Home / Feature Breaking news / ‘संविधान बनाउने बाँचा पुरा गरे, अब दाङलाई प्रादेशीक राजधानी र विकास’ः राजु खनाल

‘संविधान बनाउने बाँचा पुरा गरे, अब दाङलाई प्रादेशीक राजधानी र विकास’ः राजु खनाल

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति निजिकिदैछ । दलहरु चुनावी घरदैलोमा छन् । विगतमा गरिएका कामको बयान र आगामी दिनमा गर्ने कामलाई नारामा ढालेर दलहरु चुनावी दौडमा लागेका छन् । यसै क्रममा प्रतिनिधिसभा सदस्य क्षेत्र नं. २ मा कांग्रेसतर्फका उम्मेदवार राजु खनाल पनि चुनावी मैदानमा छन् । निवर्तमान सांसद समेत रहेका खनाल यस क्षेत्रबाट २०७० सालमा अत्यधिक मतले विजयी भएका थिए । खनाल यस क्षेत्रका वलिया उमेद्वारको रुपमा खडा भएका छन् । खनालले आफू सांसद रहदा यस क्षेत्रमा उल्लेख्य विकास गरेकाले पनि उनी मतदाताहरुको रोजाईमा छन् । प्रस्तुत छ खनालसँग गरिएको कुराकानीको सारसंक्षेपः

१) निर्वाचन तयारी के छ ?
विशेषगरी गाँउघरमा जनताहरुसँग मत माग्न र आफना कुराहरु राख्नकालागि निर्वाचन क्षेत्र अन्तर्गतका विभिन्न स्थानहरुमा पुगिरहेको छु । गाँउगााउमा पुगेर मतदाताहरुलाई भेटेर उहाँहरुको समस्या बुझ्दै मत माग्न मै आजभोली व्यस्त छु ।

खासगरी २०७० को चुनावमा मैले जसरी जनतासंग प्रतिवद्धता गरेको थिए त्यो पुरा गरेको अवस्था छ । संविधानसभाबाट संविधान निर्माण गर्ने प्रतिवद्धताका साथ २०७० सालमा मत मागेको थिए । मतदाताहरुले त्यो बेलामा मलाई मत दिएर विजयी बनाउनुभयो । संविधान ल्याउने जिम्मेवारी सुम्पनुभयो । मैले त्यो पुरा गरे पनि । मलाई विश्वास मानेर र जनताले जिताएर पठाएपछि मैले संविधान बनाउने अभिभारा पुरा गरि फर्किएको छु । अव त्यसको कार्यान्वयनको बेला आएको छ । जसअनुरुप स्थानीय तहको निर्वाचन भइसक्यो भने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको हामी संघारमा आइपुगेको छ ।

संविधानले एक किसिमले राजनीतिक स्थायित्व कायम गर्नेछ । जनताको अधिकारको लडाइ सकियो अब देश विकासको लडाई गर्नेबेला आएको छ भन्ने कुरालाई हामीले नाराका रुपमा जनताको माझ लगेका छौ । अहिलेसम्म अधिकारकालागि लड्ने फेरि गुम्ने र त्यसको प्राप्तिको लडाई लड्नेमै समय वित्यो अब त्यो चरणबाट पार गरिसकेपछि समृद्धि र विकासकालागि हामी जुट्नुपर्ने बेला भएको छ । हाम्रो देश जलस्रोतको धनी देश भन्छौ तर भारतबाट विजुली ल्याएर बाल्नु परेको छ ।

तर हाम्रो देशको स्रोतलाई सदुपयोग गर्नसके विद्युतबाटै धनी हुनसक्छौ । यतिकुरा थाहा हुदाहुदै पनि हामी त्यसतर्फ जानसकेका छैनौ । त्यसको कारक भनेकै राजनीतिक अस्थिरता हो ।

तर अहिले राजनीति स्थिरतातिर जाँदैछ । यसलाई सदुपयोग गर्दै देशमा पुँजीको निर्माण गर्ने कुरालाई महत्वका साथ लिएका छौ । हामीले देशका निजिक्षेत्रलाई कसरी लगानीमा आकर्षित गर्ने भन्नेमा हामी छौ । त्यतिमात्रै होइन विदेशी लगानी पनि जुटाउनुपर्ने हुन्छ । लगानीको वातावरण बनाउने काम लोकतान्त्रिक व्यवस्थामा मात्रै हुन्छ । त्यो पुँजीको सुरक्षा लोकतन्त्र, प्रजातन्त्रमा विश्वास गर्ने नेपाली काँग्रेसले मात्र गर्न सक्छ भन्ने हाम्रो मान्यता हो ।

