Home / Feature Breaking news / प्रधानमन्त्री ओली दाङ आउँदै

प्रधानमन्त्री ओली दाङ आउँदै

दाङ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओली माघ १२ गते दाङको देउखुरी आउने भएका छन् । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा निर्धारित नेपालको दोस्रो लामो पुलको उद्घाटन गर्न प्रधानमन्त्री ओली दाङ आउन लागेका हुन् ।

प्रधानमन्त्री आउने भएपछि तयारी अघि बढाइएको नेकपा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य रेवतीरमण शर्माले बताए । उनका अनुसार प्रधामन्त्री ओलीका दुईवटा कार्यक्रममा तय भएका छन् । पहिलो कार्यक्रम पुल उद्घाटन र दोस्रो कार्यक्रम पार्टीको बृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सोमबार लमहीमा प्रधानमन्त्री आउने कार्यक्रमलाई केन्द्रित गरेर तयारी बैठक सम्पन्न भएको छ ।

बैठकमा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले प्रधानमन्त्री आउने कार्यक्रममा ५० हजारभन्दा बढीको सहभागिता रहने र त्यसको तयारीमा जुट्न निर्देशन दिएका थिए । ‘प्रधानमन्त्रीले चालेको कदमलाई जनताको साथ छ । केपी ओलीलाई सुन्ने चाहना सबैको छ’, उनले भने– ‘कार्यक्रमलाई व्यवस्थित गर्न जनपरिचालन जरुरी छ ।’

लुम्बिनी प्रदेशसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य रेवतीरमण शर्माको अध्यक्षता तथा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री गिरीको प्रमुख आतिथ्यमा सम्पन्न तयारी बैठकमा नेकपा प्रदेश संगठन विभाग प्रमुख तथा प्रमुख सचेतक भूमिश्वर ढकाल, नेकपाका केन्द्रीय सदस्य बलराम अधिकारी, नरुलाल चौधरी, अमरबहादुर डाँगी, राममणि नेपाली, घनश्याम पाण्डे, शोभाराम बस्नेत, रामजी चौधरी (मिलन), जितेन्द्रमान नेपाली, ध्रुब आचार्य र पालिका प्रमुखको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*