Home / Feature Breaking news / ‘आइफोन’का निम्ति समाजले चुकाउँदै गरेको मूल्य

‘आइफोन’का निम्ति समाजले चुकाउँदै गरेको मूल्य

मिलन पाण्डेय

आशा छ, नयाँ वर्ष र असीको नयाँ दशकले सामान्य ‘आइफोन’का निम्ति आँसु र पीडा मिसिएको चर्को मूल्य चुकाउनुपर्नेछैन

मानिसलाई खुसी केले दिन्छ ? यो बहस चलि नै रहनेछ । कालखण्डअनुसार उत्तर पनि फरक आउन सक्छ । सम्भवतः संसारकै सबैभन्दा लामो अनुसन्धानमार्फत यसको उत्तर खोज्ने प्रयास गरिएको छ । हार्वर्डका अनुसन्धानकर्ताले ८५ वर्षदेखि (सन् १९३८ देखि सुरु गरेको) ७२४ मानिसमा गरेको अनुसन्धानले मानिसलाई खुसी केले दिन्छ भनेर खोजेको थियो । उनीहरूको काम, जीवनशैली, स्वास्थ्य, सम्बन्धलगायत विषयमा अध्ययन गरिएको थियो । अध्ययनले निकालेको एउटा महत्वपूर्ण निष्कर्ष हो, खुसी र स्वास्थ्य परिवार, साथीहरू तथा आफ्नो समुदायसँगको सम्बन्धमा निर्भर रहन्छ । जीवनमा खुसीको नाम, सम्पत्ति, सामाजिक स्तर, बौद्धिकता आदिसँग सम्बन्ध छैन ।

अनुसन्धानका चौथा निर्देशक हार्वर्ड मेडिकल स्कुलका प्राध्यापक रोबर्ट वाल्डिंगरले गरेको अध्ययनअनुसार नराम्रो सम्बन्ध हुनेहरूमा रोग लाग्दा पनि बढी पीडा हुने देखियो । एक्ला मानिसको आयु छोटो हुने देखियो । अझ अध्ययनअनुसार ५० वर्षको उमेरसम्म राम्रो सम्बन्ध हुनेहरू ८० वर्षको उमेरसम्म स्वस्थ रहने गरेको पाइयो ।

सोच्नुपर्ने तीन घटना :  पहिलो, विभिन्न जिल्लाको भ्रमणका दौरान युवा, विद्यार्थी र शिक्षकहरूसँगको संवादमार्फत म अहिलेका विद्यार्थीको अवस्था र मनोविज्ञान बुझ्ने प्रयास गर्छु । केही समययता, अझ कोभिडपछि विद्यार्थी पढाइबाट विमुख हुँदै गएका छन् । तथ्यांक नै त छैन, तर विद्यार्थीमा ‘डिप्रेसन’ बढ्दो छ ।

विद्यालय नआउने संख्या पनि बढ्दो छ । यस्तै विद्यालय नआउने एक विद्यार्थीसँग अन्तर्क्रिया गर्दा लामो संवाद र केही आत्मीयतापछि उनले खुलेर आफ्ना कुरा राखिन् । स्कुल नजानुको कारणबारे उनले भनिन्, ‘बुबा साउदीबाट नफर्केको १३ वर्ष भयो । उतै अर्को घरजम गरेको सुनिन्छ । यता आमाको पनि अर्कै मान्छेसँग सम्बन्ध छ । अहिले त ती व्यक्ति हाम्रै घर आएर हामीसँगै बस्न थालेका छन् । बिहान उठेर कलेज जान खोज्छु, तर मनै लाग्दैन, दाइ !’ मैले सुनिरहेँ मात्र, केही बोल्न सकिनँ ।

