Home / Feature Breaking news / श्रीमती जनप्रतिनिधि, श्रीमान भैसी पालनमा

श्रीमती जनप्रतिनिधि, श्रीमान भैसी पालनमा

दाङ,१५ कार्तिक । श्रीमती जनप्रतिनिधि भएकाले उनलाई वडा कार्यालयदेखि वडामा हुने कार्यक्रमदेखि जिल्लासम्म पुग्नुपर्छ । तर श्रीमानलाई राजनीतिप्रति खासै चासो छैन, अर्थात तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य जानका रेग्मीको श्रीमान कोमलबहादुर डाँगी गाउँमा भैसीपालन व्यवसाय गरेर बसेका छन् ।

सानैदेखि पशुपालनप्रतिको रुचिसँगै स्वदेशमै केही गरौं भन्ने सोचले भैसीपालन व्यवसाय थालेको उनले बताए । करिब ४३ लाख रुपैयाँ लगानी गरेर उनले तुलसीपुर उपमहानगरपालिका–१५ को मलवारमा केजेएएसएस भैसीपालन फर्म दर्ता गरेर एक बर्षदेखि व्यावसायिकरुपमा भैसीपालन व्यवसाय थालेका हुन् ।

करिव ८ बर्ष बैदेशिक रोजगारीका क्रममा साउदी अरबमा काम गरेको उनले त्यहीबाट कमाएको पैसा भैसीपालन व्यवसायमा लगाएको बताए । ‘बैदेशिक रोजगारीका क्रममा करिब ८ बर्ष साउदी अरबमा बसेँ, त्यहाँ राम्रै कमाई भइरहेको थियो तर नेपालबाट गएका कयौ युवाहरुले दुःख पाउने गरेका थिए ।

उनीहरुसँग कुरा गर्दा स्वदेशमा काम गर्ने बातावरण छैन भन्ने गरेका थिए’, डाँगीले भने– ‘तर मलाई भने विदेशी भूमिमा काम गरेर बसिरहनुभन्दा स्वदेशमै केही गरौं भन्ने सोचाई आउँथ्यो, त्यही सोचलाई पूरा गर्ने र रोजगारीका लागि विदेशिने केही युवाहरुलाई स्वदेशमै रोजगारी दिने उद्देश्यले भैसीपालन व्यवसाय शुरु गरे ।’

करिब–करिब आधा करोडको लगानीमा भैसीपालन व्यवसाय शुरु गरेका उनी बढ्दै गएको व्यवसाय र त्यसबाट हुने आम्दानीबाट सन्तुष्ट छन् । तर भैसीपालन व्यवसायका लागि आवश्यक सामग्री, पशु प्राविधिकको समस्यासँगै काम गर्ने जनशक्तिको अभावले समस्या भएको बताए ।

‘अहिले मसँग ९ वटा भैसी छन्, मैले कम्तीमा पनि १८ देखि २० सम्म पु¥याउने सोचमा छु त्यसका लागि कामदारको आवश्यक छ’, उनले भने– ‘तर यहाँ दीर्घकालीन रुपमा काम गर्ने मान्छे पाइँदैनन्, न भनेको बेला पशु प्राविधिक नै पाइन्छ । व्यवसाय बढाउनसमेत समस्या रहेको छ ।’

फर्ममा काम गर्न राखेका मानिसहरुले छोडेपछि अहिले उनलाई फर्ममा छोरासँगै श्रीमतीले सघाउने गरेकी छिन् । उनका अनुसार कहिले काहीँ फर्ममा भैसी र पाडापाडी बिरामी हुँदा पशु प्राविधिकलाई सम्पर्क गरौं भने अर्काे दिन आउने समस्या छ । सरकारी पशुप्राविधिकको लापरबाहीले आफूजस्ता व्यवसायीहरु समस्यामा पर्ने बताए ।

भैसीपालनका लागि करिब १८ कठ्ठा जमिनलाई तारबार गरेर फर्म निर्माण गरेका डाँगीसँग अहिले ९ वटा माउ भैसीहरु छन् । ९ वटा भैसीमध्ये ५ वटा भैसीले दूध दिने गरेका छन् । ५ वटा भैसीको दूध साँझ–विहान गरेर करिब ६८÷७० लिटरसम्म बिक्री गर्ने गरेको उनले बताए ।

‘अहिले फर्ममा भएका भैसीहरुमध्ये ५ वटाले दूध दिने गरेका छन्’, उनले भने– ‘५ वटा भैसीले करिब ७० लिटर जति दूध दिने गरेका छन् । दूध बेच्नलाई नजिकै बजार छैन, त्यसैले तुलसीपुरमा रहेको डेरीमा दिने गरेको छु ।’

श्रीमानले थालेको पशुपालन व्यवसायले श्रीमती जानका रेग्मी सन्तुष्ट छिन् । ‘म राजनीति गर्ने भएकाले धेरै समय बाहिर पनि हिँड्नुपर्छ तर घरमा हुँदा मैले पनि फर्ममा काम गर्ने गरेको छु’, तुलसीपुर उपमहानगरपालिका–१५ की वडा सदस्य तथा कार्यपालिका सदस्य रहेकी रेग्मीले भनिन्– ‘व्यवसायले आर्थिकरुपमा सक्षम बनाउन सहयोगसँगै मेहनत गर्ने मान्छेलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*