Home / Feature Breaking news / अरुको लागि बाँच्नुपर्ने ‘कष्टकर’ जीवन

अरुको लागि बाँच्नुपर्ने ‘कष्टकर’ जीवन

विनोद पोख्रेल
२०७७ साउन २५ गते
आजभोलि अलि अलमलमा छु । दैनिकी नियमित बनाउन सकेको छैन । सरकारले त आफूलाई नियमित बनाउन सकेको छैन मैले नसक्नु कुनै विशेष कुरा होइनजस्तो पनि लाग्छ । ११ कक्षाको अनलाइन पढाइ सुरु भएको झण्डै एक महिना भयो । एसईईको परीक्षाको नम्बर र श्रेणी छुट्याएर मार्कसिट दिन सकिरहेको छैन । नम्बरको आधारमा विषय छुट्याउने अथवा छान्नेहरुलाई पहिले त जाँच गर्न सकिएन । स्कुलले गर्ने मूल्यांकन पनि अहिलेसम्म हुन सकेको छैन । सरकार अलमलमा छ । स्कुल अलमलमा छन् ।

शिक्षक अलमलमा छन् । विद्यार्थी अलमलमा छन् । समाजका अन्य धेरै पक्ष अलमलमा छन् । त्यस्तोमा म अलमलमा हुनु केही विशेष कुरो होइन । एउटा कुराको स्पष्टता छ । पहिलेको जस्तो भीडभाड र सधैको जस्तो नियमित उपस्थितिबाट भने बच्नपर्छ । त्यसैकारणले घोराही सधै नजाने निर्णय गरेको हुँ । बितेको हप्ता दिन दिन गएँ । धेरै गएको जस्तो लागेको हो । पहिले दिनदिनै जाँदा पनि त्यस्तो लाग्दैनथ्यो । सायद डर हो यो अथवा अभ्यस्तता हो । लामो समयसम्म नगएकाले त्यस्तै बानी बस्यो । या त गइरहँदा त्यहाँका मानिसले कस्तो मान्ने हुन् भन्ने डर हो । घरमा बस्न पनि त्यति मन हुँदैन ।

जानलाई यस्तै सोचहरु पनि आउँछन् । त्यसबाहेक त्यहाँ अरु पनि कोही हुन्छन् कि हुँदैनन्, जो हुन्छन् उनीहरु आफूअनुकूल हुन्छन् कि हुँदैनन् । अनुकल् भएकाले समय दिन मन गर्छन् कि गर्दैनन् ? के–के सोच आउँछन् । अलमलमा पर्छन् । आज पनि त्यही अनुभव गरिरहेको छु । हामी घरमा सामान्य तथा शनिवारको दिन मात्रै जुट्थ्यौं । लकडाउनको प्रभाव कम भएपछि दुई दिन जुट्न थाल्यौं । पहिले त यो ठीकै लागेको पनि हो तर अब कहिलेकाहीँ यो बढी पनि लाग्न थालिसकेको छ । अब केही समयसम्म विभिन्न पर्वहरु आउन थालेका छन् । पर्सी कृष्णाष्टमी छ । त्यसको एक हप्तापछि कुशेऔंशी, अनि तीज, पञ्चमी आदि ।

हामीलाई निहुँ चाहिन्छ, के हुने हो भन्न त सक्दैन । तर पहिलेको जस्तो हतारका आकर्षण्क भने छैन । बरु यति सबै र शनिवारसमेत जुट्दा गाह्रो हुन्छ जस्तो लाग्छ । मनलाई पनि गाह्रो, जिउलाई पनि गाह्रो । यसपल्टदेखि शरीरलाई केही अतिरिक्त आवश्यकता भएको जस्तो केही अौिषधिको रुपमा खानुपरेको जस्तो महसुस भएको छ । यस्तै जीवनशैली, यस्तै अलमलले बनाएको सोचको परिणाम पनि हुनसक्छ । उमेरको असर पनि हुनसक्छ ।

