सरकारमा प्रतिनीधित्व पाएका उनलाई एमालेका नेताहरुले पहिले देखिनै नजरमा राखिसकेका थिए । ‘मलाई पहिल्यै देखी नै यो हैसियतामा पु¥याउने कुरा चलिरहेको थियो र मैले पनि स्थानीय सरकारको प्रतिनीधित्वका बारेमा चासो राखिरहेको थिएँ,’ उनले भने– ‘एमाले नेता शंकर पोख्रेल लगाएतका नेताहरुले यो चाहनु भयो र मेरो सपना पुरा भयो ।’
उपमहानगरका ‘सांसद’ धनवहादुरले सपथ कै क्रममा संकल्प गरेका छन् ‘मेरो पहिले देखिको मिसन अब सफल पार्ने छु ।’ उनको मिसन भनेको देशभर रहेका कुसुण्डाहरुको सामुहिक एकीकृत बस्ती निर्माण । उपमहानगरको कार्यपालिका मार्फत यो समुदायको एकीकृत बस्ती निर्माण आफ्नो पहिलो मिशन रहेको उनले वताए । ‘कुसुण्डाहरुलाई एकै ठाउँमा एउटै बस्ती निर्माण गरेर बसालिदिनु पर्यो भनेर मैले लामो समय देखि संघर्ष गर्दै आएँ,’ उनले भने–‘अब आँफै निर्णायक तहमा बसेर यो कामलाई सफल बनाउने छु ।’
सरकारी तथ्यांक अनुसार लोपोन्मुख यो समुदायको देशभरीको संख्या जम्मा २ सय ७३ जना मात्रै छ । दाङमा १५ घरपरिवार छन् । दाङ सहित अर्घाखाँची, कपिलवस्तु, गोर्खा, तनहुँ, प्यूठान र सुर्खेतमा छरिएर बसेका कुसुण्डा समुदायका नागरिकहरुको संयुक्त बसाईको माग यो समुदायले राख्दै आएको छ । यसको प्रमुख कारण भनेको यो समुदायको भाषा, कला, संस्कृति संरक्षणका लागि हो । ‘कतै जग्गा व्यवस्थापन गरेर देशैभरका कुसुण्डा समुदायका नागरिकहरुलाई एकै थलोमा बसालिदिने व्यवस्था हुन सके हाम्रो कला, संस्कृति, भेषभुषाको संरक्षण हुने थियोे,’ उनले भने– ‘छरिएर रहेका कारण हाम्रो समुदायको भाषा, संसकृति सबै चौपट भैसकेको छ ।’
कुसुण्डाको बोलीने भाषा भिन्दै छ । तर यो भाषा संकटमा पर्दै गईरहेको छ । अहिले दुईजना बृद्धाहरुले मात्रै कुसुण्डा भाषा बोल्न जान्ने गरेको उनले सुनाए । ‘हामीहरु यसरी संकटमा पर्दै गईरहेका छौँ,’ उनले भने–‘लोपोन्मुख समुदायको संरक्षण गर्ने दायित्व अब स्थानीय सरकारमा आएको छ ।’

धनवहादुरले आफ्नो समुदायको भाषा, कला, संस्कृति संरक्षणका लागि आफ्नो एकल अभियानलाई लामो समय देखि चलाउँदै आए । उनले यसै अभियानलाई सफल पार्न भन्दै राज्यलाई दबाब दिन नेपाल कुसुण्डा बिकास समाज नामक संगठन निर्माण गरेर अभियान चलाए । यसै संगठन मार्फत आफ्ना मुद्धाहरुलाई राज्यका निकायसम्म पु¥याउँदै आए । धनवहादुर यो समाजका अध्यक्ष समेत हुन् । ‘सुरुमा यो संगठन निर्माण गरेपछि हामीहरु केहि फराकिलो बन्दै गयौँ,’ उनले भनेؘ– ‘यसै संगठन मार्फत हामीहरु जातीय महासंघ, जनजाती प्रतिष्ठानमा आवद्ध भयौँ ।’
कुनै बेला राउटे सरह जंगलमा फिरन्ते जीवन बिताउँदै आएको कुसुण्डा समुदाय २०३५÷०३६ तिर समाजमा स्थापित भएको समुदाय हो । अहिले सम्म सरकारी निकायमा कतैपनि प्रतिनीधित्व हुन नसकेको यो समुदायबाट ईतिहासमै पहिलो पटक स्थानीय सरकारमा धनवहादुरले प्रतिनीधीत्व जनाएका छन् ।

