Home / साहित्य विशेष / प्रियतमा : प्रेमको सप्ताहोत्सव

प्रियतमा : प्रेमको सप्ताहोत्सव

प्रियतमा,
चुम्बनको वर्षा पठाइदिएको छु, रुझ ।

बाह्र वर्षअगाडि लेखेको रहेछु कविता–
तिमी छौ
र, त म छु ।

मेरा वरिपरि
अनकन्टार गुफाहरू छन्
जहाँ मान्छे
अस्तित्वको खँडेरीमा छट्पटाइरहेछन्
म तिम्रो चिराग बालेर
यी गुफामा
पस्न खोजिरहेछु
र, सल्काउन खोजिरहेछु
आदिम अँध्यारो ।

म तिमीलाई
मेरा आँखाका नानीमा भरेर यसपल
आँखीझ्याल बुनिरहेछु
र, चिहाइरहेछु
यो साँघुरो कोठाबाहिरको
कन्चन आकास,
हरिया डाँडाहरू ।

तिमीलाई मेरो कसम
म तिमीलाई हृदयमा टाँसेर
युगले साँचेको सपना देखिरहेछु
म तिमीलाई अँगालेर
एउटा अजम्बरी इतिहास लेखिरहेछु ।
(२०६०)
बाह्र बर्षपछि बोध गर्दैछु, त्यो ‘तिमी’ नै थियौ । सिकारुकालमा लेखिएको यो कवितामा शब्द थोरै छन्, तर के तिम्रो आभाष पर्याप्त छैन र ?

माया,
सोचेको थिइनँ, तिमीले त्यसरी प्रेम प्रकट गरौली र म यसरी तिमीलाई असीम प्रेम गरौंला । जीवनको सुन्दरता नै यही हो, कि अक्सर नसोचेका कुरा भइदिन्छ । यो थाहा पाएर म कति खुसी भएँ होला, तिमी आफैं अनुभूति गर कि तिमी पहिले मेरो कवितालाई मन पराउँथ्यौ, अनि मलाई मन परायौं । मेरो कायालाई होइन, मभित्रको चेतनालाई, भावनालाई तिमीले मन परायौ । तिम्रो यो मन पराउने तरिका मलाई खुप मन प¥यो ।
मैले यो पत्र वसन्तको पहिलो दिन लेख्न सुरु गरेको छु । फेसबुकमा तिमीले पठाएका ‘म्यासेज’ पढ्दै–
‘कहिलेकाहीँ लाग्छ, आफैंलाई बिर्सिदिउँ तिमीले भनेजस्तै… तर त्यसरी आफैँलाई बिर्सेर हिँड्न पनि कहाँ सकिँदोरहेछ र ? हरेक पल हाम्रो वास्तविकताले हामीलाई लखेटिरहन्छ ।’
‘कहिलेकाहीँ लाग्छ, जिन्दगी हामीले भोगिसक्यौं । तर तिमीसँग भेटेपछि लाग्दैछ, जिन्दगीमा धेरै कुरा भोग्न बाँकी नै छ । जिन्दगी जिउन हामी भर्खर त सिक्दैछौं । र, अनायासै जिन्दगीको माया लागेर आएको छ ।’
‘तिम्रो एक चुम्बनले मेरो मन हल्लाइदियो । लाग्यो, यो समय टक्क रोकियोस् तिम्रो चुम्बनमा, श्पर्शमा । तिम्रो तातो श्वासलाई गहिरोसँग महसुस गरेँ । र, लाग्यो– आँखा चिम्लेर डुबिरहूँ । निशब्द रहेर मौनतामा तिम्रो हृदयसँग संवाद गरिरहूँ ।’
‘तिमी भन्छौ नि यो मायावी सहर हो । यहाँ आफ्ना इच्छाहरू पैतालामुनि कुल्चिएर हिँड्नुपर्छ कहिलेकाहीँ । मान्छेहरू जस्तो देखिन्छन् त्यस्ता नहुन सक्छन् । म यो कटुसत्यसँग परिचित छु मेरो प्रिय साथी ।’

