Home / Feature Breaking news / घरमा आम्दानीको श्रोत लोकल कुखुरापालन

घरमा आम्दानीको श्रोत लोकल कुखुरापालन

शिवराज खनाल

दाङ,८ चैत । मासुका लागि लेयर्स, ब्रोइलरलगायत विभिन्न जातका विकासे प्रजातिका कुखुराको प्रचलन बढी रहेका बेला देउखुरीका किसानहरु भने स्थानीय जातका कुखुरा पालनतर्फ आक्रसित देखिएका छन् ।

मासुका लागि पालिने विकासे प्रजातिको कुखुराहरुमा रोग लाग्ने र धेरै मर्ने भएपछि पछिल्लो समय दाङ देउखुरी क्षेत्रका किसानहरुले स्थानीय जातका कुखुराहरु पाल्न सुरु गरेका हुन् । विकासे कुखुरा भन्दा पाल्नका लागि सजिलो हुने, स्थानीय जातका कुखुरामा रोग पनि कम लाग्ने र बजारमा बिक्री गर्दा मुल्य पनि विकासे कुखुराको भन्दा राम्रो हुने भएका कारण लोकल कुखरा व्यवसाय सुरु गरेको किसान अमरबहादुर डाँगी बताउँछन् ।

बोइलरको तुलनामा लोकल पाल्न सहज भएको र आम्दानी समेत राम्रो हुने उनले बताए । ‘स्थानीय जातका कुखुरालाई खुल्ला छाडेर चराउदै पाल्न पाउने र दाना पनि घरकै खुवाएर पनि पाल्न सकिन्छ’–किसान डाँगीले भने–‘विकास कुखुरा भन्दा स्थानीय जातका लोकल कुखरा नै पाल्न ठिक ।’

डागीले लोकल कुखुरासँगै नयाँ प्रजातिका फाइटर कुखरा, लुइचे, कडकनाथ, उल्टे प्वाख भएका कुखरा, घाँटी खुइले र सागिनी जातका कुखुराहरु पाल्दै आएका छन् । विकासे जातका कुखुराहरुको तुलनामा लोकल कुखुराहरु पाल्नका धेरै सहज भएको उनी बताउँछन । उनले विकासे कुखुरालाई जस्तो बजारबाट दाना किनेर खुवाउनु नपर्ने, रेखदेख पनि बढी गर्नु नपर्ने भएकाले लगानी पनि धेरै गर्नु नपर्ने र लगानी डुब्ने खतरा पनि कम भएको समेत बताए ।

बजारमा लोकल प्रजातिको कुखुराको माग पनि धेरै भएकाले पाल्न सहज भएको बताए । व्यापारीहरुले घरबाट नै प्रति किलो चार सय पचास रुपैँयामा कुखुरा लाने गरेकाले बजारका लागि कुनै समस्या नभएको कुखुरा पालक किसानहरुको भनाइ छ । स्थानीय जातका कुखुराको मासु मात्र नभइ अण्डा पनि बजारमा सजिलै बिक्री हुने भएकाले किसानहरु स्थानीय जातका कुखुरा पालनतर्फ आकर्षित भएका हुन् ।

बधिया भालेको मूल्य ३५ सय देखि ५००० सम्ममा बिक्रीवितरण गर्ने गरेको र लोकल कुखुराको अण्डा प्रतिगोटा घरबाट नै २० देखि २५ रुपैँयामा सजिलै बिक्री हुने गरेको कुखुरा पालक डाँगीले बताए । दाङ देउखुरीका किसानले अहिले स्थानीय प्रजातिका आफुले पालेका कुखुराहरुलाई चराउने समेत गर्दछन । उनीहरुले अहिले कुखुरालाई आफ्नो बारी र बगैँचामा दिन भरी चराउने गर्दछन । उनीहरुले सो कुखुरालाई दिन भरी चराउने र बेलुकी पख खोरमा राख्ने गरेका छन् ।

लोकल कुखुरा भने मौसमका कारण नमर्ने भएका कारण पनि फाईदा हुने किसानहरु बताउछन । दाङ देउखुरीमा एउटै किसानले अहिले ४ कट्ठा जमिनमा स्थानीय जातका कुखुरा पाल्दै आएका छन । दाङ देउखुरी लगाएत नजिकका जिल्ला लोकल कुखुराको व्यावसायिक पालन बढदो छ । सरकारले यसतर्फ किसानलाई आकर्षन गर्न सके मनग्ये आम्दानी गर्न सक्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*