Home / Feature Breaking news / ‘गुराँस गार्डेन’मै फुलेन गुराँस

‘गुराँस गार्डेन’मै फुलेन गुराँस

लिलाधर वली

होलेरी रोल्पा, ९ वैशाख । जलवायु परिवर्तन कारण यसवर्ष बसन्त ऋतुको आगमनसँगै रातै देखिने रोल्पाको धार्मिक तथा पर्यटकीय क्षेत्रको गढीलेख तथा खम्वास गुराँस गार्डेन यो पटक गुराँस फुल्न सकेको छैन । प्राकृतिक फूल गुराँस फूल्न नपाएपछि बसन्त ऋतुको आभाषसमेत हुन सकेको छैन ।

रोल्पाको गढीलेख तथा खम्वास क्षेत्रमा फुल्ने गुराँसका कारण हरेक बर्ष चर्चामा आउने गरेको थियो । गुराँस फुलेर रमणीयस्थल बन्ने अहिलेको समय भए पनि यस वर्ष लालीगुराँस फुल्ने मौसम सुरु भए पनि नफुल्दा प्राकृतिक सुन्दरता नै नदेखिएको स्थानीय बताउँछन् । गुराँस संरक्षण क्षेत्रमा रहेका जंगलहरुमा फुलेका गुराँससँग रमाउन र फोटो खिचाउन जाने आन्तरिक तथा बाह्य पर्यटकले होलेरीमा चहल–पहल बढ्ने गरे पनि यो बर्ष चहलपहल नै हुन सकेको छैन ।

रुन्टीगढी गाउँपालिका स्वर्गद्वारी महाप्रभुको जन्मस्थल भएकाले पनि गढीलेख धार्मिक तथा पर्यटकीय महत्वसँग जोडिएको क्षेत्रमा यतिबेला गुराँस फुलेर राताम्मै हुने गर्दथ्यो तर यो बर्ष लामो खडेरीका कारण नफुलेको स्थानीय पूर्णबहादुर घर्तीमगरले बताए ।

प्रत्येक वर्ष लालीगुराँस फुलेर पहाडै रातो हुने भएकाले रोल्पाको खम्वास र गढीलेख क्षेत्रलाई गुराँस गार्डेनसमेत भन्ने गरिएको छ तर गुराँस गार्डेनमै यो वर्ष गुराँस फुल्न नसकेको उनले बताए । गुराँस नफुल्नुको मुख्य कारण यो बर्ष असोजदेखि यता पानी नपर्नु रहेको उनको अनुमान छ । लामो समय पानी नपर्दा पहाड सुख्खा भएका कारण फुल्न लागेका गुराँसका फूलहरु कोपिलामै झरेको घर्तीमगरले बताए । ‘खम्वासको जंगल होस् या गढीलेख पहाड होस् आजभोलि गुराँस फुलेर रातै देखिने गरेको हुन्थ्यो ।

त्यही सौन्दर्य हेर्नका लागि यो समय दाङबाट समेत मानिसहरु होलेरी आउने गर्दथे’, उनले भने– ‘तर यो बर्ष अहिलेसम्म पानी नपरेका कारण गुराँस राम्रोसँग फुल्नै पाइन ।’ उनले रुखमा स–साना कोपिलाहरु देखिए पनि फक्रन नपाउँदै झरेको बताए । उनले अघिल्ला बर्षहरुमा यो क्षेत्रमा गुराँस माघ महिनादेखि नै फुल्न सुरु गर्ने र वैशाखको अन्तिमसम्म फुलिरहने गरेको बताए ।

‘गुराँस संरक्षित क्षेत्रमा फुल्ने समय माघदेखि फागुनको अन्तिमसम्म भनिएको छ तर यो ठाउँमा वैशाखमा पनि फुल्ने गरेको थियो’, उनले भने– ‘तर यो बर्ष माघ–फागुन महिनामै पनि गुराँस फुल्न सकेन ।’ उनले यसको मुख्य कारण लामो समयसम्म भएको खडेरी भएको बताए । प्रत्येक वर्ष घर नजिकैको पहाडमा फुल्ने गुराँस नफुल्दा नराम्रो लागेको उनी बताउँछन् ।

रोल्पाको गुराँस गार्डेन क्षेत्रमा गुराँस नफुलेपछि यो वर्ष घुम्नै मानिस नआएको रोल्पा सखीका सुरेन्द्र नेपालीले बताए । चैत तथा वैशाखमा फुल्ने गुराँस हेर्नेसँगै घुमफिरका लागि मानिसहरु आउने गरे पनि यो बर्ष गुराँस नफुल्दा पर्यटकहरु नआएको उनी बताउँछन् । ‘गुराँसै गुराँसले भरिएको पहाड भएकाले खम्वास र गढीलेखलाई गुराँस संरक्षण क्षेत्र भनिने गरिएको छ’, नेपालीले भने– ‘तर यसबर्ष खडेरीका कारण संरक्षित क्षेत्रमै गुराँस फल्न सकेन ।’

जलवायु परिवर्तनका कारण पानी नपर्दा उनले गुराँस नफुल्नका साथै यसबर्ष काफलको उत्पादनसमेत घटेको बताए । ‘समय–समयमा पानी परेको भए अहिले गुराँस फुलेर पहाडै रातो देखिने समय हो तर पानी नपर्दा वनमा कतै पनि गुराँस फुलेको देखिँदैन’, उनले भने– ‘जसले गर्दा गुराँस संरक्षण क्षेत्र बोर्डमा लेखिएको भए पनि गुराँसको फूल नै देखिँदैन ।’

गढीलेख पर्यटन सम्पर्क व्यक्ति ऋषिराम श्रेष्ठका अनुसार लामो खडेरीका कारण यसबर्ष रोल्पाको रुन्टीगढी गाउँपालिकाको सखी सामुदायिक वन क्षेत्र, जसपुर सामुदायिक वन समूहको क्षेत्र र खम्वास क्षेत्रमा गुराँस नफुलेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*