‘म चाहन्छु हाम्रो सम्बन्ध दिगो बनोस् त्यत्तिकै, जत्ति सदियौंदेखि यो जून छ, ताराहरू छन् र यो शीतल रात छ । हो, भोलि फेरि उज्यालो पनि त हुनेछ । सबै स्वार्थहरूदेखि पर रहेर हामी एक–अर्कालाई माया गरिरहन सकौं ।’
भर्खरै तिमीले फेसबुकमा इन्बक्स गरेकी छौं– तिमीलाई भेटेपछि मेरो जीवन रंगीन भएको छ । आज होली, तिम्रा यी शब्दले खुप अर्थहरू दिन्छन् । हामी असामान्य अर्थहरू खोजिरहेछौं जीवनमा । र, केही असामान्य जीवन भोग्न खोजिरहेछौं । केही असामान्य सपना देख्न खोजिरहेछौं । जीवनमा मैले भोगेको अनुपम अनुभव हो यो ।

कालु,
म बढी नै अभिव्यक्त हुँदोरहेछु खासमा । तिमीलाई भेटेदेखि के–केचाहिँ बोलीभ्याइनँ र ? कार्ल माक्र्सदेखि बुद्धसम्म, धेरैको नाम लिएछु । सम्झी ल्याउँछ, पत्रमा लेख्नका लागि पनि धेरै केही बाँकी नराखी मैले बोलीभ्याएछु । त्यसैले यो पत्र तिम्रो कलमलाई झक्झक्याउनका लागि हो । र, हामीले बारम्बार कुरा गर्ने गरेको माक्र्सको प्रेमपत्र यहाँ उधृत गर्दैछु । म आशा गर्छु, तिमी यसलाई दुई पटक पढ्नेछ्यौ, एकपटक हृदयले, अर्कोपटक मस्तिष्कले–

मेरी प्रिय,
म फेरि एकपटक तिमीलाई पत्र लेख्न बसेको छु । किनभने म एक्लो छु । मलाई तिमीसित लगातार मनैमनमा कुराकानी गरिरहन अत्यन्तै दुःख महसुस हुन्छ, किनभने यस्तो कुराकानी न तिमी सुन्न सक्छ्यौ, न त जवाफ फर्काउन नै । म तिमीलाई जीवन्त आफ्नै अगाडि उभिएको देख्छु– टाउकादेखि खुट्टासम्म तिमीलाई चुम्छु, तिम्रा सामु घुँडा टेकेर उभिन्छु र विनम्रतापूर्वक भन्छु, देवी, म तिमीलाई प्रेम गर्छु । तिमीलाई म प्रेम त कति गर्छु भने जति प्रेम कहिल्यै भेनिसको राजकुमारले पनि गरेको थिएन होला ।
मिथ्याले भरिएको यो दुनियाँले सबै मानिसहरूलाई मिथ्या र बेकार नै भन्ठान्छ । के कहिल्यै मेरो आलोचक र कुरा काट्नेहरूले यस दोस्रो दर्जाको नाट्यशालामा मेरो अब्बल दर्जाको प्रेमी भएको भूमिकाको भत्र्सना गरेका छन् ? आखिर यो सत्य नै हो । यी दुष्टहरूसित बुद्धि हुँदो हो त यिनीहरूले एकातिर ‘उत्पादन र विनिमय सम्बन्ध’को कलाकृति र अर्कातिर मलाई तिम्रो खुट्टामा साष्टांग परेको देखाइने थिएँ । अनि तल लेखिएको हुने थियो– पहिले यो चित्र हेर्नुस् र मात्र त्यसलाई । तर यी दुष्टहरू मूर्ख छन् र सधैं नै रहनेछन् ।
मलाई तिमीबाट टाढा कुनै सपनाले मात्र लैजान सक्छ । तर त्यस्तो अन्तरालले पनि तिमीप्रतिको मेरो प्रेमलाई ठीक त्यसरी नै पालनपोषण गर्नेछ, जसरी पानी र घाम विरुवा हुर्काउन सहायक हुन्छन् । जसै तिमी मबाट टाढा हुन्छ्यौ, तिमीप्रति रहेको मेरो प्रेम आत्माको सम्पूर्ण शक्ति र हृदयको सबै कुरा समेटेर एउटै वृत्ताकार स्वरुप लिन पुग्छन् । तीव्र भावावेगमा म आफूलाई नितान्त कुनै नयाँ मानिसको रूपमा अनुभव गर्न थाल्दछ ।

