Home / Feature Breaking news / दुई महिनामा ७ सय बढी हेक्टरमा आगलागी

दुई महिनामा ७ सय बढी हेक्टरमा आगलागी

लिलाधर वली

दाङ, २६ बैशाख । यस वर्ष घोराही उपमहानगरपालिका वडा नं. ७ मा रहेको जनभावना सामुदायिक वन क्षेत्रमा आगलागी भयो । आगलागीका कारण ५० हेक्टर बढी जंगलमा आगलागी हुँदा वनमा स–साना विरूवाहरु जलेर नष्ट भएका छन् । वनको दक्षिण भागबाट सल्किएको आगो वन समूह अन्तर्गत बनेको डढेलो नियन्त्रण समितिको पहलमा नियन्त्रणमा आएको वन समूहका सदस्य तथा वन सहजकर्ता रोबरबहादुर केसीले बताए ।

उनका अनुसार उक्त वनमा वर्षेनी आगलागी हुने गरेको छ । ६ सय ३५ हेक्टर क्षेत्रफल रहेको उक्त वनमा गत वर्ष आधा बढी वनमा डढेलो लागेको थियो । ‘उपभोक्ताहरु सचेत नहुँदा वर्षेनी जंगलमा आगो लाग्ने गरेको छ’– उनले भने–‘टाढाको वन रहेकाले उपभोक्तालाई बचाउन समस्या हुने परेको छ ।’ वर्षेनी जंगलमा आगो लाग्ने गरेका कारण विरुवादेखि चरा, वन्यजन्तुलाई समेत समस्या पर्ने गरेको उनले बताए । अग्निनियन्त्रणको लागि तालिम लिएर समिति बने पनि नियन्त्रण गर्न नसकेको केसीले बताए । त्यस्तै बैशाख १ गते घोराही उपमहानगरपालिका वडा नं. ५ धर्नामा रहेको पाण्डवेश्वरी सामुदायिक वनमा आगलागी भएको थियो ।

आगलागीका कारण करिब २५ हेक्टर जंगलमा रहेका स–साना विरूवाहरु नोक्सान हुनुका साथै जंगली जन्तुलाई समेत समस्या भएको वन डिभिजन कार्यालयले जनाएको छ । उक्त वनमा लागेको आगो वन समूहका मानिस र प्रहरीको सहयोगमा नियन्त्रण लिइएको थियो । यी दुई उदाहरण भए पनि पछिल्लो समय जिल्लाका अधिकांश वनहरुमा आगलागीका घट्ना बढ्दै गएका छन् । गर्मी सिजन सुरुसँगै जिल्लाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लागिरहेको छ । विशेष गरेर चुरे क्षेत्रका अधिकांश वनहरुमा आगो लागेको छ । महाभारतका वनहरुमा समेत आगलागी भएको छ ।

आगलागीको कारण धेरै धनजनको क्षति, साना बोटविरूवा र जंगली प्रजातिका वन्यजन्तु लोप भइरहेका छन् । वन समूहकै सदस्यहरुबाट जंगलमा आफै डढेलो लगाउने, आगो लागेको देखे पनि नियन्त्रणमा सक्रियता नदेखाउनेलगायतका कारण जिल्लामा वर्षेनी डढेलोबाट ठूलो क्षति हुने गरेको छ । डिभिजन वन कार्यालय दाङका अनुसार दुई महिनाको अवधिमा जिल्लामा सात सय बढी जंगलमा डढेलो लागेको छ । गत चैत महिनादेखि हालसम्म जिल्लाका २६ सामुदायिक वनको सात सय ८ दशमलव ५ हेक्टर वन डढेलो लागेको कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले बताए । उनका अनुसार सबैभन्दा धेरै यो वर्ष घोराही उपमहानगरपालिका ४ मा रहेको पालुथान सामुदायिक वनमा क्षति भएको छ ।

उनका अनुसार पालुथानमा यो वर्ष एक सय ५० हेक्टर जंगलमा डढेलो लागेको छ । त्यस्तै सुनपुर सामुदायिक वनको १०० हेक्टर, सरस्वती सामुदायिक वनको १०० हेक्टर, सरजु सामुदायिक वनको ५५ हेक्टरमा डढेलो लागेको छ । यो वर्ष रामपुर क्षेत्रको सरयु सामुदायिक वन, पाण्डवेश्वरी, जनसेवा, धारापानी, मन्दिरको धार्मिक वन, धर्नाको जनभावन सामुदायिक वन, गौरी सामुदायिक वन क्षेत्रलगायतका सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी भएको वन डिभिजन कार्यालय घोराहीका सूचना अधिकारी केसीले बताए । आगलागीका कारण जंगलमा बोटविरूवासँगै वन्यजन्तुलाई समेत संकटमा पार्ने डिभिजन कार्यालयले जनाएको छ । दाउरा पाइने, पातपतिङ्गर जल्यो भने जंगल जान सजिलो हुने, विषालु जीवजन्तुहरु मर्छन् भन्नेजस्ता धारणाका कारण उपभोक्ताले जंगलमा डढेलो लगाउने गरेका छन ।

दाङ जिल्लाका वस्तीहरुसँगै वन क्षेत्र पनि आगलागीका उच्च जोखिममा रहेका छन् । चोरी सिकारी, लापरवाही, जानीजानी आगो लगाउनेलगायतका कारण वन जंगलमा आगो लाग्ने गरेको छ । अहिले डढेलो नियन्त्रणको लागि गतिविधि सञ्चालन भइरहेको छ । नियन्त्रणसम्बन्धी गोष्ठी, आगो नियन्त्रणको लागि उपयोग हुने सामग्रीहरु वितरणको काम भइरहेको छ । अग्निनियन्त्रणका लागि जिल्लामा चार वटा सवडिभिजन कार्यालयमा अग्निनियन्त्रक समूह गठन गरिएका छन् । जिल्लामा अम्विकेश्वरी सवडिभिजन, सुनपुर सवडिभिजन, दंगीशरण र तुलसीपुरमा रहेका छन् । अग्निनियन्त्रणको लागि चारवटै सवडिभिजनमा अग्निनियन्त्रण समूह गठन गरिएका ती समूहलाई अग्निनियन्त्रणमा उपयोेग हुने वाटर–व्यागलगायतका सामग्री दिइएको छ ।

डिभिजन वन कार्यालयले भने जिल्लामा डढेलो नियन्त्रणको लागि आर्थिक वर्ष २०७५÷०७६ को लागि सचेतना कार्यक्रम र सामग्री वितरणको लागि ५ लाख रुपैयाँ बजेट खर्च गर्न थालेको सूचना अधिकृत केसीले बताए । नेपालको संविधानमा राष्ट्रिय वन ऐनमा वनमा जानीजानी आगलागी गर्नेलाई दुई वर्ष कैद, १० हजार रुपैयाँ जरिवाना र क्षतिको विगो सहित अशुल उपर गर्ने व्यवस्था रहेको छ । वन ऐन अनुसार एक वर्ष कैद, १० हजार जरिवाना र क्षतिको विगो सहितको अशुल उपर गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । गत वर्ष २१ सामुदायिक वनमा एक सय २१ हेक्टर जमिनमा आगलागी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*