वा म अली बढी कमजोर भएको पनि हुनसक्छ । हुन त चित्त बुझाउन आफूभन्दा पाको उमेरकाहरुसँग तुलना गर्छु । उहाँहरु ठीक हुनुहुन्छ भने म कसरी उमेरको असरले कमजोर हुनसक्छु जस्तो लाग्छ तर वास्तविकतालाई स्वीकार गर्नैपर्छ । मभन्दा कम उमेरका पनि मभन्दा चाँडै संसारबाट विदा भैसके । अरुजस्तो हुन सकिँदैन यो थाहा छ । तर चित्त बुझाउन तुलना पनि गर्नुपर्छ । अझ भनौं चित्त बुझाउने बाटाहरु जति हुन् सबै खोज्नुपर्छ । नयाँ तर्क विकसित गर्न सके गर्नुपर्छ । तबमात्र जीवन सहज बनाउन सकिन्छ ।

अझ भनौ भोलिबारे सोच्ने उमेर पार गरिसकेको यो अवस्थामा आफू केही कुरामा सचेत भएर निर्धक्कसँग जीवन बिताउन सकिन्छ भने विश्वासका भरमा दिन कटाउन सस्क्नुपर्छ । बाँकी अलमल सामयिक हुन् । यिनको समाधान आफै भेटिन्छ अथवा आउँछ । यस्ता सामयिक अलमल वा अवरोध केही नभएको जीवनको कल्पना पनि गर्न सकिने होइन । त्यसकारण चुप लाग्नु र परिस्थितिले जन्माएका समस्याहरुलाई पनि सहजरुपमा स्वीकार गर्नु नै जीवनलाई सामान्य रुप जिउने एउटा उपाय हो । यहाँ विद्रोहको काम पनि छैन । हतारिनुको मलतब पनि छैन । जसरी सजिलोसँग बिताउन सकिन्छ, त्यसरी नै बिताउने हो ।

२०७७ साउन २६ गते

कतिपल्ट मानिसको व्यवहारले मानिसलाई भावुक बनाउँछ । त्यो भावुकतामा पीडा पनि हुनसक्छ । सन्तुष्टि पनि हुनसक्छ वा अन्य केही अभरु पक्ष पनि हुनसक्छ । हिजो एकराज शर्माको कृति ‘मेरो अतीत’को लोकार्पण कार्यक्रम थियो । त्यहाँ धेरैसँग भेट भयो तर दुईजनासँगको कुराकानीले मलाई प्रभाव पा¥यो । एकजना नारायण गुरु ।

उहाँले मप्रतिको भावना अभिव्यक्त भएर अझै नपुगेको जस्तो लाग्यो । उहाँ यही साउन १६ गतेका दिन मेरो कविता संग्रह ‘मेरो बिहानी’को लोकार्पणका दिन अलि बढी मलाई लाग्छ सबैले थाहा पाउने गरी भावुक हुनुभयो । त्यसबारे सायद केही सोच्नुभयो होला । हिजो भेटमा त्यतिबेला आफूले बोलेका कुरामा मलाई चित्त बुझे नबुझेको सोध्नुभयो । म अलमलमा परेँ । स्वाभाविक उत्तर आयो– तपाईका गतिविधि अथवा विद्वत्ता प्रदर्शनमा मेरा आफ्ना धारणा होलान् तर भावनामा धारणा बन्दैन ।

तपाई जसरी भावुक भएर प्रस्तुत हुनुभयो त्यसले मलाई पनि केही भावुक बनायो । त्यहाँ टिप्पणी कुरो रहँदैन । मेरो धारणा यही हो । भावना खुलारुपमा पोखिनु वा पोख्न सक्नु वा पोख्न बाध्य हुनु आफ्ना परिवेश हुन् । जस्ताको त्यस्तै भावनाहरु अभिव्यक्त गर्न पनि धेरै कुराले साथ दिनुपर्छ । सामान्यतया सेकेण्डह्याण्ड ज्ञानलाई बुद्धि मानेर त्यसकै भरमा बढी जान्ने हुनेहरुकै संख्या यहाँ बढी हुने गर्छ । केही यसतर्फ सकेसम्म नफर्केर सतहीरुपमा सबै ठीकठाक भएको जस्तो देखाएर चित्त बुझाउँछन् । आफ्ना भावनालाई इमान्दारीका साथ छताछुल्ल पार्ने वा पार्न सक्नेहरु कमै हुन्छन् ।

