Home / Feature Breaking news / दाङमै रोजी रोजी शिक्षाः ‘हाम्रा कलेज, राम्रा कलेज’

दाङमै रोजी रोजी शिक्षाः ‘हाम्रा कलेज, राम्रा कलेज’

विजय जी.एम.
देशको विभिन्न भागबाट दाङ्गमा बसाई सरेर आउने दर अत्याधिक रहेको छ । सामाजिक विविधतामा एकता भएको जिल्लाको रुपमा पनि दाङ्गले पहिचान बनाएको छ । देशको राजनीतिमा आएको परिवर्तनसँगैै शिक्षा क्षेत्रमा पनि परिवर्तन भएको छ ।

समग्रमा भन्नुपर्दा नो मोर गो टु लर्न… । अर्थात रोजाइको शिक्षा यहीँ सहज बन्दै छ । दैलोको खानाले दैलोमै शिक्षा । शिक्षा ऐन आठौं संशोधन भएको छ । शिक्षाको संरचना परिवर्तन भएको छ । दाङ्गले शिक्षा क्षेत्रमा फड्को मार्दै छ । राजनीतिक परिवर्तन र स्थायित्वसँगै शिक्षाको विकास र प्रक्रिया जोडिएको हुन्छ । शिक्षा क्षेत्रमा दाङले हासिल गरेको उपलब्धिले गर्दा दाङ्ग प्रदेश नं. ५ को राजधानी बन्नको लागि थप आधारसहित उभिन सकेको छ ।

कुनैबेला थियो विद्यार्थीहरु अध्ययनको लागि देशका विभिन्न ठाउँमा पुग्नु पर्ने बाध्यता । अब त्यो बाध्यता हटेको छ । साइन्स पढ्न पाल्पा, ल अनी कमर्शलाई नेपालगन्ज, अनि आर्ट पढ्न मात्रै दाङ थियो, त्यो बेला विद्यार्थीहरु काठमाडौ, नेपालगञ्ज, बुटवल र पाल्पामा गएर अध्ययन गर्ने क्रम थियो । विशेष गरी विज्ञान विषय पढ्न जिल्ला बाहिर जाने विद्यार्थीहरु संख्या अत्यधिक रहेको थियो । तर आज समय परिवर्तन भएको छ ।

मानिसका सोचाई परिवर्तन भएका छन् । देशको राजनीतिक व्यवस्थामा परिवर्तन भएको छ । शिक्षा क्षेत्रमा परिवर्तन भएको छ । देशमा हुने परिवर्तनले दाङको शिक्षा क्षेत्रमा परिवर्तन नहुने कुरै भएन । अझ भन्नुपर्दा यो क्षेत्रमा जिल्लालेअनपेक्षित रुपमा फड्को मारेको छ । एक युगको अन्त्य भएर नयाँ युगको शुरुवात भएको जस्तै देखिएको छ, अहिले शिक्षा क्षेत्रमा दाङ । विद्यार्थीहरु उच्च शिक्षा अध्ययनको लागि बाहिर जानुपर्ने अवस्था छैन् । अध्ययन अध्यापनका लागि जिल्लामा नै राम्रा स्कूल र कलेजहरु स्थापना भएका छन् । ‘हाम्रा कलेज राम्रा कलेज’ रोजी–रोजी शैक्षिक विविधतालाई सम्बोधन गरिरहेको छ, दाङ । चितवनका विद्यार्थीहरु यहीँका शैक्षिक संस्थाहरुलाई रोजेका छन् ।

छिमेकी भारतका विद्यार्थीहरु समेत प्राविधिक शिक्षाका लागि शैक्षिक गन्तव्य बनाउने अभ्यास शुरु भएको अवस्थामा अब दाङ एउटा शैक्षिक गन्तव्य बन्दै आएको छ । अब सिक्नलाई टाढा जानुपर्ने छैन । संस्कृत पढ्ने र संस्कार सिकाउने विश्वविद्यालयको केन्द्र यहीँं छ । प्राविधिक शिक्षाका ढोका खोल्न निजी सामुदायिक क्याम्पस तथा निजी कलेजहरु अभ्यस्त छन् । यसै साता तुलसीपुरमा आयोजित बृहत शैक्षिक कार्यक्रममा भनिएको थियो– टिक्ने, बिक्ने र सिक्ने शिक्षा अहिलेको आवश्यकता हो । हो, त्यस्तै अभ्यास शुरु भएको छ, शिक्षा क्षेत्रमा ।

दाङ्ग जिल्लामा नै स्थापित कलेजहरुमा नेपालमा पढाई हुने विभिन्न विषयहरु अध्ययन गर्न पाइन्छ । विभिन्न संकायहरु जस्तै विज्ञान, कृषि विज्ञान, इन्जिनियरिङ, व्यवस्थापन, शिक्षा, मानविकी, होटेल म्यानेजमेन्ट, विज्ञान, पत्रकारिता, ट्राभल एण्ड टुरिजम, कम्प्युटर र प्राविधिक विषयहरु पठन–पाठन भइरहेका छन् । यो वास्तवमा दङ्गाली जनताको लागि गर्वको कुरा हो ।

