Home / Feature Breaking news / मुलुकको प्रमुख समस्या अस्थिरता हो- मुख्यमन्त्री गिरी

मुलुकको प्रमुख समस्या अस्थिरता हो- मुख्यमन्त्री गिरी

दाङ, १९ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुलुकको प्रमुख समस्या राजनीतिक अस्थिरता नै भएको बताउनुभएको छ । एनटिभी कोहोलपुरको ३८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘मुलुकको प्रमुख समस्या राजनीतिक अस्थिरता हो । अस्थिरको अन्त्य नहुँदासम्म मुलुकको समृद्धि सम्भव छैन । समृद्धिको मुख्य आधार राजनीतिक स्थायित्व हो ।’
पटक–पटक सरकार परिवर्तन हुँदा जन आकांक्षा पुरा हुन नसकेको बताउँदै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘३० वर्षमा २८ वटा सरकार निर्माण भए । जसले जन आकांक्षा अनुसार काम गर्न सकेनन् । जसबाट अस्थिरता निम्त्याउने काम भयो । मुलुकलाई अस्थिरताबाट कसरी जोगाउने ? यसतर्फ सबैले गम्भिर भएर सोच्नु पर्दछ ।’

लुम्बिनी प्रदेशलाई मिनी नेपालका रुपमा विकास गर्ने तयारीका साथ प्रदेश सरकार अगाडि बढेको भन्दै मुख्यमन्त्री गिरीले पाँचवर्षमा राप्ती उपत्यका देउखुरीमा व्यवस्थित राजधानी निर्माण गर्ने बताउनुभयो । ‘राजधानीको निर्णय कार्यान्वयन गर्दै छौं । नयाँ स्थानमा पूर्वाधारको अभावका बीचबाट कार्यसम्पादन गरिरहेका छौं’, मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘लुम्बिनी प्रदेशलाई मिनी नेपालका रुपमा विकास गर्ने तयारीमा छौं । पाँचवर्षभित्र राजधानी स्थल राप्ती उपत्यका देउखुरीमा व्यवस्थित राजधानी निर्माणको काम सम्पन्न गर्छौं ।’

राज्यको चौथो अंगका रुपमा स्थापित सञ्चार जगतले राज्यको सहयोगी भूमिका निर्वाह गर्नुपर्ने भन्दै मुख्यमन्त्री गिरीले निरन्तर रचनात्मक सुझाव र खबरदारी गर्न सञ्चार माध्यमलाई आग्रह गर्नुभयो । ‘मुलुकलाई व्यवस्थित गर्न प्रेस जगत जिम्मेवार बन्नुपर्दछ । सरकारलाई रचनात्मक सुझाव र खबरदारी प्रदान गर्नुपर्दछ’, मुख्यमन्त्री गिरीले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*