त्यसदिन गुरु (नारायणप्रसाद शर्मा) अलि छताछुल्ल हुनुभयो । अनि कतै केही बढी भयो कि वा गल्ती भयो कि भन्ने लाग्यो होला । यति दिनपछि फेरि मसँग आफ्नो भनाइबारे मेरो प्रतिक्रिया बुझ्न चाहनुभयो । उहाँसँग अर्को कुरा पनि भयो । अझ भनौँ उहाँले आफ्नो मनको कुरा मलाई सुनाउनुभयो । आजकै घटना भनेर बिहान उहाँकी छोरीले उहाँलाई कतै नहिँड्नु होला’ आदि कुरा भन्नुभएछ । उहाँकी एकमात्र छोरीलाई मैले पनि राम्ररी चिन्छु । अनि गुरुले ‘हुन्छ’ मात्रै भने भन्नुभयो । अनि आफ्नो मनभित्रको कुरोलाई कविताको माध्यमबाट अभिव्यक्त प्रकट गरेको कुरो सुनाउनुभयो ।

कवितामा भएको कुरा तिमीहरुले अलि धेरै दिनसम्म बा भन्न पाइयोस् र बा देख्न पाइयोस् भनेर आफ्नो तरिकाले भन्छौँ तर एउटा कुरा बुझ्दैनौँ । म तिमीहरुको नियममा मात्रै बाँचे भने सायद तिमीहरुले कल्पना गरेको समयसम्म बा भन्न पाउँदैनौँ कि ? मेरो जीवन शैली नै यस्तो भैसकेको छ कि म आफूलाई त्यसमा परिवर्तन ल्याएर तिम्रो नियममा सीमित भएर सजिलो जीवन बाँच्न सक्दैन ।

तिमीहरुसँग यसबारे बहस गर्न पनि सक्दैन । उहाँको भनाइले मलाई पनि छोयो । अरुको लागि बाँिचदिनपर्ने जीवन अलि कष्टकर रनै हुन्छ तर पनि बाँचिदिनुपर्छ । कति ढाँटेर कति नबोलेर वा प्रतिक्रिया नजनाएर बाँच्नुपर्छ । यसले आफूलाई भावनात्मकरुपमा कस्तो बनाउँछ त्यो भोग्ने आफूले मात्र हो । अर्को व्यक्तिसँग हिजो कुरा भएको टीकाराम रेग्मी हो । उहाँले अलि धेरै पहिलेको घटना भनेर मलाई सम्झाउन प्रयास गर्नुभयो । मैले तपाईले त्यसैबेलादेखि चिन्छु, भन्नुभयो । मलाई याद त पटक्कै थिएन तर उहाँले एउटा कुरा मलाई सम्झाउनुभयो ।

मानिस अर्को व्यक्तिसँग अति साना कुराहरुले पनि प्रभावित हुन्छ । मेरो धारणाअनुसार उहाँ ठीक हुनुहुन्थ्यो । अरुले उहाँको विरोध गरे । मैले नआत्तिनुस्, तपाई ठीक हुनुहुन्छ भनेर उहाँलाई सम्झाएछु । यो उहाँको भाषा हो । उहाँको दावी मलाई चिनेको त्यही दिनदेखि हो, भन्ने छ । मैले पनि कुरालाई सहजरुपमा लिए तर आफूलाई बढी जान्ने सम्झनेहरुको विरुद्धको सोचले उहाँलाई प्रभाव पारेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*