प्रिय, तिमी हाँसौली किन म एकाएक यसरी शब्दजालामा अझिन थालेँ भनेर । म यही तिम्रो मृदु स्वच्छ हृदयसित हृदय मिलाएर आलिंगनबद्ध हुन सक्ने भए विल्कुल मौन बस्ने थिएँ । एक शब्द पनि भन्ने थिइनँ । अहिले म तिम्रा ओठहरूलाई चुम्न सक्दिनँ । त्यसकारण मैले तिमीलाई बोलले चुम्नुपर्छ र शब्दहरू लेख्नैपर्छ ।
हो, एकदम सत्य कुरा के हो भने दुनियाँमा थुप्रै–थुप्रै नारी छन्, तीमध्ये केही त निश्चित रूपले राम्रा पनि छन् । त म त्यो अनुहारलाई फेरि कहाँ पाउन सक्छु, उसको प्रत्येक रेखा–रेखाले मेरो जीवनको महानतम् एवं मधुरतम् स्मृतिहरूलाई ब्यूँताइदिने क्षमता बोकेको छ ? तिम्रो मधुर मुखाकृतिमा म आफ्ना अनगिन्ती दुःखहरू र आफ्ना अपुरणीय क्षतिहरूलाई पढ्ने गर्छु । अनि जतिखेर म तिम्रो सुन्दर मुहारलाई चुम्बन गर्छु, त्यतिखेर म आफ्ना सारा दुःखहरूलाई पनि चुम्बन गर्दै टाढा पन्छाइदिन्छ, जसको आलिंगनमा डुबेर गरिएको चुम्बनले पुनर्जीवित पारिदिन्छ ।
त्यस्तै छ तिम्रो आलिंगन, त्यस्तै छ तिम्रो चुम्बन । र, यसप्रति समर्पित गर्छु म ‘ब्रम्हाण्ड र पाइथागोरसका पुनर्जन्मका उपदेशहरू’ अनि ‘क्रिस्तानहरूको पुनरुत्थानको पाठ’ ।

हरेक पटक जेनी माक्र्सलाई माक्र्सले लेखेको यो पत्र पढेर म स्तब्ध हुन्छ । प्रेमको शक्ति, पागलपन, सिर्जनात्मकता र महान प्रयोजन एकैचोटी खुलेर आउँछ ।
हामीकहाँ आफूलाई माक्र्सका ‘चेला ठान्नेहरूले’ प्रेमलाई कति घिनलाग्दो, नाकाम र दुरुह बनाइदिएका छन्, यो पत्र पढेर थाहा हुन्छ । त्यसैले हाम्रो प्रेमका यात्रा यो पत्रको अनुभूतिबाट सुरु होस् भन्ने म चाहन्छु ।
हामीले केही दिनमात्रै बिताएको छौं प्रेम प्रकट गरिसकेपछि । तर यी दिनमा मैले यति सघन प्रेमको अनुभूति गरेँ, लागिरह्यो जीवनमा कहिल्यै त्यस्तो अनुभूति गरिनँ । यो प्रेमको सघनतालाई सपनाको यात्रासँग जोड्न चाहन्छु । प्रेमको शक्तिलाई सिर्जनात्मक विष्फोटमा लगाउन चाहन्छु ।
आज धेरै लेख्दिनँ । तर यत्ति त भन्नु नै छ– तिम्रो मुस्कानको रंग संसारको सबैभन्दा सुन्दर रंग हो । यही रंग हरेक ओठहरूमा फैलाउनु छ । होलीको शुभकामना !

