Home / Feature Breaking news / राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक दासानायकेले दिए राजीनामा

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक दासानायकेले दिए राजीनामा

काठमाडौँ,४ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै दासानायकेले राजीनामा दिएको जानकारी दिएका हुन् ।

स्कटल्यान्ड जानुअघि नेपाल क्रिकेट संघ (क्यान) लाई ५ दिन अगाडि नै राजीनामा बुझाए पनि दासानायकेले बुधबार मात्र खेलाडीहरूलाई जानकारी दिएका हुन् । बुधबार दिउँसो उनले औपचारिक पत्रकार सम्मेलन गरी राजीनामाको जानकारी दिएका हुन् ।

नितान्त व्यक्तिगत कारणले आफूले राजीनामा दिएको पनि दासानायकेले बताएका छन् । पत्रकार सम्मेलनमा उनले भने,‘मैले नितान्त व्यक्तिगत कारणले राजीनामा दिएको हुँ । मैले क्यानडामा परिवारलाई समय दिन आवश्यक छ । अबका केही वर्ष मैले क्यानडाबाहिर काम गर्न सक्ने अवस्था छैन ।’
त्यस्तै उनले नेपालको अहिलेको टिम उत्कृष्ट भएको र विवादहरू नहुने हो भने राम्रो प्रदर्शन गर्न सक्ने पनि बताए । श्रीलंकाका लागि ११ टेस्ट र १६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका दासानायके पछिल्लो दुई दशकदेखि क्यानडामा बस्दै आएका छन् ।

दासानायकेले गत डिसेम्बरमा नेपालको प्रशिक्षकका रूपमा दोस्रो पटक जिम्मेवारी सम्हालेका थिए । पहिलो कार्यकालमा सफल मानिएका दासानायकेको नेतृत्वमा दोस्रो कार्यकालमा भने नेपालले उल्लेख्य प्रदर्शन गर्न सकेन । फेब्रुअरीमा विश्वकप छनोटमा शीर्ष २ मा पर्ने लक्ष्य राखे पनि नेपाल तेस्रो भएको थियो ।

त्यस्तै विश्व क्रिकेट डिभिजन लिग २ मा यूएई, अमेरिका र स्कटल्यान्ड भ्रमण गरी नेपालले १२ खेल खेलेको थियो । त्यसमा नेपालले ४ जित, एउटा टाई र ७ वटामा हार बेहोर्‍यो । त्यस्तै उनको प्रशिक्षणमा मे महिनामा मलेसिया, पपुवा न्युगिनी संलग्न त्रिकोणात्मक शृंखला नेपालले जितेको थियो । उनी दुई वर्षका लागि आएपनि एक वर्ष पनि नपुग्दै राजीनामा दिएका हुन् ।

दासानायके आउनुअघि नेपाल एसीसी ट्वान्टी–२० को सेमिफाइनलसम्म पनि पुग्न सकेको थिएन । उनकै प्रशिक्षणमा नेपाल २०११ मै एसीसी ट्वान्टी–२० को सेमिफाइनलमात्र पुगेन, २०१३ को अर्को संस्करणमा फाइनल पुग्यो । त्यहींबाट ट्वान्टी–२० विश्वकप छनोट हुँदै विश्व ट्वान्टी–२० मा पुगेको थियो । पहिलो कार्यकालमा दासानायके २०१५ को नोभेम्बरसम्म नेपालको प्रशिक्षकमा रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*