dhan bdr
ऐलानी जमीन जोतभोग गरेर आश्रित यो समुदायले आँफुहरुको सहज बसाईको व्यवस्थापन हुनु पर्ने माग राख्दै आएको छ । ‘हाम्रो समुदायपनि कुनै बेला राउटे जस्तै जंगलमा फिरन्ते घुम्दै आएको समुदाय हो,’ धनवहादुरले भने–‘अहिले समाजमा घुलमील भएर बस्ने थालेपनि हामीहरुको दैनिक जीवनयापनमा अनेकन वाधाहरु छन् ।’ उनका अनुसार परापूर्वकालमा समाजमै रहेका कुसुण्डाहरुको राजा फरक समुदायले मारिदिएपछि उनिहरु मरिने डरले जंगल पसेका थिए । ‘जंगलमा शिकार गरेर, कन्दमुल खाएर बस्ने समुदाय हो कुसुण्डा पनि,’ धनवहादुरले भने ।
यो समुदायमा त्रास कम बन्दै गयो । विस्तारै समाजसंगको सामिप्यता बढ्दै जान थाल्यो । त्यसोत, सामुदायीक वन स्थापना भएपछि जंगलमा बस्नै मुश्किल पर्न थाल्यो । अन्ततः उनीहरु जंगलबाट ओरालो लागेर समाजमै आईपुगे ।
जंगलबाट समाजमा आईपुगेपछि उनीहरुले ऐलानी जमीन खनिखोस्री पारेर बसाई थाले । बर्षौँ बितिसक्यो, उनीहरु अहिले पनि ऐलानी जमिनका टहराबाट माथि उठ्न सकेका छैनन् । यो समुदायले मुख्यतः आँफुहरुको बसाई कानुनी रुपमा बैधानिक होओस् भन्नेमा छन् ।
पछिल्लो पटक सुकुम्बासी समस्या समाधान आयोगले लालपुर्जा दिलाईने दिने आश्वासन दिएको भएपनि आयोग भंग भएपछि अन्नतः त्यो प्रयास पनि बिफल बनेको थियो ।

dhanbdr 1
हाल सम्म ऐलानी जमीनमा बसोबास गर्दै आएका यहाँका कुसुण्डा समुदायका नागरिकहरु कसैको पनि नाममा एक कठ्ठा जमिन छैन । जनप्रतिनीधि धनवहादुरको अर्को ऐजेण्डा हो उनिहरुलाई पुर्जावाल जमिन वितरण । ‘मेरो अर्को मिशन भनेको कुसुण्डा समुदायको नाममा जग्गाको पुर्जा पुर्याउने हो,’ उनले भने ‘कुसुण्डा समुदायलाई जग्गाको पुर्जा वितरण गर्नु मेरो अर्को मिशन हो ।’ यो समुदायको मुख्य धन्दा भनेकै मजदुरी हो ।
धनवहादुर पनि विगत एक बर्ष देखि घोराहीमा अटो रिक्सा हाँक्दै आएका छन् । हामीसँग कुरा गर्दा नि उनी रिक्सामा यात्रु ओसार्न व्यस्त थिए । ‘यो मेरो रोजीरोटी धान्ने पेशा हो,’ उनले भने–‘तर स्थानीय सरकारमा प्रतिनीधित्व भैसकेपछि अब मैले कुसुडा समुदायको लागि मात्रै होईन, उपेक्षित सबै बर्ग समुदायको हितका लागि दबाब मुलक अभियान चलाउने छु ।’ स्थानीय सरकारमा आफ्नो प्रतिनीधित्व आफ्ना लागि सिकाईको समेत ठूलो अवसर बनेको छ उनका लागि । राज्य संग प्रत्यक्ष जोडिएर कामकारवाही गर्ने हैसियतमा पुगेका उनले भने ‘स्थानीय सरकारमा मेरो प्रतिनीधित्व मेरो लागि सिकाईका लागि पनि उत्तिकै उपलब्धीमुलक छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*