–दोस्रो पत्र–

प्रियतमा,
पठाएको छु तीव्र गतिको स्पन्दन, सुन !

एकअर्काको हृदयमा पौडिरहेको प्रेम अभिव्यक्तिको घाममा नुहाउन थालेको साता बितेछ । उस्तै छ तिम्रो अनुपम श्पर्शको सघन प्रभाव, मुर्झाइरहेको फूललाई पानीको पहिलो बुँदले दिएको जीवनबोधजस्तो । उत्तिकै ताजा छ, तिम्रो चुम्बनले पैदा गरेको तरंग । अन्धकारमा अल्मलिएको यात्रीजस्तो थिएँ म, बिजुली चम्किएजस्तो थियो त्यो । मैले केही परसम्म देखेको थिएँ छ्याङ्ग र पहिल्याएको थिएँ बाटो ।

तिमीले भन्यौ, ‘एक हप्ता भइसकेछ है !’
मैले भनें, ‘जम्मा एक हप्ता पो भएछ !’

तिमीले सोच्यौ, ‘कति छिटो बितेछ समय ! खोल्नै बाँकी छन् हृदयका कयौं झ्यालढोका । बाँकी छ, रुझ्नै स्वप्निल प्रेमको साउने झरीमा । गाउनै बाँकी छ गीत, जो हृदयमा मात्रै लेखिएका छन् अहिलेसम्म । चुम्नै बाँकी छ अतृप्त हृदयको रापिला ओठ । एउटै देउराली पनि काटिगएका छैनौं स्वप्निल यात्राको । सिर्जनाको एउटा बोटमा पनि जीवनपानी हाल्न भ्याएका छैनौं । यसैगरी बित्ने त होइन दिन, साता, महिना, वर्ष र जिन्दगानी !’
मैले सोचें, ‘अनुभूतिको दूरी नाप्न नसक्ने समयको विभाजन कस्तो ! अनुभूति त भन्छ– चेतनाको पहिलो डाकदेखि साथै छौं हामी । दुनियाँले भोगिरहेको पट्यारलाग्दो निरस र एकोहोरो जीवनभन्दा पऽऽऽरको क्षितिजलाई औंल्याइरहने बेला हामी साथै थियौं । साथै थियौं, जीवनको हरेक पललाई भिन्नै ढंगले उत्सव बनाउने सपना देख्दा । संसारका सारा शिखरलाई पैतालामुनि कुल्चिएर अर्को शिखर उभिनुपर्छ भन्ने आस्थाको पहाड उक्लिँदै गर्दा पनि त साथै थियौं । हामी साथै त थियौं सधैं सधैं सधैं ।

माया,
यसरी नै फरक सोचेर हामी पूर्ण हुन्छौं । तिमीले गरेको अनुभूति मभित्र उत्तिकै जीवन्त छन् । तिमी पनि त मेरो सोचको रङमा पौडिरहेकी हुन्छौ । यहाँ विवाद छैन, बहस छैन । आयाम फरक छ, मञ्जिल एउटै छ । शब्द फरक छन्, भाव एउटै छ । हृदय पो दुई छ त, स्पन्दन एकै छ ।

