Home / Feature Breaking news / कांग्रेस महाधिवेशन : दाङ कांग्रेस हाँक्न हस्तीहरू

कांग्रेस महाधिवेशन : दाङ कांग्रेस हाँक्न हस्तीहरू

खेमराज रिजाल

दाङ, २८ असार । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन भदौ २० देखि हुने कांग्रेस केन्द्रीय समितिको निर्णयसँगै अहिले जिल्ला–जिल्लामा महाधिवेशनको रौनक देखिन थालेको छ । यसै अनुरुप दाङ जिल्ला अधिवेशनका सन्दर्भमा पनि पार्टी नेता, कार्यकर्ताहरु चुनावी माहोलमा होमिन थालिसकेका छन् ।

होटल, चिया पसल, स्कूल, चौतारादेखि हरेक गल्ली–गल्लीसम्म महाधिवेशन केन्द्रित बहसले प्राथमिकता पाउन थालेका छन् । केन्द्रमा नेतृत्वका लागि होडबाजी चलिरहेकै बेला दाङ जिल्लामा पनि जिल्ला सभापति, क्षेत्रीय सभापति, गाउँनगर समिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यलगायतका पदहरुमा नेतृत्व लिनका लागि समेत आन्तरिक गृहकार्य र छलफलहरु सुरु हुन थालेका छन् ।

पार्टीको निर्णयानुसार आउँदो साउन १२ गतेदेखि वडा अधिवेशनहरु सुरु हुँदैछन् । वडा अधिवेशन अघि नै क्रियाशील सदस्यको अन्तिम टुङ्गो केन्द्रले लगाउने छ । यद्यपि जेठ २५ गते केन्द्रमा पठाएको विवरण अनुसार नयाँ क्रियाशील सदस्य ९ हजार ९ सय ९० र नवीकरण गरिएका ८ हजार ८ सय ३० गरी जम्मा करिब १७ हजार बढी क्रियाशील सदस्यहरुले निर्वाचन प्रक्रियामा सहभागी हुने नेपाली कांग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले जानकारी दिएका छन् । यद्यपि यो संख्यामा केन्द्रबाट केही तल÷माथि हुन सक्नेछ ।

क्रियाशील सदस्यहरुले क्षेत्रीय प्रतिनिधि, वडा कार्यसमिति तथा गाउँ÷नगर समितिका पदाधिकारी चुन्न मतदान गर्न पाउनेछन् । क्षेत्रीय प्रतिनिधिमा चुनिएकाहरुले भने जिल्ला कार्यसमिति, क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य चुन्न पाउनेछन् । गाउँ÷नगर अधिवेशन साउन १५ गते हुने तथा जिल्ला अधिवेशन साउन २६ गते सम्पन्न हुने कार्यतालिका कांग्रेसले सार्वजनिक गरिसकेको छ ।

१ सय ५० सम्म क्रियाशील सदस्यहरु भएको क्षेत्रबाट १६ जना क्षेत्रीय प्रतिनिधि चुनिने प्रावधान रहेको छ । त्यो भन्दा बढी भएमा प्रति १सय क्रियाशील सदस्य बराबर ६ जनाका दरले क्षेत्रीय प्रतिनिधि थपिनेछन् । यो कार्यतालिकासँगै कुन तहमा कसले नेतृत्व लिने भन्ने आन्तरिक कसरत सुरु भएको छ । छलफल र सामाजिक सञ्जालमा नेतृत्व लिनेहरुका विषयमा केही चर्चा–परिचर्चा हुनथालेका छन् । यद्यपि सार्वजनिक रूपमा भने अझै कसैले पनि दाङ कांग्रेसको नेतृत्व लिने विषयमा सार्वजनिक अभिव्यक्ति दिएका छैनन् । अहिले क्रियाशील सदस्यहरुको संख्या उल्लेख्य रूपमा थपिएका कारण कसैले कसैलाई चाहेरै पनि तल्लो तहबाटै रोक्ने अवस्था भने छैन ।

सभापतिका आकांक्षीहरु

अहिले मुलुक विषम राजनीतिक परिस्थितिबाट गुज्रेको अवस्थामा एकताबद्ध कांग्रेस आम कार्यकर्ताहरुको चाहना छ । बलियो प्रतिपक्षीको भूमिकासँगै आउँदो निर्वाचनमा अत्यधिक बहुमत ल्याएर सरकार बनाउनका लागि पनि एकताबद्ध कांग्रेसको विकल्प नरहेको पाका नेता तथा उदियमान कार्यकर्ताहरुको आवाज छ । सम्भवतः यी आवाजहरुले सार्थकता पाएर सहमतिमै जिल्ला कार्यसमितिलगायत सबै तहमा सर्वसम्मत नेतृत्व स्थापित हुने आम कांग्रेसजनहरुको अपेक्षा छ । अग्रज नेताहरुले पनि सहमतिमा नेतृत्व चुन्न अधिक्तम प्रयासको मुडमा देखिन्छन् ।

