Home / Feature Breaking news / सरकारी कार्यालयमा चार पांग्रे गाडी किन्न नपाइने, सम्झौता भएको १५ दिनभित्र काम सुरु गर्नुपर्ने

सरकारी कार्यालयमा चार पांग्रे गाडी किन्न नपाइने, सम्झौता भएको १५ दिनभित्र काम सुरु गर्नुपर्ने

आर्थिक वर्ष (आव) २०७९/०८० को बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रालयले एक वर्षको मार्गदर्शन सार्वजनिक गरेको छ । विनियोजन ऐन, २०७९ संघीय संसद्बाट पारित भएर असार ३२ गते राष्ट्रिपति विद्यादेवि भण्डारीले प्रमाणीकरण गरेसँगै उक्त मार्गदर्शन लागु भएको हो ।

मार्गदर्शनअनुसार चालु आवमा सरकारी कार्यालयहरूका लागि चार पांग्रे सवारी साधन खरिद गरिने छैन । सरकारी कार्यालयमा भएका सवारीसाधन मर्मत सुधार गर्दासमेत सञ्चालनमा नआउने भए अनिवार्य रूपमा लिलामी गर्ने व्यवस्था गर्नुपर्ने छ ।

त्यसैगरी सरकारी कार्यालयले कार्यालय प्रयोजनका लागि सकेसम्म खाली भएका सरकारी भवनलाई प्राथमिकता दिएर प्रयोग गर्नुपर्ने छ । यस्तो हुन नसकेमा व्यापारिक क्षेत्र र प्रमुख मार्गमा घर बहालमा नलिई न्यूनतम आवश्यकता र सुविधा भएको घर बहालमा लिने प्रबन्ध गर्नुपर्ने छ ।

त्यसैगरी आयोजना तयारीका सम्पूर्ण चरणहरू पूरा गरी आयोजनाको त्रैमासिक विभाजनसहितको वार्षिक खरिद योजना, विस्तृत डिजाइन र लागत अनुमान तयार गरी २०७९ साउन मसान्तभित्र स्वीकृत गरी बोलपत्र आह्वान गर्नुपर्ने छ ।

ठेक्का सम्झौता भएको १५ दिनभित्र काम सुरु गर्नुपर्ने
चालु आवमा कुनै पनि निर्माण व्यवसायीले ठेक्का सम्झौता भएको १५ दिनभित्र कार्य सुरु गर्नु पर्ने छ । उक्त योजना लागु गर्न आयोजना प्रमुखले आवश्यक व्यवस्था मिलाउनुपर्ने बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा उल्लेख छ ।

निर्माण व्यवसायीले ठेक्का सम्झौता गरेपछि सम्झौताबमोजिमको सबै वा केही कार्यका लागि सहायक ठेक्का सम्झौता गर्ने भएमा अनिवार्य रूपमा सम्बन्धित आयोजना प्रमुखको लिखित रूपमा पूर्व स्वीकृति लिनुपर्ने छ । अत्यावश्यक कार्यका लागि बाहेक एक तहभन्दा बढी तहमा सहायक ठेक्का सम्झौता गर्न नपाइने व्यवस्था गर्नुपर्ने छ । १० करोडभन्दा बढीका आयोजनाको निर्माण गुणस्तरको प्राविधिक परीक्षण राष्ट्रिय सतर्कता केन्द्रबाट गराउनुपर्ने छ ।

त्यस्तै, स्वीकृत कार्यक्रममा नपरेका कार्यक्रम कार्यन्वयन प्रक्रिया अगाडि बढाउन नहुने पनि जानकारी दिइएको छ । यस्ता आयोजना अगाडि बढाएमा सम्बन्धित पदाधिकारी नै जिम्मेवार हुनुपर्ने छ । विनियोजित बजेट र स्वीकृत कार्यक्रममा नपरेको आयोजनाका लागि बजेट निकासा, रकमान्तर तथा कार्यक्रम संशोधन माग गर्न पाइने छैन ।

आयोजनाको भौतिक प्रगति र गुणस्तरका आधारमा भुक्तानी

आयोजनाको भौतिक प्रगति र गुणस्तरका आधारमा मात्र भुक्तानी दिने व्यवस्था मिलाउनुपर्ने भएको छ । पहिलो त्रैमासिक निकासा लागि भौतिक प्रगति आवश्यक पर्ने छैन । दोस्रो त्रैमासिक निकासा भुक्तानीका लागि ३० प्रतिशत र तेस्रो त्रैमासिक निकासाका लागि सो अवधिसम्मको भौतिक प्रगति न्यूनतम ५० प्रतिशत हुनुपर्ने छ ।

त्यसैगरी, आयोजनाको विस्तृत क्रियाकलाप, सम्पन्न गर्नुपर्ने अवधि, लागत, उपलब्धि सूचक र जिम्मेवार कर्मचारीसहितको आयोजना कार्यान्वयन कार्ययोजना (प्रोजेक्ट इम्प्लिमेन्टेसन एक्सन प्लान) २०७९ साउन मसान्तभित्र तयार गरी आयोजनास्थलमा र सम्बन्धित मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने छ ।

वार्षिक आर्थिक विवरण आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्र सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यलयमा पेस गर्ने व्यवस्था मिलाउनुपर्ने छ । सरकारी कार्यालय र सरकारी अनुदान प्राप्त गर्ने निकायहरूको आम्दानी खर्चको विवरण मासिक रूपमा सार्वजनिकीकरण गर्ने व्यवस्था मिलाउनुपर्ने मार्गदर्शनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*