Home / Feature Breaking news / शान्ति मिसनमा धेरै सुरक्षाकर्मी पठाउने सूचीमा नेपाल पहिलो

शान्ति मिसनमा धेरै सुरक्षाकर्मी पठाउने सूचीमा नेपाल पहिलो

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा सहभागिता जनाउन थालेको ६५ वर्षमा नेपाल सबैभन्दा धेरै सुरक्षाकर्मी पठाउने सूचीमा पहिलो भएको छ । संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्यांकअनुसार दोस्रो स्थानबाट नेपाल पहिलो स्थानमा उक्लेको हो ।

राष्ट्रसंघीय तथ्यांकअनुसार नेपाली सुरक्षाकमीको संख्या ६ हजार दुई सय ४७ छ । यो विभिन्न मिसनमा हाल परिचालित सैनिक, प्रहरी र सशस्त्र प्रहरीको संख्या हो ।

‘संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा सबैभन्दा धेरै सैनिक र प्रहरीसहित सुरक्षाकर्मी पठाउने देशको सूचीमा नेपाल पहिलो भएको छ,’ नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले भने, ‘अहिले संख्यामा केही तल–माथि परेको हुन सक्छ, तर नेपालको संख्या पहिलो छ ।’

धेरै सुरक्षाकर्मी पठाउने सूचीमा बंगलादेश दोस्रो र भारत तेस्रो छ । सुरक्षाकर्मीको संख्या बंगलादेशको ६ हजार एक सय ९७ र भारतको ६ हजार ७३ छ । त्यस्तै, रुवान्डा चौथो र पाकिस्तान पाँचौँ स्थानमा छन् । दक्षिण एसियाली मुलुकहरू सबैभन्दा धेरै सुरक्षाकर्मी पठाउने मुलुकको सूचीमा अग्रपंक्तिमा देखिएका छन् ।

नेपालले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई शान्ति मिसनमा पठाएको छ । विभिन्न मिसनमा नेपाली सेनाका मात्रै पाँच हजार आठ सय ८५ जना परिचालित छन् । यीमध्ये ६ सय आठजना महिला सुरक्षाकर्मी छन् । १२ मिसनमा नेपाली सैनिक कार्यरत छन्  । नेपाली सेनाका अनुसार हालसम्म राष्ट्रसंघीय छातामुनि ४४ शान्ति स्थापक मिसनमा एक लाख ४९ हजार आठ सय ९० सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले काम गरेका छन् । मिसनहरूमा कर्तव्य पूरा गर्ने सिलसिलामा ७३ सुरक्षाकर्मीले ज्यान गुमाएका छन् भने ६८ घाइते भएका छन् ।

नेपाल सन् १९५५ मा राष्ट्रसंघको सदस्य भएको थियो । १९५८ देखि नेपाली सेना संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा पर्यवेक्षक पठाएर पहिलोपटक सहभागी भएको हो । सेनाले सन् १९७३ देखि इजरायल र इजिप्टको सीमा साइनाईमा फौज पठाएको थियो । त्यहाँ खटिएको पुरानो गोरख गण नै शान्ति स्थापक मिसनमा नेपालको पहिलो फौजी मिसन हो ।

नेपालले शान्ति मिसनमा १० हजार सेना पठाउने प्रतिबद्धता जनाएको छ । सन् २०२८ सम्म मिसनमा फौजी महिलाहरूको संख्या १५ प्रतिशत तथा सैन्य पर्यवेक्षक तथा स्टाफ अफिसरको संख्या २५ प्रतिशत पुर्‍याउने लक्ष्य राष्ट्रसंघले लिएको छ । क्रमिक रूपमा महिला सैनिकको सहभागिता बढाउन सेना प्रयासरत रहेको प्रवक्ता भण्डारीले जानकारी दिए ।

पछिल्लोपटक पश्चिम अफ्रिकाको मालीस्थित संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसन (युनाइटेड नेसन्स मल्टिडाइमेन्सनल इन्टिग्रेटेड स्टेबलाइजेसन मिसन इन माली) १५ पुसपछि बन्द भएको छ । तर, त्यहाँबाट १६ जना नेपाली सैनिक फर्किन बाँकी छन् ।  शान्ति स्थापक मिसनबाट बंगलादेशका १७ सय फिर्ता भएका छन् ।

सेनाका अनुसार नेपालले राष्ट्रसंघको मागअनुसार तत्कालै परिचालन गर्न सक्ने अवस्थामा दुई कम्पनी फौज तयार छ । पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तालिमपछि बन्दोबस्तीका सामानसहित दुई कम्पनी तयार छन् । मिसनमा तैनाथीका लागि तीन कम्पनी र एउटा बटालियनस्तरका सैनिक पनि तालिमरत छन् ।

सेनाका अनुसार हाल परिचालित नेपाली सेनाका जनशक्तिमध्ये संयुक्त राष्ट्रसंघको मुख्यालयमा ६ जना, माली मिसनमा १६ जना, कंगोमा  ११५४ जना, दक्षिण सुडानमा १७४२, लेबनानमा ८७३ जना, सिरिया (गोलान हाइट्स)मा ४१६ जना, सेन्ट्रल अफ्रिकन रिपब्लिकमा  १२४१ जना खटिएका छन् ।

यसैगरी, इराकमा ८८,  लिबियामा २३५, इजरायलमा ३ जना, यमनमा २ जना, अबेई सुडानमा १०४ जना र पेस्टर्नसहारामा पाँचजना सैनिक पनि कार्यरत छन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीका दुई सय चालीसभन्दा बढी शान्ति फौज कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*