तर पनि नेतृत्वका लागि नहट्ने आकांक्षीहरुको भने कमी छैन । पुरानै नेता, जुन यस अघि पनि जिल्ला नेतृत्वका लागि निर्वाचनमा होमिएका थिए, उनीहरुले पनि विभिन्न औपचारिक कार्यक्रममा सभापतिको नेतृत्व लिन आवश्यक परे तयार रहेको अभिव्यक्ति दिइरहेका छन् । केही नयाँ अनुहारहरु पनि नेतृत्व लिन आतुर देखिन्छन् । युवाहरुको रोजाइमा युवाकै नेतृत्व वा पुरानै प्रतिस्पर्धी भए पनि युवा नेतृत्वमा आउनुपर्छ भन्ने चाहना देखिन्छ ।

मूलतः अहिले जिल्ला सभापतिमा क–कसको प्रतिस्पर्धा हुने भन्ने चर्चा–परिचर्चा छ । दुई कार्यकाल नेपाली कांग्रेस दाङको सभापति भएर तेह्रौँ अधिवेशनमा तुलसीपुर नगर समितिको सभापति बनिसकेका कांग्रेस नेता गेहेन्द्र गिरीको नाम पनि सभापतिका प्रत्यासीका रूपमा चर्चा सुरु हुनथालेको छ । सांसद समेत भइसकेका नेता गिरीले आफ्नो पार्टी सभापतिका लागि आधिकारिक रुपमा नाम भने घोषणा गरिसकेका छैनन् ।

संविधानसभा सदस्य बुद्धिराम भण्डारीलाइ पनि घाइते बाघका रूपमा चित्रण गरिन्छ । दुई कार्यकालसम्म जिल्ला सभापतिका उम्मेद्वार भएर पराजय भोगेका पुराना नेता भण्डारी आवश्यक परे र समयले मागेको अवस्थामा सभापतिको जिम्मेवारी सम्हाल्न तयार देखिन्छन् । तर, सहमतिको अवस्थामा मात्र उनले आफ्नो तेतृत्वलाई स्वीकार्ने बताइन्छ । भण्डारीको प्रतिस्पर्धा एकपटक मोहनलाल वलीसँग भएको थियो भने अर्को पटक घनश्याम रेग्मीसँग भएको थियो ।

सहमतिमा जुटेर नेतृत्व गरौँ भन्ने भयो भने कांग्रेसकै अर्का नेता तथा हालका प्रदेशसभा सदस्य शंकर गिरी पनि सभापतिको नेतृत्व लिन तयार देखिन्छन् । विश्वस्त स्रोतकाअनुसार उनी पनि नेतृत्वका लागि आन्तरिक छलफल र गृहकार्यमा व्यस्त देखिन्छन् । वीरकेशरी गौतम जिल्ला सभापति भएको अवस्थामा शंकर गिरीले मनोनित सचिवका रुपमा नेतृत्व लिएका थिए ।

पार्टी सभापतिकै रुपमा नेतृत्व लिनका लागि चर्चाका नाम भोजराज पाण्डे र खगराज पाण्डेको पनि सुनिनथालेको छ । पाण्डे द्वय यस अघि क्षेत्रीय सभापतिमा निर्वाचित भई कार्यसम्पादन गरिसकेका नेताहरु हुन् । संविधानसभा सदस्य राजु खनालले पनि जिल्ला सभापतिका रूपमा आफूलाई उभ्याउन थालेको बताइन्छ । नेपाल विद्यार्थी संघको जिल्ला सभापतिको नेतृत्व हुँदै पार्टीमा होमिएका खनाल यस अघिको संघीय निर्वाचनमा पनि सांसद्को उम्मेद्वार बनेका थिए । यस अघि खनाल क्षेत्रीय सभापति तथा जिल्ला सचिवमा पनि उनी उम्मेद्वार बनिसकेका थिए । यद्यपि, विजयी बन्न सकेनन् ।

