Home / Feature Breaking news / दाङमा ६ बर्षमा ३९ हजार हेक्टर वन क्षेत्रमा आगलागी

दाङमा ६ बर्षमा ३९ हजार हेक्टर वन क्षेत्रमा आगलागी

लिलाधर वली

दाङ, ४ जेठ । दाङमा वितेको छ बर्षमा ३९ हजार हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । डिभिजन वन कार्यालय दाङका अनुसार वितेको ६ बर्षमा जिल्लाका ३ सय ९६ स्थानमा गरि ३९ हजार ७ सय ६३ दशमलव नौ हेक्टर वन क्षेत्रमा आगलागी भएको हो । जसमा एक जनाको निधनसँगै लाखौँ मुल्यको काठ तथा बहुमुल्य जंगली जटिवुटीको नष्ट भएको छ ।

कार्यालयका अनुसार वितेको ६ बर्षमा सवैभन्दा धेरै आगलागी आर्थिक बर्ष २०७२÷०७३ मा भएको छ । उक्त बर्ष जिल्लाका एक सय ५३ स्थानमा भएको आगलागीका कारण २४ हजार नौ सय ६१ हेक्टर वन क्षेत्रमा आगलागी भएको डिभिजन वन कार्यालय घोराहीका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए । जसवाट राष्ट्रिय वनको ढिकूरेमा घाटगद्दी गरेर राखेको विभिन्न जातको गोलिया गरि ८४ थानको ४ सय २० दशमलव २३ घनफिट काठ जलेर नष्ट भएको थियो ।

त्यस्तै सोही बर्ष डढेलोका कारण देउखुरीको बगारवावा सामुदायिक वन क्षेत्रको सतवरियामा असना जातको ६ थान गोलियाको एक सय १४ दशमलव १८ घनफिट काठ जलेर नष्ट भएको थियो । वन संरक्षणमा उपभोक्ताहरु जागरुक नहुदाका साथै लामो समयसम्म उक्त बर्ष खडेरी गर्दा धेरै वनजंगलमा आगलागी भएको सूचना अधिकारी केसीले जानकारी दिए ।

त्यस्तै २०६९÷०७० मा तीन हजार दुई सय ५० हेक्टरमा आगलागी भएको छ । उक्त बर्ष घोराहीको अम्वे सामुदायिक वन उपभोक्ता लागेको आगो निभाउन खोज्दा घोराही उपमहानगरपालिका वडा नं. १८ अम्वारपुर निवासी नमलाल थापाको मृत्यु भएको थियो । उक्त बर्ष जिल्लाका ३८ स्थानमा आगलागी भएको वन डिभिजन कार्यालयको तथ्याङकमा उल्लेख गरिएको छ । आर्थिक बर्ष २०७०÷०७१ मा जिल्लाका एक सय १६ स्थानमा गरि जम्मा ६ हजार ६ सय ११ दशमलव ५ हेक्टर वन क्षेत्र र आर्थिक बर्ष २०७१÷०७२ मा जिल्लाका १४ स्थान गरि जम्मा ६ सय हेक्टरमा आगलागी भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी केसीले जानकारी दिए ।

सूचना अधिकारी केसीका अनुसार आर्थिक बर्ष २०७३÷०७४ मा जिल्लाका ५४ स्थानमा गरि ४ हजार दुई सय २० हेक्टर र आर्थिक बर्ष २०७४÷०७५ मा एक सय २१ हेक्टर जमिनमा मात्र आगलागी भएको छ । गतबर्ष समय–समयमा बर्षात भएका कारण धेरै वनजंगलको क्षेती हुन नपाएको वन कार्यालयले जनाएको छ । गतबर्ष जिल्लाका २१ स्थानमा मात्र आगलागी भएका थिए ।

विगतको बर्षको तुलनामा यसबर्ष धेरै स्थानमा आगलागी भएको छ । डिभिजन वन कार्यालयका अनुसार यसबर्ष हालसम्म जिल्लाका २६ स्थानमा गरि एक हजार पाँच सय हेक्टर बढि वन जंगलमा आगलागी भएको छ । अहिलेपनि जंगल क्षेत्रमा आगलागी भईरहेकाले तथ्याङक बढ्न सक्ने सूचना अधिकारी केसी बताउँछन । उपभोक्ताहरु सचेत नहुनका साथै बर्षात नहुदाँ धेरै स्थानमा आगलागीका घट्नाहरु भएका छन । वन संरक्षणमा सरकारले लाखौँ रुपैयाँ खर्च गर्ने गरेपनि होसियारी नपनाउँदा आगलागीका बर्षेनी ठुलो क्षती हुने गरेको छ ।

डढेलो नियन्त्रणका लागि जिल्ला वन कार्यालयले सामुदायिक वनहरुमा अग्नि रेखा निर्माण, वन डढेलो सम्वन्धी सरोकारवालासँग अन्तरक्रिया,सचेतनामुलक गोष्ठी, तालिमसँगै सञ्चार माध्यमहरुवाट सूचना प्रकाशन तथा प्रशारण गर्दै आएको केसीले बताए । त्यस्तै गाउँवस्ती नजिक डढेलो जोखिमयुक्त वन क्षेत्रमा व्यवस्थापनका तालिम, अग्नि नियन्त्रण कार्यमा प्रभावकारी भुमिका निर्वा गर्ने समूह÷सस्था÷निकायलाई पुरस्कृत समेत गर्दै आइरहेको छ ।

वन जंगलमा चोरी शिकारी, राम्रो घाँस पाउँछ भन्ने सोच, वनंजंगलमा रहेको अनावश्यक काडा,झाडी नष्ट गर्ने सोचका कारण वन समूहका सदस्यहरुवाट समेत आगलागी हुने गरेको छ । त्यस्तै वन समूहका पदाधिकारी एव सदस्यविचको रिसीवी र हेल्चक्राईका कारण जिल्लामा आगलागीका घट्नाहरु हुने गरेका छन ।
वन जंगलमा आगो लगाउनेलाई जरिवाना गर्ने कानूनी व्यवस्था भएपनि अहिलेसम्म जिल्लामा कसैलाई कारवार्ही भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*