त्यसैले नेपाली काँग्रेसको नेतृत्वमा अव बन्ने सरकारले लगानीको वातावरण बनाएर लगानीकर्ताहरुलाई यहाँ ल्याएर यहाँका हाम्रा प्राकृतिक स्रोत र साधनहरु, जलविद्युतहरुलाई अधिकतम प्रयोग गरेर उद्योग धन्दा खोल्ने रोजगारी सिर्जना हुने र आर्थिक आयआर्जनको काममा देशलाई अगाडी बढाउन सकियो भनेदेखि हामीले दशवर्षमा धेरै उन्नति गर्न सक्छौ ।

त्यस्तै भौतिक पूर्वाधारको कुराहरु पनि छन । मान्छेहरुलाई सडक, पुल, खानेपानी, सिंचाईको सुविधा चाहिएको छ । कृषिलाई जिविकोपार्जनमात्रै होइन कृषि उद्योगकै रुपमा विकास गर्नुपर्छ । अहिले आयात गरेर चलिरहेको छ यसलाई निर्यात गर्नेसम्मको कृषि उत्पादनलाई बढावा दिने हाम्रो सोच छ । अर्कोकुरा कृषिलाई स्वरोजगारमुखि बनाउन जरुरी छ जसले जिविकोपार्जनकै लागि विदेशीनुपर्ने अवस्थाको अन्त्य गर्न सकिन्छ ।

राज्यले सामाजिक सुरक्षाको व्यवस्था गरेको छ त्यसकालागि पनि पुँजीको व्यवस्था गर्नुपर्छ विकाकालागि पनि पुजीको व्यवस्था गर्नुपर्छ पुँजीको विकास गर्न लगानीको वातावरण बन्नुपर्छ लगानीको वातावरण बनाउन नेपाली काँग्रेसले नेतृत्व गर्नुपर्छ भन्ने कुरालाई हामीले जनतामा लगेर चुनावी कार्यक्रम गरिरहेको अवस्था छ ।

२) जनताको भनाई के छ त ?

विशेषगरी जनताको चाहना सडक राम्रो भइदियोस, पुल चाहियो, विद्युत चाहियो, गाउघरमा सिंचाईको व्यवस्था गरिदिए हुन्थ्यो भन्ने छ । त्यस्तै खानेपानीको सुविधाको कुरा, कैयौं ठाउमा खहरे खोलाहरु छन् त्यसले गरेको कटान रोक्ने कुरा पनि जनताले सुनाउनुभएको छ ।

कतिपय ठाउमा रोजगारीको कुरालाई जनताले सुनाएका छन । छिटो भन्दा छिटो पुरा गरिदिए हुन्थ्यो भन्ने नै वढि जनताको जोड छ । उहाँहरुले अब विकास आफ्नो गाँउमा हुनुपर्छ भन्ने धारणा छ ।

३) आप्mना राम्रा कुरा भन्दा अर्कालाई नराम्रो देखाएर भोट माग्दैछ काँग्रेस हो ?

कुन विषयलाई लिएर यस्तो भनियो त्यो त मलाई थाहा भएन । तर अहिलेको कम्युनिष्ट गठवन्धनका विषयमा हो भने त्यो कुराको पुष्टि आफै गर्दै हिड्नु भएको छ ।

हिजो हाम्रो कुरा के थियो भने चाहे त्यो बाह्रवुदे सहमतिको कुरा भनौ चाहे एमाले एउटा लोकतान्त्रिक धारमा आएको कुरा गर्नुस् हामीले के सोचेका थियौं भने काँग्रेसको लक्ष र बाह्रवुदेमध्य एउटा बुदा हेर्नुभयो भने बहुदलिय प्रतिष्पर्धाकै माध्यमबाट देश विकासमा जाने कुरा छ ।

