Home / Feature Breaking news / खेती लाग्ने समयमा मल नपाउँदा किसान निराश

खेती लाग्ने समयमा मल नपाउँदा किसान निराश

लिलाधर वली
दाङ १४ असार । धानको ब्याड तयार भएको छ, रोप्नकालागी तर घोराही उपमहानगरपालिका वडा नं. ५ निवासी शेरबहादुर वली भने एक सातादेखि मल दिने सहकारी धाइरहेका छन् । तर मल पाउन सकेका छैनन् । गतबर्ष यो समयमा रोपाई सुरु गरिसकेका वलीले मकै कारण अझै रोपाई सुरु गर्न सकेका छैनन् । ‘खेतमा व्याड तयार भईसकेको छ, रोप्नलाई मल छैन’, वलीले भने,‘मल खोज्नलाई धेरै पटक सहकारी सस्थासम्म पुगे तर आउँदैछ भन्ने मात्र जवाफ पाउने गरेको छु ।’ म नहुदाँ सिचाईको सुविधा भएपनि रोपाई गर्न नपाएको उनी बताउँछन ।

उनी मात्र होइन तुलसीपुर–१८ निवासी कृष्ण केसीले समेत मल पाएका छैनन् । व्याड रोप्नलाई तयार भईसकेको भएपनि मल नपाएको बताए । ‘पानी प¥यो भने रोपाई गर्नुपर्ने अवस्था छ तर रोप्नकालागि आवश्यक पर्ने मल छैन’, किसान केसीले भने,‘ मल लिनका लागि जेठदेखि लागेको छु तर पाईदैन ।’ गतबर्ष सहकारी सस्थावाटै रासायनिक मल लगेका थिए । तर यो बर्ष अझै पाएका छैनन् । सहकारीमा सम्पर्क गर्दा जिल्लामै आएको छैन भन्ने जवाफ पाउने गरेको उनी बताउँछन ।

जिल्लामा अनुदानको मात्र होइन, विना अनुदानको मल पनि बजारमा किन्न पाइदैन् । कृषिलाई आधुनिकरण र यान्त्रिकरण गरी उत्पादनमा वृद्धि गर्ने सरकारले भन्ने गरेपनि जिल्लाका किसानले समयमा मल नपाउँदा निराश छन । मल लामो समयसम्म जिल्ला नआउँदा किसानहरु चिन्तित छन । असार पन्ध्रलाई नेपाल सरकारले धान दिवसका रुपमा मनाउंँदै आएको छ । तर यो बर्ष मलको अभावले धान दिवसलाई समेत गिज्याउने अवस्था आएको किसानहरुको गुनासो छ ।

जिल्लामा अनुदानको मल कृषि सामग्री कम्पनी लिमिटेड र नेपाल साल्ट टेनिङ कर्पाेरेशन लिमिटेडले वितरण गर्दै आएका छन । जिल्लामा एक महिना पहिलेदेखि डिएपी मल नआएको कृषि सामग्री कम्पनीले जनाएको छ । पहिलो चरणमा मल सहकारीलाई उपलव्ध गराएपनि पछिल्लो समयमा एक वोरा पनि डिएपी मल गोदाममा नभएको कृषि सामग्री कम्पनी घोराहीका प्रमुख बिष्णु केसीले बताए । उनले पलिहो चरणमा मल आएको र हाल मलको अभाव देखिएको बताए । ‘अहिले यूरिया मल भैरहवामा छ भन्ने खवर आएकाले इच्छुक सहकारीलाई भैरहवा पठाउने तयारी गरेका छौँ’,प्रमुख केसीले भने,‘ हामीसंग अहिले कुनै मल छैन ।’

‘मल खरीदकालागी कुनैपनि प्रक्रियानै बढाइएको छैन, त्यसैले मल कहिले आउछ भन्न सकिने अवस्थानै छैन’—कम्पनीका प्रमुख केसीले भने,‘माथिल्लो स्तरवाट पहल नहुदासम्म मल आउने अवस्था छैन ।’ जिल्ला भर सहकारी संस्थामार्फत किसानलाई मल उपलव्ध गराउदै आएपनि हाल सहकारीमा पनि रासायनिक मल छैन । मलको लागि भने किसानहरु दिनहु भैतारी रहेका छन् । कृषि सामग्री कम्पनी घोराहीले यो बर्ष युरिया १ हजार ४ सय ७५ मेट्रिकटन, डिएपी ९ सय ८ मेट्रिक टन र पोटास ३९.५ मेट्रिक टन वितरण गरेको जनाएको छ । यो गतबर्षको तुलनामा करिव ६० प्रतिशत भएको कम्पनी प्रमुख केसीले बताए ।

त्यस्तै नेपाल साल्ट टेनिङ कर्पाेरेसन लिमिटेडले यो बर्ष डिएपी ६ सय ८० मेट्रिक टन, युरिया १ हजार २ सय २३ मेट्रिक टन र पोटास ३८ मेट्रिक टन वितरण गरेको छ । यो गतबर्षको तुलनामा करिव ५० प्रतिशत रहेको लिमिटेडका दाङ जिल्ला प्रमुख आनन्द प्रधानले बताए । यो बर्ष रासायनिक मल नआएकाले किसानको आवश्यकता अनुसार वितरण गर्न नसकेको बताए । ‘सहकारी सस्थाका प्रमुखहरुले दिनहु फोन गरेर मल आएको नै भनेर सोध्ने गर्नुहुन्छ’, प्रमुख प्रधानले भने,‘तर माथिवाटै मल आउने टुङ्गो नभएकाले छैन भन्ने गरेका छौँ ।’ बर्खे सिजनको लागि जिल्लामा अझै धेरै मलको माग रहेको बताए । जिल्लामा कृषि सामग्री कम्पनीले ७० प्रतिशत तथा साल्ट टेनिङ कर्पाेरेसनले ३० प्रतिशत अनुदानको मल वितरण गर्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*