Home / Feature Breaking news / पीडितले डिप्रेसनको औषधि खाएको बेला आरोप लगाएको भन्दै महरालाई सफाइ

पीडितले डिप्रेसनको औषधि खाएको बेला आरोप लगाएको भन्दै महरालाई सफाइ

काठमाठौ, ५ वैशाख

जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयास तथा शारिरिक हिंसाको मुद्दाबाट सफाइ दिँदा पीडितले डिप्रेसनको औषधि खाएका बेला आरोप लगाएको र होस्टाइल गरेको विषयलाई आधार बनाएको छ।

जिल्ला न्यायाधीश अम्बरराज न्यौपानेको इजलासले गएको फागुन ५ गरेको फैसलाको पूर्णपाठमा यसका साथै प्रमाणको अभाव भएको उल्लेख छ।

‘पीडितले बकपत्र गर्दा, ‘म डिप्रेसनको बिरामी भएकोले वारदात भएको भनिएको मिति/समयमा औषधि तथा मादकपदार्थ सेवन गरी बेहोस अवस्थामा थिएँ, त्यस्तो बेला कसलाई फोन गरी के के भनें थाहा भएन, प्रतिवादी डेराकोठामा आएको होइन’ भनी लेखाएले प्रतिवादी असोज १२ गते साँझ पीडित जाहेरवालाको डेराकोठामा गई रक्सी सेवन गरी हातपात गरी पीडित उपर जबरजस्ती करणीको उद्योग गरेका हुन् भनी बिनाआधार कसूर कायम गर्न मिल्ने देखिएन,’ फैसलामा भनिएको छ, ‘प्रमाणको अभावमा प्रतिवादी कृष्णबहादुर महराले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ।’

फैसलामा उल्लेख भएअनुसार पीडितको स्वास्थ्य परीक्षण गर्ने डाक्टर आहाना श्रेष्ठको बयानमा महराले आफूलाई मुक्का प्रहार गरेको औँलासमेत मर्काइदिएको तर यौन दुर्व्यवहार नगरेको कुरा पीडितले बताएको उल्लेख छ। पीडितले ८ वर्षदेखि डिप्रेसनको औषधि खाइरहेकाले मनोचिकित्सकलाई रिफर गरिएको पनि उनले अदालतसँग भनेकी छन्।

विशेषज्ञका यिनै बयानको आधारमा पीडितले डिप्रेसनको औषधिका भरमा आरोप लगाएको निष्कर्शमा अदालत पुगेको देखिन्छ।

सरकारी वकिलले पनि स्वास्थ्य जाँच गरेका डाक्टरसँग पिडितले दिएको बयानलाई बलियो प्रमाणकोरूपमा पेश गरेको थियो।

सरकारी वकिलको अभिपत्रमा डाक्टरहरूसँग पीडितले दिएको बयान यसरी उल्लेख गरिएको थियो- …र मलाई धेरैपटक अनुहारमा हिर्कायो। मैले उसको प्यान्ट पछि तान्दै पुलिसलाई भन्दिन्छु भनें त्यसपछि भने ऊ किचनको ढोकाबाट भाग्यो। मलाई यसो गर्दा ऊ रक्सी खाएर मातेको थियो।

सबभन्दा पहिले पीडितले प्रहरीलाई १००मा बोलाएर दिएको घटनाको विवरणलाई पनि सरकारी वकिलले बलियो प्रमाणको रूपमा मानेको थियो। त्यसलाई भने अदालतले पीडितले होस नभएका बेला भनेको भनेरै मानिदिएको छ।

सरकारी वकिलले पीडितको कोठामा भेटिएको चस्माको सिसा र डन्डीलाई दोस्रो प्रमाण मानेको थियो। त्यो महराले लगाउने चस्माको पावरसँग मिलेको भनिएको थियो। यसले महरा र पीडितले त्यो दिन उनी त्यहाँ गएकै होइनन् भन्ने कुरालाई खण्डन गर्ने अभियोगपत्रमा भनिएको थियो।