त्यही लक्ष अन्तर्गत शान्ति संझौता पनि भयो र शान्तिपूर्ण आन्दोलनबाट हामी अगाडि बढ्यौं । तर उहाँहरुले बाम एक ठाउमा हुदा काँग्रेस तर्सियो, बढारियो भन्ने हिसावले जुन अभिव्यक्ति दिइरनुभएको छ यसबाट काँग्रेस तर्सिने कुरै छैन । किनकी काँग्रेसले त बाम एक हौ भन्ने पार्टी हो । तपाईलाई म स्मरण गराउ ०४६ सालको आन्दोलन गर्ने वेलामा कम्युनिष्टहरु धेरै थिए र काँग्रेसले के भन्यो भने यति धेरै कम्युनिष्टहरुसंग हामी वार्ता गर्न सक्दैनौ तपाईहरु एक हुनुस भन्यो र बाममोर्चा बनाएर ल्याउने अवस्था सिर्जना गर्ने नै काँग्रेस हो । हामी त एक होस भन्ने चाहन्छौ । अहिले पनि थ्रेस होल्डकालागि लडेकै हौ ।

हामीलाई त कमभन्दा कम पार्टी भएको राम्रो हुन्छ । तर त्यो पार्टीको लक्ष के हो त ? आशंका त्यहाँनेर हो । हामीले त एमाले काँग्रेस जस्तै हो भन्ने मानेका थियौ र माओवादी पनि विस्तारै काँग्रेसकै बाटोमा आइसकेको थियो । काँग्रेसले लिएको उदार नीतिलाई एमाले र माओवादीले सरकार चलाउने बेला मानेकै थिए । त्यसो हुदा सबै दलहरु लोकतान्त्रिक दल भए नाम जेसुकै भएपनि काम लोकतान्त्रिक नै हो भन्ने लागेको थियो । तर उहाँहरुले भोली कम्युनिष्ट शासनको कुरा गर्दै हुनुहुन्छ त्यसले आशंका जन्मायो त्यो त उहाँहरुकै अभिव्यक्तिका कारणले हामीले आशंका गर्नु परेको हो । उहाँहरुले प्रष्ट पार्न जरुरी छ ।

प्रेसकै कुरा गर्दा विगतमा कि प्रशासनबाट कि माओवादीबाट पीडित हुनु परेको हो नी, काँग्रेसको आलोचना गर्दा पनि किन काँग्रेसले सहेर बस्यो भन्दा काँग्रेस लोकतान्त्रिक शक्ति हो । हामी लोकतन्त्रमा विश्वास गर्छौ र लोकतन्त्रमा मात्रै चाहे अभिव्यक्ति स्वतन्त्रताका कुरा गर्नुस चाहे त्यो प्रेस स्वतन्त्रताका कुरा गर्नुस चाहे निजी सम्पत्तिको सुरक्षा कुरा गर्नुस यी हरेक स्वतन्त्रता लोकतन्त्रमा मात्रै सम्भव छ । त्यसलेमात्रै देशको विकास हुन्छ भन्ने हामीलाई लागेको छ । त्यसकारण बाम दलहरुवीच एकता हुदा हामीलाई अप्ठेरो छैन ।

हारजीतको कुरा स्वभाविक हो । हिजो गिरीजा प्रसाद कोइरालालाई पनि थाहा थियो हामी चुनाव हार्दैछौ भन्ने हामीले भन्थ्यौ जनमुक्ति सेनाहरु चुनावी कार्यक्रममा हिडिरहेका छन तर उहाँलाई काँग्रेसले यो पटक चुनाव हार्छ भन्ने थाहा पाएर पनि देशले , जनताले जित्छ भने काँग्रेसले हार्दैमा केही हुदै भन्नुहुन्थ्यो । देश र जनतालाई जिताउने राजनीति भन्या काँग्रेसको राजनीति हो भनेर गिरीजाप्रसादले भन्नुहुन्थ्यो देशभर भोट माग्न जानु भएन तत्कालिन काँग्रेसको सभापति ।

किनभने देश र जनताले जिते भने सत्ता भन्या भोली आउछ भन्ने काँग्रेसको मान्यता हो हुन पनि ०७० मा पालो आयो पनि । त्यसले गर्दाखेरी हाम्रो चाहना के हो भने लोकतन्त्रमा सत्ता परिवर्तन हुने, कुनै पार्टीले कहिले जित्ने हारजीत भन्ने कुरा स्वभाविक प्रक्रिया हो । तर आशंका त्यहीनेर छ कि हामी यो लक्षमा पुग्छौ भन्ने जुन कुरा ल्याउनुभयो त्यसले हामीलाई आशंका जन्माएको कुरामात्रै हो ।

४) शंकाकै भर अधिनायकवाद ल्याउदैछन कम्युनिष्टले भन्नु भएको हो उसो भए ?

