दाङ, १८ माघ ।
घोराहीमा सडकको नालासहित फुटपाट बनाउने जिम्मा पाएका ठेकेदारले समयमै काम नगरेपछि जनताले ठेकेदारले भत्काएर सडकमा छोडेका सामग्री लगेर सहरी विकास तथा भवन कार्यालयको गेटमा थुपारी दिएका छन् ।
निर्माणको जिम्मा पाएको ठेकेदारसँगै सम्वन्धीत कार्यालयको लापरवाहीले जनताले दुःख पाएको भन्दै मंगलवार कार्यालय सञ्चालनको समयमा नाला निर्माणका क्रममा निर्माण व्यवसायीले भत्काएर सडकमा अलपत्र पारेका ढलानका सामग्री तथा छड कार्यालयको गेटमा फालेका हुन । नाला तथा सडक निर्माण ढिलाई सम्वन्धीत ठाउँका जनताले कति दुःख भोग्नु पर्ने रहिछ भनेर सम्वन्धीत कार्यालयको गेटमै नाला निर्माणका क्रममा भत्काएका सामग्रीहरु राखी दिएको माथिल्लो भरतपुर टोल विकास सस्थाका अध्यक्ष गुरुप्रसाद आचार्यले बताए ।
उनले निर्माणमा लापरवाही गर्ने ठेकेदारलाई कारवाही गर्न समेत माग गरे । ठेकेदारले नाला निर्माण गर्ने भन्दै भएको नाला समेत भत्काएपछि हिडडुल गर्न समस्यादेखि एक बर्षदेखि खानेपानीको पाइप जोड्न नपाएको अर्का स्थानीय दिपक आचार्यले बताए । नाला तथा सडक निर्माणका लागि भन्दै निर्माण व्यवसायीले सडकमा डोजर लगाएपछि बाटो बिग्रनका साथै खानेपानीको पाइपहरु काटिएको उनले बताए ।
उनले पुरानो नाला तथा सडक भत्काएर अलपत्र पार्दा नागरिकसँगै सवारी साधान चलाउन समस्या भैरहेको बताए । सहरी विकास तथा भवन कार्यालयले भने निर्माण व्यवसायीको अटेरीपनाका कारण नालासहितको फुटफाट निर्माणमा समस्या भएको बताए । चार महिनामा काम सक्ने २०७७ चैत १ गते आत्रेय÷पूर्णचन्द÷बस्नेत जेभीसँग सम्झौता भएपनि विभिन्न समस्याका कारण काम पुरा हुन नसकेको सहरी विकास तथा भवन कार्यालयका इन्जिनियर नारायण ओलीले बताए । सम्झौता अनुसार काम नभएपछि कार्यालय पुन चैतसम्म सक्ने गरि निर्माण व्यसायीसँग सम्झौत गरेको छ ।
RaptiSandesh RaptiSandesh