Home / Feature Breaking news / दाङमा हुने भनिएकाे अन्तर्राष्ट्रिय योग सम्मेलन स्थगित

दाङमा हुने भनिएकाे अन्तर्राष्ट्रिय योग सम्मेलन स्थगित

दाङ,  ६ भाद्र– यही असोज २५ देखि २७ गतेसम्म दाङको बेलझुण्डीमा आयोजना हुने गरी तयारी थालिएको अन्तर्राष्ट्रिय योग सम्मेलन–२०८२ हाललाई स्थगित गरिएको छ ।
देशमा उत्पन्न पछिल्ला राजनीतिक घटनाक्रमहरू र तत्पश्चात् उत्पन्न प्रतिकूल परिस्थितिका कारण हाललाई सम्मेलन स्थगित गरिएको अन्तर्राष्ट्रिय योग सम्मेलन मूल कार्यसमिति संयोजक तथा नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा. डा. सुधनकुमार पौडेलले बताए ।

नेपाल संस्कृत विश्वविद्यालयको अग्रसरता तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका विभिन्न शैक्षिक, सामाजिक, प्राज्ञिक, आध्यात्मिक तथा स्वयंसेवी संस्था, स्थानीय तह, सरकारी एवम् गैरसरकारी संस्था र आमजनसमुदाय समेतको व्यापक सहकार्य एवम् सहयोगमा योग सम्मेलन हुन थालेको थियो ।

अन्तर्राष्ट्रिय योग सम्मेलन तयारीका सन्दर्भमा नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारी, विश्वविद्यालयका प्राध्यापक र कर्मचारीहरू, सहआयोजक संस्थाका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, स्थानीय प्रशासनिक निकाय, सहयोगी संस्थाका पदाधिकारीहरु, पत्रकार, पेसाकर्मी, राजनीतिकर्मी, राष्ट्रसेवक र आम जनसमुदायबाट स्वस्फूर्त सहयोग प्राप्त भैरहेको थियो ।

सम्मेलनमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त एक हजारभन्दा बढी विद्वान्, विदुषी, योगसाधक, आध्यात्मिक चिन्तक, अनुसन्धाता र प्राज्ञिक व्यक्तित्वहरूको सहभागिता सुनिश्चित भैसकेको थियो । साथै पत्राचारलगायतका सबै तयारी अन्तिम चरणमा पुगेका थिए ।

सम्मेलन सम्पन्न गर्न विश्वविद्यालयले १३ सदस्यीय मूल कार्यसमिति गठन गर्नुका साथै मूल कार्यसमितिअन्तर्गत २१ वटा उपसमितिहरू गठन गरेको थियो ।
उक्त मूलसमिति र उपसमितिमा रहेर सम्मेलनको सफलताका लागि अहोरात्र खट्ने सबैलाई धन्यवाद् दिंदै संयोजक पौडेलले देशले अनुभव गरेको त्रासदी र आयोजकको बाध्यतालाई सबैले बुझिदिने विश्वास व्यक्त गरेका छन् ।

हाललाई स्थगित भए पनि अनुकूल समय मिलेमा सम्मेलन पुनः आयोजना गर्न सकिने पौडेलले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*