त्यो त उहाँहरुकै अभिव्यक्तिमा आएका कुरा हुन् । कम्युनिष्टहरुको अन्तिम लक्ष भनेको कम्युनिष्ट शासन हो भनेपछि हामीलाई शंका लागेको हो । किनभने उहाँहरुले नै अब अरु सबै दलहरु सिद्धिएर जान्छन भन्नु भएको छ ।

त्यो पनि अधिनायकवादी सोंच हो । जवसम्म सशक्त प्रतिपक्ष हुदैन लोकतन्त्र बलियो हुन सक्दैन । त्यसको गुण हो । त्यसले गर्दाखेरी हामीले कसैलाई होच्याउने कुरै छैन । हामीले त दलहरु एक भएर आउनुपर्छ भनेका छौ । तर लोकतान्त्रिक बाटोमा हिड्नुपर्छ भन्ने एकमात्र सोच हो लक्ष पनि हो ।

५) दाङको विकासकालागि तपाईका एजेण्डा के छन् ?
नेपाली काँग्रेसको मुख्य एजेण्डा र मेरो पनि मुख्य एजेण्डा भनेको दाङलाई प्रादेशिक राजधानी बनाउनेमा हामी निरन्तर रुपमा लागेका छौ र हामी यो अभियानबारे काँग्रेसको केन्द्रीय नेतृत्वलाई पनि कन्भिन्स गरेका छौ । उहाँहरु पनि सहमत हुनुहुन्छ । त्यसकै आधारका रुपमा केही इकाईहरु दाङमा सुरुवात पनि भएका छन ।

त्यस्तै राजधानीकालागि आवश्यक पूर्वाधार के हुन त ? त्यतातिर पनि सोच्नुपर्ने भएको छ । त्यसैकारणले मैले हिजोका दिनमा केही काम पनि गरेको छु । पहिलो कुरा राप्ती उपक्षेत्रीय अस्पताल लेखिएपनि त्यो ५० बेडको मात्रै थियो, साथिहरुले गुनासो सुनाउनुभयो मैले निर्वाचित भएको पहिलो काम उपक्षेत्रीय अस्पतालाई १ सय बेडको बनाए र दरवन्दी पनि थपियो ।

त्यसैलाई टेकेर सुशील कोइराला प्रधानमन्त्री भएको बेलामा यसलाई मेडिकल कलेजको रुपमा विकास गरेका थियौं यसले पनि दाङलाई राजधानी बन्ने आधार स्थापित गरेको छ । अर्को कुरा यहाँ सिमेन्ट कारखानाहरु छन यहाँका सडकहरु चौडा नभएर दुर्घटना भइरहने थियो । त्यस्तै दाङका सवैखोलामा कजवे भएको त्यहाँ पुल नभएर समस्या भएको हुनाले पहिलो काम यो कटुवाखोलाको पुलदेखि लिएर रतनपुरसम्मको सडक फोरलेन गर्ने भनेर योजना ल्याइएको हो ।

हुन त त्यो ठेकेदारको लापरवाहीले त्यो काम ढिलो भएको छ । तर योजना मैले ल्याएको हुँ । सांसदको भूमिका योजना ल्याउने हो कार्यान्वयन गर्ने निकाय भनेको सडक विभाग, मन्त्रालय पनि छ ।

६) तर त्यही पुल र सडक बनाएन भन्दै टिकाटिप्पणी भइरहेको छ ?
मलाई त्यहीनेर दुख लागेको छ । अझ त्यो आरोप सामान्य जनताले लगाएको भए मलाई त्यति दुख लाग्दैनथ्यो होला किनकी उसले नबुझेर भन्यो भनेर चित्त बुझाउने अवस्था पनि आउथ्यो तर जसले बुझेको छ त्यही लेबलमा बसेर काम गर्दै आउनु भएको छ उहाँहरुले नै चर्को स्वरमा म माथि आरोप लगाइरहनु भएको छ । अझ काँग्रेसले अर्कालाई नराम्रो भन्दै प्रचार ग¥यो भन्ने पनि थप्नु भएको छ । म अचम्ममा परेको छु । बरु मैले भन्नु पर्ने भयो कि अरुलाई नराम्रो भनेर भोट आकर्षित गर्ने काम गलत हो ।

जहाँसम्म कटुवाखोलाको पुल र बाटोको कुरा छ मैले योजना ल्याएको हुँ । तर कार्यान्वयन गर्ने पक्ष म होइन । यो त सरकारी निकायले गर्नुपर्छ । सरकारमा को को बस्नु भएको छ सवैलाई थाहा छ । तर मेरो भूमिका काम छिटो छरितो गर्नकालागि दवाव सिर्जना गर्ने हो मैले गरिरहेको छु । कारवाही गरेर हुन्छ कि के गरेर हुन्छ काम छिटो हुनुपर्छ भन्दै पनि आइरहेको छु ।

