Home / Feature Breaking news / सबभन्दा बढी डेंगी फैलिएको यी १० जिल्ला

सबभन्दा बढी डेंगी फैलिएको यी १० जिल्ला

नेपालमा अहिले डेंगीको प्रकोप बढिरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस वर्ष बर्खायाम लागेयता डेंगीबाट २५ हजार ४ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ।

७६ जिल्लामा यसको संक्रमण फैलिएकोमा सबभन्दा बढी १० जिल्लामा यसको प्रकोप देखिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौं,  ललितपुर,  मकवानपुर,  दाङ,  भक्तपुर, धादिङ, रूपन्देही, गुल्मी, चितवन र कैलाली गरी १८ हजार १ सय ६५ जना संक्रमित छन्। जुन ८६ प्रतिशतभन्दा बढी हो। तीमध्ये काठमाडौंमा ८१३२, ललितपुरमा ४३७७, मकवानपुरमा १७१७, दाङमा १२५२ जनामा संक्रमण देखिएको छ।

पछिल्लो तथ्यांक अनुसार डेंगीबाट ३२ जनाको मृत्यु भएको छ। गत ४ हप्तामा २१ हजार बढीमा डेंगी संक्रमण पुष्टि भएको छ।

अहिले धेरैजसो डेंगीका बिरामी घरमै छन्। यस्तो अवस्थामा के-के कुरा खाने, कस्ता औषधि सेवन गर्ने भन्ने धेरैलाई अलमल हुन्छ।

कतिपयले सामाजिक सञ्जालमा लेखिएका विभिन्न औषधि सेवन गर्दा उल्टो त्यसले बिरामीको स्वास्थ्यमा समस्या आएको चिकित्सकहरू बताउँछन्।

टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनले बिरामीहरूले अरूको लहलहैमा विभिन्न औषधि सेवन गर्दा त्यसले रक्तस्रावलगायत अन्य समस्या देखिएको बताए। कतिपयले त ‘प्लेट्लेट्स’ बढ्छ भनेर मेवाको पात पनि खाने गरेको सुनाउँदै डा. पुनले त्यसमा कुनै सत्यता नभएको बताए।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिले देशभर २५ हजार बढी मानिसलाई डेंगी संक्रमण भएको छ भने ३२ जनाको मृत्यु भइसकेको छ। तर अहिले तथ्यांकमा भन्दा धेरै डेंगी संक्रमितहरू देशैभरी छन् र उनीहरू सबै आ-आफ्नै घरमा स्वास्थ्य लाभ गरिरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*