Home / Feature Breaking news / प्रादेशिक अस्पतालमा ओपिडी र इमर्जेन्सी टिकट निःशुल्क

प्रादेशिक अस्पतालमा ओपिडी र इमर्जेन्सी टिकट निःशुल्क

दाङ, १ साउन । लुम्बिनी प्रदेश सरकारले दाङस्थित राप्ती प्रादेशिक अस्पताल र बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालमा ओपिडी र इमर्जेन्सी टिकट तथा जनरल बेड निःशुल्क गरेको छ । सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेट भाषणमै यी दुईवटा अस्पतालमा उपचारका लागि आउने बिरामीका लागि ओपिडी र इमर्जेन्सी टिकट तथा जनरल बेड निःशुल्क गर्ने घोषणा गरेको थियो । सोही घोषणाअनुरूप प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबार उक्त निःशुल्क सेवाको शुभारम्भ भएको घोषणा गरेका हुन् ।

यसैगरी आइतबारदेखि नै लागू हुने गरी प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीका लागि रगत समेत निःशुल्क गरिएको छ । निःशुल्क रगत प्राप्तिका लागि कुनै पनि सरकारी अस्पतालमा आएका बिरामीले चिकित्सकको सिफारिस लिएर रक्त सञ्चार सेवा केन्द्रमा जानुपर्ने छ । सरकारी अस्पतालमा आउने बिरामीका लागि आवश्यक पर्ने रगत पनि सरकारले निःशुल्क गरेको हो ।

बजेटमा निःशुल्क रगतका लागि ३ करोड र अस्पतालको ईमर्जेन्सी र ओपिडी टिकट तथा जनरल बेड निःशुल्क गर्नका लागि एक करोड ५० लाख रुपैयाँ बिनियोजन गरेको छ । निःशुल्क रगत उपलब्ध गराउन लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसञ्चार सेवा केन्द्रबीच सम्झौतापत्रमा हस्ताक्षर समेत भईसकेको छ । रगतको निःशुल्क गरिएपछि इमरजेन्सी अवस्थामा रगत आवश्यक पर्ने विरामीलाई राहत मिल्नेछ । रक्तसञ्चार सेवा केन्द्रका अनुसार लुम्बिनी प्रदेशका सबै अस्पतालमा आउने विरामीहरुको मागको आधारमा लुम्बिनी प्रदेशमा वार्षिक ६० हजार युनिट रगत खपत हुँदै आएको छ ।

राप्ती प्रादेशिक अस्पतालमा दाङ, सल्यान, रुकुम र रोल्पाका बिरामीहरुले सेवा लिँदै आएका छन् भने लुम्बिनी प्रदेशका अधिकांश जिल्लासँगै, स्याङ्जा, बाग्लुङ, पर्वतलगायतका जिल्लाबाट दैनिक ८ सयदेखि १ हजारसम्म बिरामी उपचारको लागि आउने लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको चाप बढेसँगै विभिन्न सेवासमेत विस्तार गर्दै गएको छ । विक्रम सम्वत् १९६७ फागुन १५ गते बुटवलको जितगढीमा सामान्य अस्पतालको रूपमा खोलिएको यो अस्पताल २०२४ सालमा लुम्बिनी अञ्चल अस्पताल र २०७५ साल माघमा लुम्बिनी प्रादेशिक अस्पतालको रूपमा स्थापित भएको हो ।

अस्पताल प्रशासनका अनुसार वार्षिक साढे दुई लाख बढी विरामीले सेवा लिँदै आएको अस्पतालमा सामान्य चिकित्सा (मेडिकल) विभाग, महिला तथा प्रसूति विभाग, बालरोग विभाग, शल्यक्रिया विभाग, नान, कान र घाँटी विभाग, हाडजोर्नी विभाग, छाला, यौन तथा कुष्ठ रोग विभाग, मानसिक रोग विभाग, आकस्मिक सेवा विभाग, एनेस्थेसिया, आइसियू सेवा, दन्त सेवा विभाग, ल्याबसम्बन्धी सेवा, सिटी स्क्यान सेवासमेत उपलब्ध हुँदै आएको छ ।

त्यसैगरी आइतवारैदेखि लुम्बिनी प्रदेशअन्तर्गत रहेको दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पनि ओपिडी र इमर्जेन्सी टिकट तथा बेड निःशुल्क भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. विनोद सिंहले जनाएका छन् । यो घोषणा आजदेखि कार्यान्वयनमा आउन लागेको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारुले जानकारी दिए । ओपिडी र बेड निःशुल्क गर्न बजेटमा १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । यसैगरी आजदेखि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीका लागि रगत पनि निःशुल्क हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*