Home / Feature Breaking news / काठ देख्दा आकृति नै सम्झने जगुलाल
jagulal chaudhary

काठ देख्दा आकृति नै सम्झने जगुलाल

दाङ । घोराही उपमहानगरपालिका–५ धर्नाका ६३ बर्षीय जगुलाल चौधरीले काष्ठकलाको काम गर्न थालेको करिब चार दशक बित्यो । चार दशकको अबधिमा उनले काठबाट धेरै मूर्तिहरु बनाएका छन् । औपचारिकरुपमा एक कक्षा पनि नपढेका चौधरी काष्ठकलामा भने अब्बल छन् । त्यही कलाका माध्यमबाट काठमा थारु जातिका भेषभूषा, कला संस्कृतिसँगै देवीदेवता, जनावर, चराचुरुगीका आकृति कैद गर्ने गरेका छन् ।

कष्ठकलाका क्षेत्रमा अब्बल मानिने चौधरी शुरुका दिनहरुमा घरका लागि आवश्यक मूर्तिहरु बाध्यताले बनाउने गरे पनि पछिल्लो समय त काठ देख्दा नै मनमा मूर्तिको आकृति आउने गरेको बताउँछन् । ‘सानोमा घरमा आवश्यक हुन्थ्यो र मूर्तिहरु बनाइन्थ्यो’, उनी भन्छन्– ‘अहिले त त्यस्तो हुँदैन, हिँड्दा, घुम्दा होस् या घरमा बसेको समयमा होस् राम्रो काठ देख्यो कि मनमा आकृति आइहाल्छ । त्यसपछि त्यो काठलाई कुदेर मूर्तिमा परिणत गर्ने गर्दछु ।’ अधिकांश मूर्तिहरु मैले यो बनाउँछु भन्दा पनि काठ देख्दा त्यसमा आकृति सम्झिएर नै बनाउने गरेको उनी बताउँछन् । आफू थारु जाति भएकाले सानोमा चाडपर्व, विवाहलगायतका पर्वहरुमा घरका लागि आवश्यक स–साना मूर्तिहरु बनाउने गरेका चौधरी पछिल्लो समय बिक्रीका लागि समेत बनाउने गरेका छन् । उनले बनाएका अधिकांश मूर्तिहरु बिक्री हुने गरेका छन् । रहरै रहरमा बनाएका मुक्तिहरु दुई हजारदेखि सात हजारसम्म मूल्यमा बिक्री हुने गरेको उनी बताउँछन् ।

chaudhary

उनले बनाएका काठका मूर्तिहरु जिल्ला विभिन्न ठाउँसँगै बुटवल, काठमाडौँलगायत ठाउँसम्म जाने गरेका छन् । बिक्री भएका थारु जाति, कला संस्कृति सम्वन्धी मुक्तिहरु दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ पनौरामा रहेको थारु सांस्कृतिक संग्रहालयमा रहेका छन् । काष्ठकलालाई व्यावसायिकरुपमा अघि नबढाए पनि घरमा फुर्सदको समयमा मूर्ति बनाउने काम गर्ने गरेको जगुलालले बताए । मूर्ति बनाएर बिक्री गरेको पैसाले दैनिकी चलेको उनी बताउँछन् । ‘व्यावसायिक रुपमा मूर्ति बनाउने काम गरेको छैन, घरको काम गरेर बचेको फुर्सदको समयमा मूर्ति बनाउने काम गर्ने गरेको छु’, जगुलालले भने– ‘फुर्सदको समयमै करिब अहिलेसम्म १२–१३ सय विभिन्न प्रकारका मूर्तिहरु बनाएको छु ।’ उनका अनुसार थारु जाति, कला, संस्कृतिका मूर्तिसँगै भगवान, जनावर, चराचुरुङ्गीलगायतका मूर्तिहरु बनाउने गरेका छन् ।

अधिकांश मूत्र्तिहरु पनि थारु जातिले लगाउने लुगा, बाघ, घोडामा गुरुवाहरु चढेका, थारु महिलाहरुले आफ्नो भेषभूषामा सजिएका तस्वीरहरु बिक्री हुने गरेको उनी बताउँछन् । उनले बनाएका मूर्ति अहिले घोराही उपमहानगरपालिका–१७ मा रहेको थारु सांस्कृतिक संग्रहालयदेखि बुटवल, नेपालगञ्ज, काठमाडौंँसम्मका मानिसहरु लैजाने गरेको बताए । ‘मैले बिक्री गर्नैका लागि मूर्ति बनाउने काम गरिनँ, रहर लागेर आफ्नै लागि घरमा बसेको समयमा मूर्ति बनाउने काम गर्दथे’, उनले भने– ‘तर पछिल्लो समय रहरमै बनाएका मूर्तिहरु बिक्री हुन थालेपछि, मलाई थप हौसल्ला बढेको हो ।’ शुरुका दिनहरुमा जिल्लाका घोराही, तुलसीपुरलगायतका बजारबाट व्यापारीहरु आएर मूर्तिहरु किनेर लैजान गर्न थालेको उनी बताउँछन् ।

आफूले करिव एक लाख बढीको मूर्तिहरु बिक्री गरेको उनी बताउँछन् । उनका अनुसार कतिपय मानिसहरुले घरमा भएका मूर्तिहरु किनेर लैजाने गरेका छन् भने कतिपयले अर्डर गर्ने र उनीहरुको अर्डर अनुसार मूर्ति बनाउने गरेको बताए । जंगलबाट काठ लिन नपाइने र घरमा भएका रुखहरु समेत सकिँदै गएपछि काष्ठकलाको काम गर्न समस्या भएको उनले बताए । ‘जंगलबाट किन्छुभन्दा पनि रुख दिँदैनन्, घरमा भएका रुखहरु सकिए’, उनले भने– ‘जसले गर्दा पछिल्लो समय मूर्ति बनाउन समस्या छ ।’ थारु जातिको परम्परा भेषभूषामा सजिएका महिला र पुरुषको ठूलो मूर्ति बनाउने इच्छा भए पनि त्यो अनुसारको काठ पाउन नसकेको उनी बताउँछन् । ‘साना मुक्तिहरु धेरै बनाए, अब एउटा महिला र पुरुषको ठूलो मूर्तिहरु बनाउन मन लागेको छ’, उनले भने– ‘त्यहीअनुसारको काठ सहयोग भए मूर्ति बनाउने रहर छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*