Home / Feature Breaking news / प्रधानमन्त्रीसँग डाक्टर केसीले भनेः ‘सम्झौता तोडमोड गरे फेरि अनशन बस्छु’

प्रधानमन्त्रीसँग डाक्टर केसीले भनेः ‘सम्झौता तोडमोड गरे फेरि अनशन बस्छु’

प्रशन्न पोखरेल

काठमाडौं, २६ साउन

प्रधानमन्त्री केपी शर्मा ओली र डाक्टर गोविन्द केसीबीच शनिबार दिउँसो प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा पौने २ घण्टा वार्ता भएको छ।

चिकित्सा शिक्षा सुधारका लागि सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न ढिलाइ भएपछि डाक्टर केसीले प्रधानमन्त्रीलाई भेटेरै अनशन तोडेका बेला गरेका सम्झौता कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका हुन्।

‘सम्झौता तोडमोड गरेमा वा कार्यान्वयन नगरेमा १६ औं अनशन बस्छु’ प्रधानमन्त्रीसँगको वार्तामा डाक्टर केसीले भने, ‘सम्झौता हुबहु संसदबाट पारित गर्नुपर्छ।’

जवाफमा प्रधानमन्त्रीले डाक्टर केसीसँग गरिएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। ‘सम्झौता हुबहु संसदबाट पारित गर्छु’ वार्तामा सहभागी डा. केसीका सहयोगी डाक्टर अभिषेकराज सिंहले प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै सेतोपाटीसँग भने, ‘अनशन बसिराख्नु पर्दैन।’

१५ औं अनशन बसेका डाक्टर केसीलाई साउन १० गते अनशन तोडाउने बेला सरकारले काठमाडौं उपत्यकाभित्र १० वर्ष नयाँ मेडिकल कलेज नखोल्ने जस्ता ९ बुँदामा सम्झौता गरेको थियो।

उक्त सम्झौता भएको १६ दिन भइसक्दा पनि सरकारले कार्यान्वयन नगरेको भन्दै डाक्टर केसीले प्रधानमन्त्रीलाई भेटेका हुन्। केसीले राखेका माग हल गर्न कार्यदल नै बनाउने सरकारले बताए पनि काम सुरु गरेको छैन।

डाक्टर केसीले प्रधानमन्त्रीसँग सम्झौता कार्यान्वयनमा किन ढिलाइ? भन्ने जिज्ञासा राखेपछि जवाफमा प्रधानमन्त्रीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गर्ने बताए।

केसीका माग समाधान गर्न अहिलेसम्म भएका प्रगतिबारे प्रधानमन्त्रीले आज अपरान्ह ३ बजेपछि शिक्षामन्त्रीसँग छलफल गर्ने प्रतिबद्धता पनि जनाएको सिंहले जानकारी दिए।

डाक्टर केसीले माग पूरा नभए आफू पुन: अनशन बस्ने दोहोर्‍याएपछि प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा सुधारका लागि नेतृत्व लिन आग्रह गरेका थिए।

डाक्टर केसीले नेतृत्व लिनका लागि आफू अनशन बसेको नभई चिकित्सा शिक्षामा थिति बसाल्नु आफ्नो माग रहेको बताए। सरकारले चिकित्सा शिक्षा विधेयक संसदमा लगिसकेको छ। उक्त विधेयक पनि संशोधन गर्नु पर्ने डाक्टर केसीले बताउँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*