काठमाडौँ — मंगलबार रातिबाट पृथ्वी नजिकै आउने भनिएको छुद्र ग्रह (एस्टोरोइड) देखि आत्तिइहाल्नुपर्ने अवस्था नरहेको नासाले जनाएको छ। नासाका प्लानेटरी डिफेन्स अफिसर लिन्डी जोनशनले नासा टीभीको लाइभ कार्यक्रममा सोधिएको प्रश्नमा अप्रिल २९ मा पृथ्वीको नजिक आउने उक्त छुद्र ग्रहबाट कुनै खतरा नरहेको बताएका हुन्।
‘१९९८–ओआर–२’ नाम गरेको उक्त छुद्र ग्रहलाई नासाले २० वर्षदेखि ट्र्याक गर्दै आइरहेको नासाका जेट प्रपलसन ल्याबोरोटरीस्थित सेन्टर फर नियर अर्थ अब्जेक्ट स्टडिज (सिनियोस) का निर्देशक पल्स चोडसले उल्लेख गरेका छन्।
नासाका अनुसार यो छुद्र ग्रहको चौडाइ २ देखि ३ किलोमिटर र १ देखि २ माइल लम्बाइ रहेको छ। पृथ्वी नजिक आउने आकाशीय पिण्डहरुमध्ये केही ठूलो भएकाले यसलाई नासाले ट्र्याक गरेको जनाइएको छ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले सोमबार एक विज्ञप्ति जारी गर्दै यो छुद्र ग्रहबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएको छ। नासोको अनुसार छुद्र ग्रह पृथ्वीभन्दा ६२ लाख ८२ हजार किलोमिटर टाढा रहनेछ। यो दुरी चन्द्रमा र पृथ्वीबीचको दुरीभन्दा १६ गुणाले टाढा हो। पृथ्वी र चन्द्रामा बीचको दुरी ३ लाख ८४ हजार किलोमिटर छ।
प्राध्यापक एवं कस्मोलोजिस्ट उदयराज खनालले यो ग्रह धेरै टाढा भएकाले पृथ्वीमा आउने कुनै सम्भावना नरहेको बताए। पृथ्वीमा अन्यत्रबाट धुलो, कण तथा आकाशीय पिण्ड खस्ने गरेको उनको भनाइ छ।
अन्तरिक्ष विज्ञानमा विद्यावारिधि गरेका त्रिभुवन विश्वविद्यालय केन्द्रीय भौतिक विज्ञान विभागका प्रमुख विपीन अर्यालका अनुसार यो छुद्र ग्रह अन्य छुद्र ग्रहको तुलानामा ठूलो हो। ‘ठूलो भए पनि पृथ्वी र चन्द्रामाबीचको दूरीभन्दा धेरै गुणा टाढा हुने भएकाले खतरा छैन,’ उनले भने।
के हो छुद्र ग्रह ?
प्राध्यापक अर्यालका अनुसार ग्रह बन्न नसकेका आकाशीय पिण्डहरुलाई छुद्र ग्रहको रुपमा लिने गरिन्छ। सौर्य मण्डलमा धेरै आकाशीय पिण्ड रहेको र तिनले पनि सूर्यलाई परिक्रमा गर्ने गरेको अर्यालले बताए। छुद्र ग्रहलाई आकारको आधारमा विभिन्न भागमा विभाजन गरिएको छ। अन्तरिक्षमा ५ सय किलोमिटरभन्दा ठूलो आकार भएका छुद्र ग्रह ३ वटा रेकर्ड गरिएको छ।

यस्तै सय किलोमिटर भएका करिब २ सय वटा, ५ किलोमिटरसम्मका ९० हजार, ३ किलोमिटरसम्मका २ लाखभन्दा बढी छुद्र ग्रह सौर्य मण्डलमा घुमिरहेको उनले बताए। ‘मंगल ग्रहदेखि र बृहस्पतिसम्मको खाली भागमा सूर्यलाई परिक्रमा गर्ने धुलो, कण, छुद्र ग्रह, ढुंगा लगायतका वस्तु धेरै छन्,’ प्राध्यापक उदयराज खनाल भन्छन्, ‘ती वस्तुलाई अन्य ठूला आकाशीय पिण्ड (ग्रह, सूर्य) ले पनि आफूतिर तान्ने गरेकाले गुरुत्वाकर्षणका कारण घुमिरहेका छन्।’ त्यस्ता आकाशीय पिण्ड नै पृथ्वीमा नियमित रुपमा खस्ने गरेको अर्यालले बताए।
पृथ्वीमा खसे कति हानिकारक?
पृथ्वीमा दैनिक रुपमा आकाशीय पिण्डहरु खस्ने गरेको वैज्ञानिकहरु बताउँछन्। १ दशमलव ४ किलोमिटरसम्म छुद्र ग्रह/आकाशीय पिण्ड पृथ्वीको सतहमा खसे धेरै नै क्षति हुन्छ। यस्ता पिण्डबाट उत्पन्न हुने ऊर्जाले समग्र पृथ्वी र यहाँ भएका जैविक प्रणालीलाई प्रभाव पर्ने प्राध्यापक अर्यालले बताए। अहिलेसम्म ठूला छुद्र ग्रह पृथ्वीमा ५ लाख वर्षको अन्तरालमा खस्ने गरेको अध्ययनले देखाएको उनले जानकारी दिए।
RaptiSandesh RaptiSandesh