आफूलाई युवाहरुको ढुक्ढुकीका रूपमा प्रस्तुत गर्ने नेताहरुमा शंकरप्रसाद डाँगी, कमलकिशोर घिमिरे र जानकीलाल बस्नेतको पनि नाम चर्चामा आउँछ । सामाजिक सञ्जालमा यी तीनै जनाको नाम चर्चामा आउनथालेको छ । यद्यपि यी सबैले आफ्नो उम्मेद्वारी घोषणा भने गरेका छैनन् । केही अनलाइन संस्करणमा जानकीलाल बस्नेतले भने आफूलाई पार्टी जिल्ला सभापतिको उम्मेद्वारका रूपमा उभ्याइसकेका छन् ।

कमलकिशोर घिमिरेले आफूलाई कान्छो नेताका रूपमा अथ्र्याउँछन् । २६ वर्षको उमेरमै रामपुर गाउँ ईकाई सभापतिका रूपमा नेतृत्व सुरु गरेका घिमिरे ३२ वर्षको उमेरमा क्षेत्रीय सभापति, बाह्रौँ महाधिवेशनमा जिल्ला कार्यसमिति सचिव र तेह्रौँ महाधिवेशनमा जिल्ला कार्यसमितिको सभापतिका रूपमा प्रत्यासी बने । उनले झिनो मतले सभापति कीर्तिबहादुर खड्कासँग हार व्यहोर्नुप¥यो ।

घाइते बाघका रूपमा उनलाई कांग्रेसजनहरुले फेरि सभापतिका लागि आग्रह गरिरहेको बताइन्छ । यद्यपि, उनले पनि उम्मेद्वारी घोषणा भने गरेका छैनन् । जानकीलाल बस्नेत सोही अधिवेशनमा सभापतिका प्रत्यासी बनेर पनि निर्वाचन प्रक्रियाबाट अन्तिम चरणमा बाहिरिएका नेता हुन् । पार्टीले उनलाई प्रदेशसभा सदस्यको पनि उम्मेद्वार बनायो तर विजयी बन्न सकेनन् ।

वर्तमान जिल्ला कार्यसमितिका सचिव शंकर डाँगी पनि आसन्न १४औँ अधिवेशनमा जिल्ला सभापतिका प्रत्यासी बन्नसक्ने उनका निकट नेता कार्यकर्ताहरुको अभिव्यक्ति छ । यद्यपि उनले आफ्नो उम्मेद्वारी भने सार्वजनिक गरिसकेका छैनन् । युवाहरुको रोजाइका नेताका रूपमा लिइन्छ शंकर डाँगीलाई ।

केन्द्रमा कस्तो समीकरण बन्छ, त्यसपछि हेरौँला भन्ने पर्खाइमा छन्, यिनीहरू । खासमा अहिले चर्चामा रहेका धेरै नेताहरु दाङ जिल्लाका लोकप्रिय नेता खुमबहादुर खड्काको लिगेसीका नेताहरुका रुपमा चिनिन्छन्, अर्थात् संस्थापन पक्षका नेताका रूपमा । केही भने संस्थापन पक्ष इतरका नेताका रूपमा पनि चिनिन्छन् । खुमबहादुरको अवसान हुनु अघि उनको चाहनाअनुसार जिल्ला नेतृत्वमा टिकट पाउने अभ्यास पनि हुन्थ्यो । किनकि उनी दाङ कांग्रेसको राजनीतिका अभिभावकका रूपमा मानिन्थे । अब दाङ कांग्रेसको अभिभावकका रूपमा केन्द्रीय सदस्य दीपक गिरी बन्नुपर्ने धेरै कांग्रेस नेता कार्यकर्ताहरुको आवाज पनि छ ।

यो अवस्थामा कसलाई उम्मेद्वार बनाएर दाङ कांग्रेसलाई सहज रुपमा लिड गर्न सकिने छ भन्नेमा केन्द्रीय सदस्य दीपक गिरीको पनि महत्वपूर्ण भूमिका रहनेछ । जित्नेलाई टिकट दिलाउनका लागि भन्ने पनि कांग्रेसजनहरूको बुझाइ छ । चर्चामा रहेका यी नामहरुमध्ये अन्तिममा क–कसले निर्वाचन प्रक्रियामा जाने हुन्, त्यो भने हेर्न बाँकी रहेको छ ।

यसैगरी हालका क्षेत्रीय सभापति भूपबहादुर डाँगीले पनि एउटा सार्वजनिक कार्यक्रममै आफू जिल्ला सभापतिका प्रत्यासीका रूपमा उम्मेद्वार बन्ने उद्घोष गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*