लिलाधर वली
दाङ । प्यूठानको सामान्य परिवारमा जन्मिएका गोविन्द केसी करिब १५ वर्ष पहिले नेपाल प्रहरीका हवलदार थिए । परिवारमा जन्मिएका गोविन्द केसी करिब १५ वर्ष पहिले नेपाल प्रहरीका हवलदार थिए । हवलदारका रुपमा उनी डोल्पा जिल्लाको सदरमुकाममा रहेको जिल्ला प्रहरी कार्यालया कार्यरत थिए । घरपरिवार प्यूठान जिल्लाको तुसारा साविक गाविसमै थिए । त्यो समयमा उनको मासिक तलव १७÷१८ हजार रुपैयाँ थियो । त्यो पैसाले परिवारको दैनिकी चलाउन धौ–धौ थियो ।
घरमापरिवारमा संख्या बढ्दै जान थाल्यो । छोराछोरी पढ्ने भइसकेका थिए । घरमा खर्च बढ्दै जान थाल्यो । महिना सकिँदा बुझेको तलव घरखर्चमै नपुग्ने भएपछि जागिर छोडेर विदेश जाने निधो गरे । त्यही अनुसार २०६० सालमा जिल्ला प्रहरी कार्यालय डोल्पाबाट जागिर छोडिदिए । सशस्त्र द्वन्द्वको समयमा जागिरे जीवन बिताएका केसीले ९ वर्ष आठ महिना नेपाल प्रहरीमा रहेर जनताको सेवामा काम गरेका थिए । पैसा कमाउनका लाग विदेश जाने निधो गरे ।
त्यसपछि उनी पैसा कमाउनका लागि बहराइन पुगे । २०६० सालमा ८० हजार रुपैयाँ तिरेर बहराइन पुगेका केसीको सुरुमा ८० हजार रुपैयाँ मासिक तलव थियो । विस्तारै बढ्दै जान थाल्यो । पछिल्लो समय करिव पाँच वर्षपहिले एक लाख २० हजार रुपैयाँ मासिक तलव थियो । ‘काम पनि गाह्रो थिएन’–केसी भन्छन्–‘वहराइनमा एउटा प्लाष्टिक कम्पनीमा सेकुरुटी गार्डका रुपमा काम गर्थे, त्यहीं काम गरेर मासिक एक लाख २० हजार रुपैयाँ तलव आउँथ्यो ।’ काममा कुनै समस्या थिएन । विदेशमा आर्थिक रुपमा राम्रो कमाई भए पनि घरपरिवारप्रतिको जिम्मेवारीले सताउन थालेको थियो ।
विदेशमा राम्रो पैसा कमाई भएपछि प्युठानबाट दाङ बसाई गर्ने निर्णय गरे । छोराछोरीलाई राम्रो स्कूलमा पढाउने र सुगम ठाउँमा केही गर्ने सोचले सुरुमा देउखुरीको टिकुलीगढमा जग्गा किनेर घर बनाए । त्यस समयमा केसी बिदामा घर आउने र कमाउनका लागि बहराइन फर्केन गरिरहन्थे । करिव ११ वर्ष विदेश जाने र आउने उनको क्रम चलिरह्यो । विदेशमा श्रम गरेर राम्रो कमाई भए पनि उनको मन पुनः परिवर्तन भयो । अव विदेशमा बसेर होइन स्वदेशमै केही गर्नुपर्छ भन्ने भावना मनमा जाग्न थाल्यो । त्यसको कारण थियो घरमा छोराछोरीलाई पनि राम्रो शिक्षादीक्षा दिने । उनलाई घरबाट श्रीमतीले छोराछोरीले भनेको मान्दैनन्–पढाईमा जाँगर गर्दैनन भनेर सुनाई रहन्थिन् । त्यही भएर पनि उनलाई घरमा आफुसँगै बसे छोराछोरीलाई राम्रोसँग पढाउन सकिएला भन्ने सोचले जित्यो र घर फर्किए । त्यसपछि उनी फेरि विदेशी भूमिमा कमाउन जाने सपना देख्न छोडिदिए । विदेशमा कमाएको पैसाले स्वदेशमै केही गर्ने सोच बनाए ।
करिब सात लाख रुपैयाँमा खोर बनाएर विदेशमा कमाएको पैसालाई पशुपालन व्यवसायमा लगाए । ‘विदेशमा काम पनि गाह्रो थिएन, कमाई पनि राम्रै थियो’–उनी भन्छन्–‘कमाएर मात्र हुने रहेनछ, छोराछोरीहरुलाई राम्रो शिक्षा र संस्कार सिकाउन सक्नुपर्ने रहेछ ।’ त्यही सोचले मैले विदेशको जागिर छोडेर स्वदेश फर्किएँ । ‘अहिलेसम्म काम गरिरहेको भए मासिक डेढ लाख बढी कमाई हुन्थ्यो होला ?’–उनी भन्छन्–‘त्यसमा मलाई दुःख छैन, मलाई यही पशुपालन नै मन परेको छ ।’ करिव पाँच वर्ष पहिलेदेखि दुईवटा भैसी पाल्दै आएका केसीले ६ महिना अघि करिव ६ लाख रुपैयाँमा दुईवटा जर्सी गाई र दुई वटा होलिस्टेन गाई लिएका छन् ।
अहिले गाई र भैंसीको सेवा गर्दै दूध बेच्ने गरेका छन् । ‘भैंसीले दूध छुटाउने समय हुन थालेको छ, गाई भर्खर व्याएका छन्, अहिले खास्सै दूध छैन’–उनी भन्छन्–‘अहिले मासिक २० देखि ३० हजारसम्मको दूध बेच्ने गरेको छु ।’ चारवटा गाईमध्ये एउटा गाई व्याउन नसकेर मर्दा उनलाई करिब एक लाख २५ हजार रुपैयाँ घाटा व्यर्होनुपरेको समेत सुनाए । पशुपालनका लागि करिब डेढ विगाह जमिन वनकट्टामा भाडामा लिएका छन् । त्यहाँ सिजन अनुसारको घाँस लगाउने गरेका छन् । त्यही घाँसको माध्यमबाट पशुपालनलाई अघि बढाएका केसीले १५ देखि २० वटासम्म गाई र भैंसी पाल्ने योजनामा रहेको समेत बताए ।
मिहिनेत धेरै भए पनि घरमै बसेर काम गर्न पाउँदा उनी सन्तुष्ट छन् । ‘पैसा मात्र कमाउँदा मन सन्तुष्ट हुने रहेनछ, त्यो मैले विदेशमा भोगें’– केसी भन्छन्–‘बरु थोरै होस, स्वदेशमै घरपरिवारसँग बसेर काम गर्दा मन सन्तुष्ट छ ।’ सानैदेखि पशुपालन गर्ने रहर भएको बताउने केसीले त्यही अनुसार व्यवसाय गर्न पाउँदा परिवार समेत सन्तुष्ट रहेको बताए । केसीले भैंसी र गाईसँगै थोरै भए पनि बाख्रापालन व्यवसायलाई समेत अघि बढाउने योजनामा रहेको बताए ।