Home / Feature Breaking news / दाङका तीनै निर्वाचन क्षेत्रमा ‘हेभिवेट’ पुरूष नेतासँग महिला नेतृको रोचक प्रतिस्पर्धा

दाङका तीनै निर्वाचन क्षेत्रमा ‘हेभिवेट’ पुरूष नेतासँग महिला नेतृको रोचक प्रतिस्पर्धा

नारायण खड्का                                                                दाङकाे प्रतिनिधिसभातर्फ तीन वटै निर्वाचन क्षेत्रमा ‘हेभिवेट’ पुरूष उम्मेदवारसँग महिला नेतृको रोचक प्रतिस्पर्धा हुने भएको छ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रमुख दलमध्ये नेकपा एमालेले २ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार उठाएको छ भने माओवादी केन्द्रले एउटा क्षेत्रमा महिलालाई टिकट दिएको छ। यो सँगै तीनै निर्वाचन क्षेत्रमा महिला नेतृहरू ‘हेभिवेट’ पुरूष उम्मेदवारसँग प्रतिस्पर्धामा छन्।

दाङको निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेले शान्ता चौधरीलाई उम्मेदवार बनाएको छ। कमलरी आन्दोलनले जन्माएकी नेतृ चौधरीलाई यसअघि एमालेले समानुपातिकबाट सांसद बनाएको थियो।

शान्ताले यहाँ आफ्नै पूर्व सहकर्मी नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीसँग प्रतिश्पर्धा गर्नुपर्नेछ।

सत्ता गठबन्धनका साझा उम्मेदवार मेटमणि हालका सहकारी विकास मन्त्रीसमेत हुन्। २०७४ सालको निर्वाचनमा उनले नेकपा एमालेका तर्फबाट यहीँ  निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए।

तत्कालिन एमालेका जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य चौधरी पछिल्लो समय पार्टी विभाजन भएसँगै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका हुन्।

राजनीतिक पृष्ठभूमी हेर्दा शान्ताभन्दा मेटमणि निकै अगाडि छन्। विगतमा चौधरीद्धयले एमालेमा रहेर थुप्रै सहकार्य गरेका थिए।

कमलरी आन्दोलनदेखि पछाडि पारिएको वर्ग थारू समुदायमा राजनीतिक चेतना भर्न उनीहरू दुबैले सँगै मिलेर काम गरेका थिए।

अहिले विगतका सहकर्मी बीचमा हुने प्रतिस्पर्धालाई राजनीतिक वृत्तमा निकै रोचक रूपमा हेरिएको छ। निर्वाचन क्षेत्र नं. १ थारू बाहुल्यता भएको क्षेत्र हो।

यो क्षेत्रमा बढीजसो बसाई सरेर आउनेहरू छिमेकी जिल्ला प्यूठान, अर्घाखाँची लगायतका मानिसहरू छन्। प्यूठानी धेरै रहेको हूँदा यहाँ जनमोर्चाको पनि राम्रो पकड छ। जनमोर्चा गठबन्धन दलमै छ। अर्कौतर्फ विगतमा एमालेकै उम्मेदवार भएर मेटमणिले यहीँ क्षेत्रबाट जितेको हुँदा शान्तालाई अहिले त्यो मत मिल्नसक्छ।

शान्ताको लागि एमाले नेतृ तथा पूर्व सांसद गंगा चौधरी तगारो बन्दैछन्। पार्टीले गंगालाई टिकट नदिएपछि विद्रोह गरेरे गंगाले शान्ता बिरूद्ध बागी उम्मेदवारी दिएकी छन्। यसबाट शान्ताको मत काटिने सम्भावना छ।

क्षेत्र नं. १ लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको क्षेत्र हो। लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिका यहीँ क्षेत्रमा पर्छन्।

निर्वाचन क्षेत्र नं. २ मा गठबन्धन दलबाट नेकपा माओवादी केन्द्रले पूर्वमन्त्री रेखा शर्मालाई प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बनाएको छ।

शर्माले २०६४ सालको संविधान सभा निर्वाचन पश्चिम दाङबाट जितेकी थिइन्। जतिखेर दाङमा पाँच निर्वाचन क्षेत्र थिए। उतिखेर सबै क्षेत्र माओवादीले क्लिनस्वीप गरेको थियो।

पूर्व सभामुख कृष्णबहादुर महरा पछि सरेपछि रेखालाई पार्टीले उम्मेदवार बनाएको हो। दाङ निर्वाचन क्षेत्र नं. २ को घोराही क्षेत्रमा पर्छ। यहाँ बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिका गरि दुई पालिका मात्रै छन्। रोल्पा र प्यूठानसँग सीमा जोडिएको यो क्षेत्रमा अधिकांश मानिस रोल्पाबाट बसाई सरेर आएका छन्।

आस्थाका दृष्टिकोणले रोल्पालीहरू अधिकांश माओवादी निकट छन्। त्यसको लाभ रेखालाई हुनसक्छ। उनी मन्त्री हुँदा वा राजनीतिक रूपमा पनि कुनै पनि विवादमा नमुछिएकी नेतृ हुन्। त्यसको लाभ उनले उठाउन सक्छिन्। यो नेपाली कांग्रेसको बलियो पडक भएको क्षेत्रसमेत हो। त्यसैले उनलाई थप फाइदा हुनसक्छ।

तर, उनलाई नेकपा एमालेका महासचिव शंकर पोखरेललाई हराउन सहज हुनेछैन।

२०७४ सालको निर्वाचनमा शंकर वाम गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नम्बर २ को (क) बाट निर्वाचित भएका थिए। त्यसपछि उनी लुम्बिनी प्रदेशको मुख्य मन्त्री बने।

त्यो बेला निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनकै कृष्णबहादुर महरा निर्वाचित भएका थिए। शंकरको गृहनगर तुलसीपुर उपमहानगरपालिकानै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*