मलै प्रश्न गर्न चाहन्छु यो क्षेत्रमा म मात्रै सांसद होइन, अरु पनि हुनु भएको छ कमसेकम मैले योजना त ल्याए काममा ढिलाई भयो भन्ने कुरा त देशव्यापी रुपमै समस्याको विषय हो । दाङकै पुरन्धारा सुर्खेत सडक अहिले पनि अलपत्र छ । समस्या जताततै छन । कमजोरी नियम कानूनमा छ । मलाई गर्व के छ भने घोराहीमा फोरलेन सडक ल्याएर आए, कटुवाखोलामा मात्रै होइन धेरै खोलामा पुलको योजना हालेको छु । अहिले सडक विस्तार हुदा धुलो उड्यो भनिरहनु भएको छ । हो स्वास्थ्यमा समस्या हुन्छ त्यसले तर ४२ मिटरको सडक विस्तार गर्न लाग्दा यहाँका घरहरु सबै फालिने अवस्था आएको थियो ।

तर मैले सडक छेउ घरभएकाहरुसंग मिटिङ राखेर यसलाई मैले ३० मिटरमा कायम गरेर बाटो पनि हुने र घर पनि जोगाउने काम गरेको छु । वाइपास पनि निकाल्ने सहमति भएको थियो । यसरी काम गर्दा पनि उहाँहरुले ममाथि आरोप लगाउने हो भने ४२ मिटर सडक विस्तार गर्ने र घर काटिने दिन आउन सक्छन । त्यसैले मान्छेले गरेका गुणहरुलाई कामहरुलाई प्रशंसा गर्नुपर्छ जसले गरे पनि । अलि काममा ढिलाई भएको छ सवैले ताकेता गरौ, छिटो गरौं । यस्तै धारपानी जाने सडक, फुर्सेखालीबाट हात्तिखर्क जाने सडक यावत काम पनि गरिएको छ । जसले दुर्गम क्षेत्रलाई घोराहीसंग जोडने काम गरिएकै छ त । खानेपानी, सिंचाई, सडक, तटवन्धका काम भएका छन । संविधान निर्माण गर्ने अभिभारा हुदाहुदै पनि जनताका थुप्रै काम पनि गरिएको छ ।

ठेक्का प्रणालिलाई सुधार नगर्ने हो भने देश विकास गर्न सकिदैन । मेरो आग्रह के छ भने काम गर्दा जसको ठाउमा दोष थुपार्ने काम कतैबाट नहोस । दाङलाई प्रदेशको राजधानी बनाउन पूर्वाधारका रुपमा टरिगाउको एयरपोट सञ्चालन र सम्भव नभएर नारायणपुरमा पनि विमानस्थल निर्माणकालागि सर्भे गरिएको छ ।

७) सरकारमा तपाईहरु नै हुनुहुन्छ दाङलाई प्रदेशको स्थायी केन्द्र तोक्ने कस्ले छेक्यो ?
अस्थायी केन्द्र तोक्नकालागि हामीले पनि दवाव दिइरहेका छौ । केही प्राविधिक कारण पनि होला नत्र भने यो करिव फाइनल भएको कुरा हो । अव तोकियो भने दाङ नै तोकिन्छ । त्यसमा ढुक्क भएर बस्नुस । अन्यत्र तोकिदैछ भन्ने हल्ला मात्रै हो । हामी पनि सम्पर्कमै छौ नेताहरुसंग ।

८) मतदाताहरुलाई भन्न छुट्यो कि ?

म यही ठाउको हुँ । मलाई ०७० विजय बनाएर पठाउनु भयो । जुन अपेक्षका साथ म चुनिएर गए आज अपेक्षा पुरा भएको छ । म जनताको समस्यासंगै छु । जनताको सुखदुखमा संगै छु । जसरी मलाई हिजो माया गर्नुभयो, अव पनि त्यहीरुपमा लिएर मतदान गर्नुहुनेछ भन्ने अपेक्षासहित म लगायत नेपाली कांग्रेसका सम्पूर्ण उमेद्वारहरुलाई मत दिएर विजयी बनाउन सम्पूर्ण मतदाताहरुमा अनुरोध गर्न चाहनछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*