दाङ, २२ मंसिर । तपाईलाई कसैले फोन कहाँ छ भनेर सोध्यो भने तपाईले दिने जवाफ के हुन सक्छ रु सामान्यता भन्ने हो भने मोवाइल फोन भए आफैसँग हुनसक्छ भने ल्याण्डलाईन÷सिडिएमए भए घरमा छ । तर दाङको भैसाही नाकावासीको उत्तर भने अलि फरक छ । किनकि उनीहरुसँग गोजीमा मोबाइल फोन हँुदैन ।
न घरमा ल्याण्डलाइन नै रहन्छ । घरमा फोनले काम नगर्ने भएपछि कसैलाई रुखमा झुण्ड्याउनुपर्ने बाध्यता रहेको छ भने कसैलाई बारमा राख्नुपर्ने बाध्यता रहेको छ । त्यही बाध्यतामा पर्ने एक हुन् राजपुर गाउँपलिका–७ भैसाहीनाका निवासी पूर्णबहादुर रोका । उनको ल्याण्डलाइन फोन घर नजिकैको मौवाको रुखमा झुण्डिएको हुन्छ । कसैको फोन आए वा फोन गर्नुपर्ने भए रुखमा जानुपर्ने बाध्यता रहेको छ ।
मौवाको बोटमा काठको टेबल झुण्ड्याएर रोकाले फोन राख्न थालेको दश बर्ष बित्यो । जसका कारण स्काई सिमका तीनवटा सेटहरु फेरिसके तर उनले त्यो फोनको सेट घरभित्र लग्न पाएका छैनन् । बरु फोन आए राति १२ बजे पनि घरबाट उठेर रुखसम्म जानुपर्ने बाध्यता रहेको छ । किनकि त्यो सेटमा घरबाहिर रहेका गाउँमा धेरै मानिसहरुसँगै विद्यालय, स्वास्थ्य, वडा कार्यालय, गाउँपालिकादेखि अन्य कार्यालयका मानिसहरुले समेत गर्ने गरेका छन् ।
जसले गर्दा फोनको सेट रातमा पनि रुखैमा राख्ने गरेको उनले बताए । ‘घरमा फोन राख्दा काम गर्दैनन्, गाउँका अधिकांश मानिसहरुदेखि विद्यालय, स्वास्थचौकीलगायतमा काम पर्दा पनि मानिसले गर्ने फोन यही हो’, रोकाले भने– ‘त्यसैले रातमा पनि घरमा नल्याएर फोन रुखमै राख्ने गरेका छौं ।’ पानी वा सितले फोनको सेटमा असर नगरोस् भनेर छाता ओढाउने गर्ने गरेको समेत उनले बताए ।
‘नजिकमा टावर नहुँदा एनटिसी र एनसेलले काम गर्दैनन् । रुखमा राख्यो भने स्काईको सेटले काम गर्ने गरेको छ’, उनले भने– ‘नत्र नेपाली नम्बरको काम छैन, भारतीय नम्वर प्रयोग गर्ने हो ।’ नेपाली नम्वरले फोन नगर्ने हँुदा अधिकांश मानिसहरुले भारतीय नम्वर प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । जसले गर्दा दैनिक १५÷२० जना फोनका लागि आउने गरेको समेत उनले बताए ।
त्यतिमात्र होइन गाउँमा रहेको सीमा प्रहरी चौकी भैसाही नाकाको फोन पनि बारमै हुने गरेको छ । यो रहरले होइन बाध्यताले हो । नाका क्षेत्रमा हुने गतिविधि जिल्लामा जानकारीसँगै नियमित सम्पर्कमा रहनुपर्ने बाध्यता सीमा प्रहरी चौकी भैसाही नाकाका प्रमुख सई ओमबहादुर गिरीलाई हुन्छ । तर फोनले भने काम नगर्दा कहिले काहीँ सम्पर्कविहीन हुनुपर्ने बाध्यतासमेत रहेको छ ।
‘गाडीको बारमा बनाएको टोकरीमा फोन नराख्दासम्म सेटले काम नै गर्दैनन् । कि त करिब २०÷२५ मिनेट हिडेर पहाड चढ्नुपर्ने बाध्यता रहेको छ’, नजिकै रहेको फोन राख्ने ठाउँ देखाउँदै सई गिरीले भने– ‘भैसाहीका अचम्मैको नाका रहेको छ । जहाँ पायो त्यहाँ त फोनले नि काम गर्दैनन् । त्यसैले फोन राख्ने निश्चित ठाउँ छ ।’ यो पनि घाम लागेको बेला लाग्ने हो । घाम लागेन भने फोन पनि काम गर्दैनन् ।
यो समस्या अन्य समयभन्दा चिसो समयमा बढी हुने गरेको समेत प्रमुख गिरीले भने । उनका अनुसार बाहिरबाट प्रायः फोन लाग्दैन । ‘बाहिरबाट प्रायः फोन आउँदैन । आइहाल्यो भने पनि बुझिँदैन’, उनले भने– ‘कसैको फोन आएपछि फोन लाग्ने ठाउँमा गएर कुरा गर्नुपर्छ नत्र काम गर्दैनन् ।’ उनले नेपाली फोनले काम नगर्दा कहिले भारतीय नम्वरबाट समेत फोन गर्नुपर्ने बाध्यता हुने गरेको बताए । ‘घरबाट फोन लाग्दैन, यतैबाट फोन गर्ने हो’, उनले भने– ‘घरतिर वा साथीहरुलाई फोन गर्नका लागि पहाडतिर गएर फोन गर्ने हो ।’ उनले आफ्नो मात्र बाध्यता नभएर पुरै गाउँवासीको बाध्यता भएको बताए ।
यी प्रतिनिधिमूलक घटना मात्र हुन । नाका क्षेत्रमा सञ्चार सेवा नहुँदा स्थानीय फोन गर्नसँगै सीमा क्षेत्रका अधिकांश सीमा चौकी र विओपीहरुका प्रहरीले सेटमार्फत सूचना आदान–प्रदान गर्न समेत समस्या हुने गरेको छ । गाउँमा नेपाली नम्वरको नेटवर्कले काम नगर्ने भएपछि अधिकांशले भारतीय नम्वर राख्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।
निर्वाचनका क्रममा नेताहरुले जनतालाई विकासका पूर्वाधारहरुको आश्वासन दिने गरेपछि निर्वाचनपछि भुल्ने समस्याका कारण नाकावासी सञ्चार सेवाबाट बञ्चित हुनुपरेको स्थानीय बताउँछन् ।