प्रियसी,
आज रातभर निद्रा परेन । सिरकको खोलजस्तो पातलो तन्द्राले छोपिएर रात काटेँ । तन्द्रामा नै केही सपनाजस्तो दृश्यमा लट्पटिइरहेँ ।
जहाँ–
ठूलो रंगमञ्च थियो, स्थानको पहिचानबाट मुक्त । त्यहाँ तिमी थियौ एकदम उदास । तिम्रो मुहारमा फैलिरहने दिव्य ज्योति गायब थियो । ढाकिएको थियो खरानी रंगको तुवाँलोले । मलाई जसरी पनि फर्काउनु थियो त्यो ज्योति ।
मैले जूनको उज्यालो अँजुलीमा उभाएर तिम्रो मुहारमा खन्याइदिएँ । तर, तुवाँलोको रंगमात्रै केही सुनौलो भयो, तिम्रो मुहारको दिप्ती फर्किएन । हिउँदभरी हिउँ संगालेर स्फटिकझैं चम्किरहेको हिमालको उज्यालो सोहोरेर पोतिदिएँ तिम्रो मुहारमा । तुवाँलो भुवारंगमा बदलियो, तर तिम्रो मुहाररंग बदलिएन । उसैगरी फूलको दिप्ती निचोरेर ल्याएँ, ताराको प्रकाश सोहोरेर ल्याएँ । सुनको सुनौलोपन पगालेर ल्याएँ, चाँदीको चाँदिलोरंग । सप्पै–सप्पै तिम्रो मुहारमा लिपिदिएँ । तर अहँ, तिम्रो मुहारमा मैले त्यो दिव्य ज्योति फर्काउन सकिनँ । जब्बर तुवाँलोलेमात्रै रंग बदलिरह्यो ।

प्रयासको धपेडीले मेरो शरीर पसिनामग्न भएको थियो । त्यसमाथि ‘असफलता’ मेरो घाँटीमा सर्पझैं झुण्डिन आइपुगेको थियो तुन्द्रुङ्ग । र, ‘तनाव’ मलाई छटपटीको लौरोले टाउकैमा टुङ्टुङ् हिर्काइरहेको थियो । ओहो ! एउटा अकल्पनीय त्रासको साम्राज्यमा फट्फटाइरहेको थिएँ ।
त्यति नै बेला ‘सोच’ आइपुथ्यो खुप अदबका साथ । उसको सैनिक भंगीमाले मलाई एकछिन रमाइलो दियो । मुख बंग्याउँदै कृत्तिम सम्मान देखाएर उसले भन्यो, ‘हिँड्नुहोस् महाशय, युद्धमा हारेको सिपाहीलाई माफी त दिन सकिँदैन । फाँसीमै लट्किनुचाहिँ पर्ला या नपर्ला, प्रधानन्यायधिश ‘युग बुढा’को मुडमा भर पर्छ । तर ‘सोच’को जेलमा चाहिँ दिल खोलेर स्वागत छ ।’

उसको हाँसोको गहु्रँगो आवाज चारैतिर फैलियो । त्यो पनि उत्तिकै कृतिम थियो । तर किन–किन ऊ मलाई आत्मीय लाग्यो । त्यसैले लुरुलुरु म उसको ‘जेल’मा जान तयार भएँ र उसको अघि–अघि हिडेँ । कहिलेकाहीँ यस्सो फर्केर हेर्दा जवाने छडी हल्लाउँदै मुस्कुराइरहेको देख्थेँ । जे होस्, मलाई राखिने साँघुरो कोठामा नपुगुञ्जेल ऊ पछि–पछि आइरहेको छ भन्ने आभाष भइरह्यो । भलै, बाटोमा उसका आँखा सुन्दर युवतीको मुहारबाट तलतिर बगिरहेको हुन्थ्यो । उसको ओठले सुसेला पारेको म पनि सुन्थेँ । मैले पछाडि हेरेको थाहा पाउनेबित्तिकै ऊ युवतीको छातीबाट तलतिर झरिरहेको आँखालाई च्याप्प समातेर यथास्थानमा राखी मुस्कुराउँथ्यो । मलाई ऊ ‘रोमान्टिक टाइप’को पनि लाग्यो ।आखिर मलाई त्यो रोमान्टिक ‘सोच’ले ‘लकअप’मा थुनिदियो । एउटा साँघुरो कोठामा बन्दी बनाइएँ ।
मेरो मुटुभित्र तिमी जतनसाथ धड्किरहेकी थियौ । तर मेरो मस्तिष्कमा तिम्रो मुहार ढाकेको तुवाँलो स्याउ–स्याउ गरिरहेको थियो । मेरो टाउको चड्कीरहेको थियो, मलाई त लागिरहेको थियो कि यो पड्किरहेको थियो । लामो समय मैले ‘सोच’को कैदखानामा गुजारेँ ।