‘प्रतिवादीले  प्रयोग गरेको  चस्माको सिसा र डन्डी आइ केयर अप्टिक्समा जाँच गराउँदा प्राप्त भएको लेन्सको थप पावर ‌प्लस २.७५ भएको डी बाइफोकल र पत्रसाथ प्राप्त भएको लेन्सको थप पावर प्लस २.७५ भएको डी बाइफोकल भन्ने व्यहोरा उल्लेख भएबाट घटनास्थलमा भेटिएको चस्माको सिसा र चस्माको फ्रेमको डन्डी प्रतिवादीको नै हो भन्ने तथ्य स्थापित भएको छ,’ अभियोगपत्रमा थियो।

यसबारे अदालत केही बोलेको छैन। अदालतले भने पीडितको कोठामा भेटिएको गिलास र  चस्माको डन्डी परीक्षण गर्दा त्यसमा महराको औँठाछाप भिड्न नसकेको विशेषज्ञको भनाइलाई सफाइको आधार बनाइएको छ। बोतल र सिसाको ग्लासमा भेटिएका औंलाका छापहरूमा स्पष्ट  रेखा नदेखिएको ती पनि अपर्याप्त रहेकाले महराको औंठाछापसँग तुलनात्मक परीक्षण गर्न नसकिएको बयान विशेषज्ञ शिखरराज कुँवर र मैयादेवी दर्लामीले अदालतमा दिएका थिए।

पत्रकार अजयबाबु सिवाकोटीसँग पीडितले दिएको भिडिओ अन्तर्वार्ता समेतलाई न्यायाधीशले प्रमाणमा मानेका छैनन्।

महरासँगै पीडितको घर भएको टोलसम्म पुगेका सुरक्षाकर्मीको बयान, घटनाकै रात पीडितले फोन गरेर आफ्ना कुरा भनेकी सांसद उमा पाण्डेको बयानलाई अदालतले प्रमाण मानेको छैन। जसले असोज १२ गते साँझ  तत्कालीन सभामुख कृष्णबहादुर महरा पीडितको कोठामा गएको पुष्टि गर्थे।

‘स्वास्थ्य परीक्षण गर्ने टिमले दिएको बयानबाट पीडितका शरीरका अंगहरू अनुहार, हातलगायतमा चोट लागेको देखिएको थियो। प्रहरीसँग सबभन्दा पहिले दिएको बयान थियो। महराको चस्माको पावर मिलेको प्रमाण पनि थियो,’ अदालतको फैसलाबारे महान्यायाधीवक्ता कार्यालयका एक अधिकारीले भने, ‘यी कुरालाई प्रमाणमा लिएको भए बलात्कार गर्न खोज्दा  नमानेपछि शारिरिक हिंसा भएको भन्ने कुरा स्थापित हुन्थ्यो।’

असोज १२ गते साँझ तत्कालिन सभामुख तीनकुनेस्थित आफ्नो कोठामा रक्सी खाएर आएको,आफूमाथि बलात्कारको प्रयास गरेको नमान्दा पिटेको, प्रहरीलाई भनिदिन्छु भन्दा भागेको भिडिओ अन्तर्वार्ता घटनाको भोलिपल्टै सार्वजनिक भएको थियो। यसरी महरा भागेपछी आफूले १०० मा फोन गरेर प्रहरीलाई खबर गरेको प्रहरीले सबै विवरणहरू लेगेको उनले बताएकी थिइन्।

भिडिओ सार्वजनिक भएपछि सभामुखबाट महराले राजीनामा दिएका थिए। त्यसको केहीदिनपछि पीडितले प्रहरीमा लिखित जाहेरी दिइन्। त्यही जाहेरीका आधारमा महरालाई प्रहरीले सभामुख निवास बालुवाटारबाटै पक्राउ गरेको थियो।

सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*