दोस्रो घटना, काठमाडौँकै हो । अघिल्लो साता एकजना साथीका बुबाको देहान्त भएकाले पशुपति पुगेँ । साथीलाई भेटेर समवेदना व्यक्त गर्दै कति भाइ छोराछोरी भनेर सोधेँ । साथीको उत्तर आयो— भाइ अमेरिका र बहिनी अस्ट्रेलियामा छन् । मैले भाइ आउँदै हो भनेर सोधेँ । उनले भाइलाई खबर गरेको, भाइ आउने भए अन्तिम संस्कारका लागि कुर्ने बताए पनि भाइले उता अफिस मिलाउन गाह्रो हुने भएकाले आफूलाई नकुर्नु भनेको तर १३ दिनभित्रै आउने योजना रहेको बताए । मैले १३ दिनपछि भेट्दा फेरि सोधेँ, भाइ आउनुभयो त ? साथीको उत्तर आयो, ‘उसको मिलेन ।’

तेस्रो घटना, अघिल्लो साता आफन्तको व्रतबन्धमा पुग्दा भान्जाको कपाल काट्ने मामा नभएर गाउँकै दाइले कपाल काट्दै हुनुहुँदो रहेछ । देशबाहिर रहेका आफन्तलाई भिडियो च्याटमार्फत यो दृश्य देखाउँदै गरेको देखेँ । आफन्तले नजिक आएर भन्नुभयो, ‘धन्न मामाले लाइभ भए नि हेर्न भ्याए !’

आइफोनको मूल्य : यी त प्रतिनिधि घटना मात्र हुन् । गत डेढ–दुई वर्षमा नेपालका विभिन्न जिल्ला घुमेर धेरै कथाव्यथा बुझ्दा धेरै निराशा र केही आशा पाएको छु । तर, मैले यसबीच तीनवटा कुरा अधिकांश रूपमा पाएँ । पहिलो, मानिसहरू पैसा र धनी हुने कुरा गरिरहेका छन् । सायद पैसा नै यो समाजले आजको दिनमा सबैभन्दा बढी प्रयोग गर्ने शब्द होला ।

दोस्रो– गाउँगाउँमा भट्टी पुगेको छ । बियर र रक्सी अत्यधिक खपत हुँदै छ । तेस्रो– गाउँगाउँमा पनि सामान्य मान्छेको हातमा आइफोन देखिन्छ । म यहाँ तेस्रो विषयलाई बिम्बका रूपमा लिन चाहन्छु । अधिकांश ठाउँ मधेस र सुदूरपश्चिमका भित्री गाउँमा समेत मैले सामान्य नागरिकको हातमा आइफोन देखेँ ।

आइफोनको स्रोत खोज्दा कि मानिस विदेशबाट फर्किंदा ल्याइरहेको, कि विदेशमा रहेका आफन्तले पठाएको अवस्था देखिन्छ । अधिकांश आइफोनको मुख्य स्रोत रेमिटेन्स रहेको पाइन्छ । प्रत्येकचोटि जब आमनागरिकको हातमा आइफोन देख्छु, तब परिवारले चुकाउनुपरेको मूल्य सम्झन्छु । एउटा अमेरिकी या अन्य कुनै विदेशी नागरिकले बोक्नेभन्दा हामीले नेपालमा बोक्ने आइफोन धेरै महँगो छ । किनकि, हामीले आइफोन पैसा मात्र तिरेर होइन, हाम्रा सम्बन्ध र हाम्रा खुसीहरूसमेत तिरेर बोकिरहेका छौँ । आइफोनलाई आँसुसँग साट्दै छौँ ।

मर्दा छोरा–छोरी छैनन् । बिहेकै भोलिपल्ट श्रीमान् या श्रीमती छैन । छोरा–छोरीका बुबा–आमा साथमा छैनन् । व्रतबन्धमा मामा छैन । बिहेमा जुत्ता लुकाउने साली छैन भने हामी कस्तो जीवन बाँच्दै छौँ ? कस्तो समाज निर्माण गर्दै छौँ ? हामी कसका लागि समाज निर्माण गर्दै छौँ ? बिहेमा नाच्ने जन्ती छैन, मृत्युमा जाने मलामी छैन भने हामीले सोच्ने वेला आएको छ । बा मर्दा आमालाई अँगालो हाल्ने छोरा–छोरी छैनन् भने हामीले यहीँ अडिएर प्रश्न गर्ने वेला आएको छ ।