‘सोच’ अघिकांश समय मेरै वरिपरि घुमिरहन्थ्यो । मानौ कि मेरो निगरानीमा तलवितल पर्नाले देशलाई फरक पर्छ । तर ऊ पूर्ण भएर मेरो छेउ आएको चाहिँ कमैमात्र पाएँ । कहिले कानलाई पर कतै प्रेमालाप गरिरहेका जोडीको गोप्य संवाद र उच्छवास् सुन्न छोडेर आएको हुन्थ्यो । कहिले अतृप्त मनले देख्न चाहेको दृश्य हेर्न आँखा छोडी आउँथ्यो । त्यसैले उसको आकृति अक्सर विरुप र अझ भयानक हुन्थ्यो । तर मप्रति उसको केही श्रद्धा, केही प्रेम र केही लगावचाहिँ पक्का थियो । उसले मलाई अनुभूति दिलाएको थियो । त्यसले मलाई अलिक ढाडस दिन्थ्यो ।

एकदिन उसले मलाई राखिएको कोठा खोल्यो र बाहिर तान्दै भन्यो, ‘युग बुढाको निर्णय पर्खिबस्दा तपाईंको एकबारको जुनी यस्सै खेर जालाजस्तो छ । बुढा खुप व्यस्त छन् र कहिलेकाहीँ निर्णय गर्न नै बिर्सिदिन्छन् । जसले जे गर्छ, त्यसैलाई आफ्नो निर्णय मानिदिन्छन् । त्यसैले तपाईँ यहाँबाट निस्कनुहोस् । बरु, म तपाईंलाई एकजोडी पखेटा दिन्छु । यसले तपाईंलाई ‘सपना’को संसारमा पु¥याउँछ । त्यहीँ तपाईंले भेट्नुहुनेछ तपाईंकी प्रेयसीको मुहारको ज्योति ।’
‘सोच’ एकाएक भावुक भएको देखेर मलाई उसप्रति खुप माया लाग्यो । उसका शब्दले मलाई अनुभूति दिएको थियो कि ऊ मलाई पर्याप्त सम्मान पनि गर्छ ।
त्यसअघि नै मलाई थाहा भइसकेको थियो, ऊ पनि कसैको प्रेममा छ । त्यसैले आफ्नी प्रेमिकाबाट बिछोडिनुको त्रासदी उसले पनि परिकल्पना गरेको हुनुपर्छ । र, त उसको हृदयमा उदारताको झरिलो बादल बनेको थियो र ममाथिको आकास हुँदै बर्षिएको थियो । मैले उसलाई अंकमाल गरेँ, ऊ सुँकसुकाउन थाल्यो ।

