Home / Feature Breaking news / घोराहीमा न्यायिक समितिद्वारा ७२ मुद्दामा मिलापत्र

घोराहीमा न्यायिक समितिद्वारा ७२ मुद्दामा मिलापत्र

दाङ, ४ चैत । घोराही उपमहानगरपालिकाको न्यायिक समितिले चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा गरेको न्याय सम्पादनको अवस्था सार्वजनिक गरेको छ । बितेको ८ महिनाको अवधिमा न्यायिक समितिले दायर भएको उजुरीमध्ये ७२ वटा मुद्दाको मिलापत्र गरेको जनाएको छ ।

उपमहानगरको कानुनी मामिला शाखाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा गत आर्थिक वर्षको जिम्मेवारी सरेर आएका २५ वटा र नयाँ दर्ता भएका ४७ वटा गरी ७२ वटा मुद्दाको मिलापत्र गरेको जानकारी दिएको छ । चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा विभिन्न प्रकृतिका गरी ९८ वटा मुद्दाहरु दर्ता भएको प्रतिवेदनमा उल्लेख छ ।

सबैभन्दा बढी जग्गासम्बन्धी विवाद छन् । न्यायिक समिति संयोजक सीता सिग्देल न्यौपानेका अनुसार जग्गा विवाद र खाता रोक्काका ६१ वटा निबेदन दर्ता भएकोमा ५ वटा मुद्दा मिलापत्र भएको छ । उक्त जग्गा र खाता रोक्काअन्तर्गत जिम्मेवारी सरेका ९ वटा मुद्दाको पनि मिलापत्र भएको छ । जग्गा विवादका १२, मानाचामलका ८, लेनदेनका ८ वटा र घरेलु हिंसाका ३ वटा मुद्दा दर्ता भएका छन् ।

न्यायिक समितिका संयोजक न्यौपानेले अधिकांश मुद्दाहरु घरपरिवार भित्रकै विवादले सिर्जना गरेको बताइन् । घर–परिवारभित्र उत्पन्न हुने विवादका कारण जग्गा, खाता रोक्कासम्म पीडित पक्ष न्यायका लागि आएको उनको भनाइ थियो ।

उपमहानगरको न्यायिक समितिले २०७४÷०७५ देखि हालसम्म विभिन्न प्रकृतिका गरी दायर भएका ७ सय ३४ मुद्दामध्ये ५ सय ९० वटा मिलापत्र गराउन सफल भएको जनाएको छ । अब १४४ वटा मुद्दा प्रक्रियामा रहेकोमा तीमध्ये ८२ वटा मुद्दा जग्गासम्बन्धी रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*