Home / Feature Breaking news / स्कुल ड्रेसमा पोखिएको मोहनको मन…

स्कुल ड्रेसमा पोखिएको मोहनको मन…

खेमराज रिजाल
बिजौरी, १८ असार । गएको १० गते तुलसीपुर उपमहानगरपालिका–१९ कुटेचौरको मावि कुटेचौरमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक र कापी बाँडे उनले । छोरी सरस्वती घर्तीमगरको २३औं जन्मदिनको बहाना बनाए स्कुलमा पोशाक बाँड्न । विद्यालय व्यवस्थापनसँग सरसल्लाह गरी त्यहाँका सबै विद्यार्थीहरुबाट विपन्न छानेर ६३ जनालाई पोशाक र कापी बाँड्दा उनको मन विद्यार्थी पोशाकमा पोखियो । एकजोर पोशाक पाउँदै विद्यार्थीहरु रमाएको देख्दा उनी फेरि हौसिए । उनले बाँडेका थिए एक÷एक जोर सर्ट पाइन्ट र दुई÷दुई वटा कापी ।

तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीका मोहन घर्तीको मन थामिएन । झन अघिल्लो शुक्रवार सोही वडाको मालिका प्रावि भित्रीसक्राममा पुगे कपडा र कापी वोकेर । उनले त्यहाँ अध्ययनरत विद्यार्थीलाई विपन्न भनेर छानिरहनु परेन । जम्मा २२ विद्यार्थी सबै विपन्न परिवारकै थिए । सबैलाई पुस्तक दिँदा उनको मन प्रफुल्ल भयो । यसलाई पनि उनले अवसर बनाए, छोरीकै वर्थ–डेको । ‘ती विद्यार्थीहरु पोशाक पाउँदा खुसी भएको देख्दा मेरो मन छोयो, किनकि यस्तै अभावै अभावका कारण मैले ४ कक्षामै पढाइ छाड्नु परेको थियो’, मोहन भन्छन्– ‘पढ्न चाहनेलाई सबैले प्रोत्साहन र सहयोग गर्नुपर्ने रहेछ ।’

तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी स्थायी बसोबास गर्दै आएका मोहन घर्तीको मन पोशाकमा यसरी पोखिन पुग्यो कि आफ्नो वडाका सबै सामुदायिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई पोशाक पु¥याउन । ‘यो सबै काम छोराछोरी र नातिको समेत जन्मदिन मनाउने खर्च कटाएर गर्दैछु’, यो बर्ष मैले आफ्नो वडाका सबै सामुदायिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई स्कुल पोशाक र एक थान भए पनि कापी उपहार दिँदै छु । त्यसै क्रममा उनले गत शुक्रवार पोशाक र पुस्तक बोकेर छिल्लीकोट पुगे ।

त्यहाँको प्रावि तहसम्म अध्ययन गर्ने सबै विद्यार्थीहरुलाई पोशाक र कापी उपहार दिए । उनका तीन सन्तान छन् । त्यसो त उनले अघिल्लो बर्षदेखि नै छोरी सरस्वतीको २२औं जन्मदिनका अवसरमा प्रावि धम्कापुरका विद्यार्थीहरुलाई पोशाक र कापी उपहार दिएका थिए । अबदेखि भने उनले तीनै सन्तानको जन्मदिनमा हुने खर्चलाई कटौती गरेर यी विद्यालयहरुमा पोशाक बाँड्ने सोच बनाएका छन् । यी सबै विद्यालयका विद्यार्थीहरुलाई पोशाक बाँड्नका लागि चानचुन डेढलाख रुपैयाँ जति खर्च भएको उनले बताए ।

आफ्नो पढाइमा ब्रेक लागेकोमा उनी अलि खिन्न छन् । खासमा गरिबीकै कारण उनको पढाइमा ब्रेक लाग्यो । त्यसैले उनले विहेवारी गरी जन्मेको पहिलो सन्तानको नाम नै सरस्वती राखे । अर्थात उनकै भनाइमा विद्याकी खानी सरस्वती…। ‘स्कुलहरुमा पोशाक बाडिरहँदा म नितान्त खुसी छु, मैले यो अभियानलाई जीवन्त जारी राख्ने छु’, मोहनले भने । हो, मोहनको जीवन पनि विगतमा अभाव र गरिबीसँग जोडिएको छ । मोहन घर्ती आफ्नो जीवनकथा यसरी बताइरहेका छन् ।