मैले उसको ढाडमा थपथपाउँदै केही अघिको कुरा सम्झिएँ–
एकचोटी घाइते ‘चित्त’लाई देब्रे हातको हत्केलामा राखेर दाहिने हातले शब्दको सस्र्यूँतेलले मालिस गर्दै ऊ मनिर आएको थियो । केहीबेर एकोहोरो मालिस गरिसकेपछि भनेको थियो– आज मेरो चित्त खुप दुखेको छ । शब्दका सस्र्युतेल नभएको भए थलै पथ्र्यो कि !
उसले बताएको थियो–
फराकिलो हृदय बोकेर ऊ प्रेमिकाको अगाडि घुँडा टेकेर उभिएको थियो । प्रेमिकाको भावुक र प्रेमिल मुहारले उसलाई शब्दहीन बनाएको थियो ।
त्यति नै बेला प्रेमिकाले भनी, ‘मेरो हृदयको सप्पै कोठा भरिएकै थिए । एउटाचाहिँ खै कुन्नी, के काकताली परेर हो, खाली थियो । तिमी आयौ । अब त सबै कोठाहरू भरिए ।’
प्रेमिकाको कुरा सम्झेर उसले सुँकसुकाउँदै भनेको थियो, ‘म उसँग कुनै कोठाको भीख माग्न गएको थिइनँ । म उसको सम्पूर्ण हृदयको मालिक हुन चाहन्थेँ । ती कोठामा जो–जो बसे पनि मलाई कुनै आपत्ति थिएन । तर त्यसको मालिक म हुँको बोध मलाई हुन्थ्यो भने म कति आनन्दित हुँदो हुँ । तर उसले मलाई कुनै कोठा देखाइदिई । त्यसको साटो भनिदिएको भए हुन्थ्यो कि तिम्रो लागि कुनै ठाउँ खाली छैन ।’
उसले आँसु पुछ्दै हाँस्ने कोशिस गरेर भन्यो, ‘अनि उसले मलाई के भनी थाहा छ ?’
ऊ अलि हाँस्न लागेको देखेर मैले पनि ठट्टिने कोशिस गरेँ, ‘तपाईंले भन्नुभएको छ र ?’
ऊ पनि हाँस्यो । त्यतिबेला भने उसको हाँसो कृत्रिम थिएन । उसले भन्यो, ‘हुन त अरूले पनि मलाई तिमीले जस्तै ‘उपहार’ दिने गरेका छन्, तर तिमीले दिएको ‘उपहार’ले मलाई विशेष खुशी दियो ।’
‘राम्रै त भन्नुभएछ नि भाउजूले’, मैले जिस्कने प्रयत्न गर्दै भाउजू शब्दमा बढी जोड दिएँ ।
तर ऊ भने अझ उदास भयो । ‘जे तुलनायोग्य ठानिन्छ, त्यो विशेष हुँदैन । विशेष हुनु भनेको भिन्न हुनु हो । कसैसँग प्रतिष्पर्धा गरेर कोही विशेष हुँदैन । उसँग केही विशेष गुण हुनुपर्छ । उसले मलाई विशेष मान्छे भने किन तुलना गरी ? के म उनीहरूसँग प्रतिष्पर्धा जितेर उसलाई प्रेम गर्न लागेको हुँ र ? प्रतिष्पर्धा या तुलना नै गर्ने हो भने मलाई पनि जित्ने आउला कोही, ऊ पनि विशेष बन्ने सम्भावना त बाँकी रहेछ ?’
उसका प्रश्नहरूले म निरुत्तर भएँ । र, चुपचाप तिमीलाई सम्झिएँ ।

उसले अन्त्यमा भनेको थियो, ‘तर मैले उसलाई हृदयको सम्पूर्ण तालाचाबी जिम्मा लगाएको छु । कसलाई राख्ने, कसलाई निकाल्ने उसको मर्जी । यसको मालिक उबाहेक अरू कोही हुन सक्दैन । र, उसलाई म कसैसँग तुलना पनि गर्न सक्दिनँ ।’
उसको कुराले तिम्रो सम्झना अझ गाढा भएर आएको थियो । र, म आनन्दित भएको थिएँ कि तिमीले कहिल्यै मलाई कसैसँग तुलना गरेकी थिइनौ । न त मलाई हृदयको कुनै कोठा भाग लगाइदिएकी थियौ । मलाई विशेष आसनमा राखेर सम्पूर्ण हृदयको तालाचाबी सुम्पिएकी थियौ । मलाई तिम्रो महानतामा शीरनत गर्न मन लाग्यो । त्यतिबेलासम्म ‘सोच’ दुखेको चित्त सुस्तरी सुम्सुम्याउँदै फर्किरहेको थियो ।