जीवनको अस्तित्व र मज्जा सम्बन्धहरूमा छ । आज श्रीमान् वा श्रीमतीले पठाएको पैसाले बर्गर र पिज्जा त खान पाइएला, तर श्रीमान्–श्रीमती सँगै बस्न पाइन्न । आज अधिकांश सम्बन्ध खोक्रा हुँदै छन् । आज सहरी क्षेत्रमा सासू–बुहारीको ‘तँ–तँ र म–म’ अधिकांश घरमा देखिन्न । त्यो सम्बन्धको पनि त बेग्लै मज्जा छ, अर्थ छ ।

अब वर्षमा एक दिन बितेका आफ्ना आमाबुबालाई सम्झेर गरिने श्रद्धा अर्थात् श्राद्धसमेत हुन छाडेको छ । हामीले रेमिट्यान्सका निम्ति जुन मूल्य चुकाउँदै छौँ, यसले हाम्रो समाजलाई कंगाल बनाउँदै छ । भविष्यलाई अन्धकारमय बनाउँदै छ । हाम्रा खुसी र स्वास्थ्य लुटिँदै छन् ।समाज उत्पादनशील र उद्यमशील नहुँदा रेमिट्यान्सले धानेको अर्थतन्त्र पनि खोक्रो बन्दै छ । चिनजानकै दाइ २० लाखमा जग्गा बेचेर विदेश जानुभयो ।

बाहिर करिब सात वर्ष बसेर पैसा कमाएपछि फेरि त्यही जग्गा ७० लाखमा किन्नुभयो । उहाँ धनी हुनुभयो वा सात वर्षको लगानी हेर्दा गरिब हुनुभयो ? यो प्रश्न राज्य हाँक्ने नेतृत्वले सोच्ने वेला आएको छ । आज खाडीबाट फर्किने अधिकांश नेपाली शारीरिक समस्या लिएर फर्किरहेका छन् अनि युरोप–अमेरिका गएका अधिकांश मानिस उतै बस्ने ‘पिआर’ लिएर हिँडेका छन् । यसलाई कसरी सम्बोधन गर्ने ? मेरा उमेरका युवा देशमा छैनन्, भएका विदेश जान चाहन्छन् । यो मुद्दा कसले, कहिले सम्बोधन गर्ने ? देश र समाजलाई रेमिट्यान्सले बिस्तारै पोल्दै छ ।

खुसीकेन्द्रित अर्थतन्त्र : कोरियासहित केही देशको विकासबारे अध्ययन गर्ने हो भने उनीहरूले रेमिट्यान्समार्फत समृद्धि हासिल गरे । एउटा बिन्दुमा पुगेपछि देश फर्कने माहोल सिर्जना गरे र बाहिर सिकेका सीप र स्रोतलाई समृद्धिका निम्ति सदुपयोग गरे । हामी यहीँ चुक्दै छौँ । हामी विनायोजना अघि बढ्दै छौँ । रेमिट्यान्सले धानेको अर्थतन्त्रले समाज खोक्रो बनाउँदै छ । त्यसैले अबको अर्थतन्त्रको मोडेल तयार गर्दै गर्दा हामीले खुसीलाई केन्द्रमा राख्न जरुरी छ ।

त्यसका निम्ति सरकारले नेपालमा उत्पादन र उद्यमलाई फस्टाउने नीति ल्याउन जरुरी छ । बाहिर गएका नेपालीमा आशा जगाएर नेपाल फर्काउने वातावरण बनाउन जरुरी छ । नागरिकको खुसीलाई केन्द्रमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने नीति आवश्यक छ । मानिसको समाज, परिवार र साथीभाइसँगको सम्बन्धलाई केन्द्रमा राखेर, अर्थतन्त्रको मोडेल निर्माण गर्न जरुरी छ ।

नोबेल पुरस्कार विजेता अर्थशास्त्री एंगस डिटन र मनोवैज्ञानिक ड्यानियर कानम्यानले २०१० मा करिब पाँच लाख अमेरिकीमाझ गरेको अध्ययनले ७५ हजार डलरसम्म खुसीलाई आम्दानीले प्रभाव पार्ने देखियो । त्योभन्दा बढी आम्दानीको खुसीसँग सम्बन्ध रहेनछ । त्यसैले, अहिले जिडिपीलाई खुसीमार्फत मापन गर्न थालिएको छ ।