मलाई विद्यालय जाने मन निकै थियो तर मेरा बाआमामा शिक्षाको चेतनाको अभावका कारण विद्यालय पठाउन त्यति धेरै मन फर्माउनुहुन्थेन । मेरो पढ्ने चाहना हजुरबालाई बेलाबेलामा कानेखुसी गरी पोख्थेँ । नजिकैको हजुरबा तिलकराम घर्तीले मलाई उहाँको छोराको साथी पनि बन्ने भएकाले सँगै स्कुलमा नाम लेखाइदिनुभो । हामी भर्ना भएको भानु मावि मगरगुरी रोल्पा हाम्रो घरबाट २ घण्टाको पैदल यात्रामा पथ्र्यो । त्यहाँ मैले पढाइलाई ४ कक्षासम्म मात्रै निरन्तरता दिन सके । त्यसपछि घरको आर्थिक अभाव र गरिबीका कारण निरन्तरता दिन सकिनँ ।

मोहन कथालाई अगाडि बढाउँदै थिए । पढाइ ब्रेक । त्यसपछि कमाउनका लागि भारतमा करिब १३ बर्ष बिताए, ज्याला मजदुरीमा । मैले त्यही बुझे पढाइको महत्व । मैले भारतमा ढुंगा बोक्ने मजदुरी काम गरे । त्यसपछि घर फर्केर आउने जाने केही बर्ष जारी रह्यो । तर पढाइलाई जोड्न सकिएन । सत्र बर्ष पुगेपछि विवाह गरेँ । बाउआमासँग छुट्टिएर बसियो । पहिलो सन्तानका रुपमा जन्मिएकी छोरी ७ महिनामै बिती । त्यसपछि १५ दिनपछि घरमा श्रीमतीलाई एक्लै छाडेर कमाउन भारत जानुप¥यो । ८ महिनामा पुनः घर फर्कें ।

त्यसपछि मेरो मजदुरी यात्रा नेपालकै जुम्ला सडक हुँदै काठमाडौँका इटाभट्टासँग जोडियो । निरन्तर १७ बर्षसम्म इटाभट्टामा काम गरेँ । त्यही शिलशिलामा वि.सं. २०५९ साल मंसिरमा मैले आफ्नो जन्मथलो रोल्पा छाडेर बिजौरी झरेँ । यहाँ झरेपछि बिजौरीको साविक ९ नं. को ककरे भन्ने ठाउँमा ६ कठ्ठा जग्गा किन्न सफल भएँ । त्यसपछि काठमाडौँका नेवारहरुको साथ र संगतले गर्दा केही ऋण खोजेर इटाभट्टाको व्यवसायमा जोडिए ।

मोहन अहिले बिजौरी क्षेत्रको सफल व्यवसायीसमेत बनेका छन् । तर पढ्न नपाएकोमा उनलाई निकै पछुतो छ । त्यसैले पनि उनी विशेषगरी पछिल्लो पटक सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न विद्यार्थीहरुका समस्यामा जोडिन थालेका छन् । सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको पढाइ राम्रो नभएकोमा उनलाई चिन्ता छ । उनको पालामा सरकारी स्कुलमा पढाइ कस्तो राम्रो हुन्थ्यो, तर अहिले धेरै बिग्रिएकोमा उनलाई चिन्ता लागेको बताए ।

‘समाजका पात्र भनेका हामी नै हौं, ज–जसले जे सहयोग गर्न सकिन्छ गरेपछि सामुदायिक विद्यालयमा पठन–पाठन राम्रो हुने आशामा छु’, मोहनले भनिरहेका थिए– ‘विपन्न विद्यार्थीलाई पोशाक बाँड्ने अभियान जीवनभर जारी राख्ने छु…।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*