‘किन टोलाउनुभएको ?’ ‘सोच’ त मेरो अँगालोबाट छुटेर एकजोडी पखेटासहित मेरो अगाडि हाजिर थियो । मैले उसैको पुरानो कथा सम्झिरहेको थिएँ भनेर उसलाई भन्न सकिनँ र उसको प्रेमको नयाँ हालखबर पनि सोध्न सकिनँ । सम्भावना थियो कि मैले त्यस्तो सोधेको भए ऊ डाँको छोडेर रुने थियो ।
त्यसैले म फिस्स हासेँ । उसले दिएको पखेटा लिएँ र प्रेमले सुम्सुम्याएँ । उसैले मेरो शरीरमा पखेटा जडान गरिदियो । मैले उसलाई अन्तिम अँगालो मारेँ र पखेटा फड्फडाएँ । मेरो उडान सुरु भयो । ‘सोच’को पखेटाले मलाई पहिले ‘ज्ञान’को साम्राज्यमा पुर्यायो । ज्ञानले मलाई खुप प्रेमले अंकमाल गरे र सपनाको संसार जाने बाटो देखाइदिए । त्यो यति मायाबी बाटो थियो कि मेरा सारा भ्रमहरू एकएक गर्दै प्वाँखजसरी झरिरहे । दुनियाँले जे मूल्यवान् र दिव्य मान्थ्यो, ती कति मूल्यहीन र कुरुप छन् भन्ने देखिन्थ्यो । दुनियाँले भनी आएको बाटो कहीँ नपुगिने गोलचक्कर रहेछ भन्ने सजिलै बोध हुन्थ्यो । र, उड्दा–उड्दै मैले नयाँ बाटो पहिल्याएको थिएँ । सपनाको संसार पुग्ने बाटो ।

त्यो संसार पुग्नुअघि मैले एकचोटी आफन्तहरूलाई भेट्ने निधो गरेँ । र, आफ्नो संसारतिर वेगिएँ । त्यहाँ पुगेर मैले आफ्ना संसारकालाई सारालाई मैले चुनेको सपनाको बाटो देखाउँदै भनें, ‘म जान लागेको बाटो त्यही हो । हेर्नुस् त कति सफा, फराकिलो र टाढासम्म पुग्न सकिने !’ तर अचम्म, उनीहरू कसैले पनि मैले देखिरहेको बाटो देखिरहेका थिएनन् । मैले आफ्नो अडान छाडिनँ, बरु उनीहरूलाई विश्वास दिलाउने कोशिसमा लागिरहेँ ।
उनीहरू उल्टै मलाई भन्न थाले, ‘तँ त पागल भइछस् ।’ हुन पनि उनीहरूको नजरमा त म के नै हुन सक्थेँ र त्यसबेला ? जहाँ म फराकिलो राजमार्ग देखिरहेको थिएँ, त्यहाँ उनीहरूले खाली अन्तरिक्षमात्रै देखेका थिए । जहाँ म सम्भावनाको ज्योति बलिरहेको देख्थेँ, त्यहाँ उनीहरू शून्यतामात्रै देखिरहेका थिए । त्यसैले मैले उनीहरूले दिएको पदवी स्वीकार गरेँ । त्यसलाई मुकुटझैं पहिरिएँ र सपनाको बाटोमा आफ्नो उडान सुरु गरेँ ।

सपनाजस्तो दृश्यमा म उड्दै थिएँ । विपनामा तिमी म हिँडिरहेको विपरित दिशाबाट मतिरै आइरहेकी थियौ । हामी भेटियौं । र, सँगै हिँड्न थाल्यौं । एउटा एकान्त भेटियो । हामीले आवेशपूर्वक एकअर्कालाई चुम्बन गर्यौं, त्यसबेला पो लाग्यो– बल्ल म तन्द्राबाट पूर्ण रूपमा मुक्त भएँ । तर तन्द्राको प्रभावले त अझै पनि छाडेको छैन र यो पत्र तिमीलाई लेखिरहेको छु ।

कालु,
मनभरि भाव छन्, तर शब्दमा अनुवाद हुन सकिरहेका छैनन् । त्यसैले आज यत्ति लेख्छु ।
तर, अन्तिममा फेरि पनि भनिरहन मन हुन्छ– म तिमीलाई सम्पूर्ण रूपमा प्रेम गर्छु । अर्थात तिम्रो सपनालाई प्रेम गर्छु । आऊ, सपनाको आकार कुँद्न सँगै छिनो उठाऊँ । हाम्रो प्रेमको सप्ताहोत्सव सुरु गरौं ।

हृदयलाई सोध, त्यहाँ को धड्किरहेको छ ?
उही

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*