१९७० पछि भुटानले जिडिपीको ठाउँमा ग्रस नेसनल ह्यापिनेसलाई सफलताको मापन मानिरहेको छ । भारतको मध्यप्रदेश, दुबईलगायत देशले खुसी विभाग नै खडा गरेर काम गरिरहेका छन् । पैसाले एउटा बिन्दुसम्म खुसी दिन सक्छ, तर एउटा मानिस खुसी हुन वैवाहिक सम्बन्ध, स्वास्थ्य, मानसिक स्वास्थ्य, सन्तान, काम गर्ने वातावरणलगायत विषयको बढ्ता भूमिका हुन्छ ।

निष्कर्ष : युवाले सबैभन्दा बढी नाम र दाम खोज्छन् । दुवै महत्वपूर्ण छन्, तर हाम्रा सम्बन्धहरूको बदलामा यस्तो खुसी खोजिनु हुँदैन । हामीले नयाँ पुस्तालाई यो बुझाउन सकिरहेका छैनौँ । हाम्रो शिक्षा र अर्थनीतिले यसलाई सम्बोधन गर्न सकिरहेको छैन । हाम्रो नेतृत्वले समाजलाई दिशा दिन सकिरहेको छैन । फेरि भन्छु, आमाबुबा मर्दा छोराछोरी आउन नसक्ने समृद्धि कसैलाई चाहिँदैन ।

बाहिर जानु, रेमिटेन्स पठाउनु गलत भनेको होइन । तर कहिलेसम्म ? सरकारले योजना त बनाउनुपर्ला नि ? दलहरूले आशा जगाउँदै दिशा त दिनुपर्ला नि ? हो त्यही दिशाको खोजीका निम्ति यी प्रश्न उठ्न जरुरी छ । आज १२ पढ्ने अधिकांश युवा नेपालमा बस्न चाहँदैनन् । भरतपुरका एकजना साथी भन्दै हुनुहुन्थ्यो, त्यहाँका स्थायी शिक्षक र प्रधानाध्यापक नै खाडी जाने प्रक्रियामा छन् । केही दिनअघि भक्तपुरको बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का विद्यार्थीले साथीको सर्टमा लेखेका थिए– ‘खाडीमा भेटौँला ।’

हामीले समृद्धिको जुन मूल्य चुकाउँदै छौँ, त्यो ज्यादै महँगो छ भन्ने मेरो तर्क हो । तर, केही आशाका कथाहरू पनि छन् । अघिल्लो साता मुस्ताङको मार्फामा म एउटा पसलमा स्याउको सुकुटी किन्न पुगेँ । संवादका क्रममा मैले सोधेँ, ‘पसल कस्तो चल्दै छ ?’ साहुनीले भनिन्, ‘राम्रो चल्दै छ, हामीलाई त भ्याइ–नभ्याइ छ दाइ !’ ‘बाहिर जाने योजना छैन ?’ भनेर सोध्दा उनले भनिन्, ‘नजाने दाइ, मैले बिएस्सी नर्सिङ गरेको हो । अस्ट्रेलियाको भिसा लागेको थियो, नगएर यहीँ काम गरेको । बुढाबुढीलाई नै भ्याइ–नभ्याइ छ यहीँ ।’ मेरा निम्ति यो वर्ष ०७९ को सबैभन्दा प्रेरणादायी घटना हो ।

राज्यमा रोजगारीको माहोल बनाउने, शिक्षा र स्वास्थ्यमा लगानी गर्ने र देशमै केही गर्छु भन्नेका निम्ति राज्य छ है भन्ने सन्देश मात्र प्रवाह गर्ने हो भने पनि हामीले नयाँ दिशा पाउन सक्छौँ । आमनागरिकमा आशा छर्न सक्छौँ । आशा छ, नयाँ वर्ष र असीको नयाँ दशकले सामान्य ‘आइफोन’का निम्ति यति चर्को आँसु र पीडा मिसिएको मूल्य चुकाउनुपर्नेछैन ।

 (पाण्डे विवेकशील साझा पार्टीका नेता हुन्)

नयाँ पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*