अहिले दाङ्ग शैक्षिक हवको रुपमा विकास भइरहेको छ । देशका विभिन्न ठाउँबाट विशेष गरेर विज्ञान, कृषि विज्ञान, इन्जिनियरिङ, व्यवस्थापन र प्राविधिक विषयहरु अध्ययन गर्न विद्यार्थीहरु दाङमा आउने गर्दछन् । हाल दाङमा प्राथमिक तहमा ३४३, निम्न माध्यमिक ११२, माध्यमिक १३८, उच्च माध्यमिक ५१ र क्याम्पस १२ गरी जम्मा ६४४ निजी तथा सामुदायिक शैक्षिक संस्थाहरु छन् ।

परिस्थितिले कोल्टे फेरेको छ । प्राविधिक शिक्षामा पनि दाङले फड्को मारेको अवस्था छ । प्राविधिक शिक्षाको लागि दाङ अहिले विद्यार्थीहरुको भरपर्दो गन्तव्यस्थल बनेको छ । प्राविधिक क्षेत्रमा राप्ती इन्जिनियरिङ कलेजले विइ तहमा सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक एण्ड कम्युनिकेशन र बिसिए अध्यापन गरिरहेको छ ।

पद्मोदय पब्लिक नमूना मावि र लालमटिया प्राविधिक शिक्षालयले पनि प्राविधिक विषयहरु सञ्चालन गरिरहेको छ । पद्मोदयले इलेक्ट्रोनिक विषयमा सव(ओभरसियर र ओभरसियर, कम्प्युटर टेक्निसियन, सोसियल मोविलाइजर र इलेक्ट्रिकल ओभरसियरमा डिप्लोमा कक्षा सञ्चालन गरिरहेको छ ।
लालमटिया प्राविधिक शिक्षालयले लामो समयदेखि सिएमए, भेटनरी जेटिए, आईएस्सी एजी, इलेक्ट्रोनिक्स र पलम्बर कक्षा अध्यापन गर्दै आएको छ । कृषिसँग सम्बन्धित मदन भण्डारी मेमोरियल कृषि प्राविधिक शिक्षालयले आइ.एस्सी. एजी. र राप्ती कृषि क्याम्पसमा बि.एस्सी. एजी.को अध्ययन र अध्यापन भइरहेको छ । स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विषयहरु पनि दाङमा अध्यापन भइरहेका छन् ।

दाङ्ग टेक्निकल इन्स्टिच्यूटले सिएमए र ल्यावका कक्षाहरु चलाइरहेको छ भने राप्ती नर्सिङ कलेज तुलसीपुर र दीपज्योति नर्सिङ कलेज घोराहीले स्टाफ नर्सको पढाई सञ्चालन गरिरहेका छन् । राप्ती अञ्चलकै एकमात्र पुरानो स्थापित क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा स्नातक तहमा विज्ञान, शिक्षा, मानविकी, व्यवस्थापन संकाय र स्नातकोत्तरतर्फ अंग्रेजी, राजनीतिशास्त्र, नेपाली र व्यवस्थापन संकायमा कक्षा सञ्चालन भइरहेको छ ।

मध्यपश्चिममा नै उत्कृष्ट सामुदायिक क्याम्पस राप्ती बबई बहुमुखी क्याम्पस तुलसीपुरमा पनि स्नातक तहमा शिक्षा, मानविकी र व्यवस्थापन संकायमा पठन–पाठन हुँदै आएको छ भने स्नातकोत्तर तहमा नेपाली, इपिएम, सोसियोलोजी र व्यवस्थापन संकायको पढाई भइरहेको छ । समुदायका मानिसहरुको निरन्तर रेखदेख, सहयोग र अनुगमन तथा शिक्षक कर्मचारीको अथक मेहनत र परिश्रमले यो क्याम्पस छोटो समयमा नै विद्यार्थी र अभिभावकहरुको छनोटमा पर्न सफल भएको छ ।

नेपालमा भएका उच्च माविहरु (अहिले मावि) मध्ये उत्कृष्ट टप १० भित्र पर्न सफल गोरखा पब्लिक उच्च मावि र सामुदायिक उच्च माविहरुमध्ये उत्कृष्ट पद्मोदय नै रहेका छन् भने पछिल्लो पटक खुलेका उच्च माविहरुले पनि उत्कृष्ट नतिजा लिइरहेका छन् । दाङको बेलझुण्डीमा रहेको ५ नं. प्रदेशकै गहनाको रुपमा नेपाल संस्कृत विश्वविद्यालयले आयुर्वेदमा एच.ए र बी.एम.एस. तहमा अध्यापन गराइरहेको छ ।

राप्ती शिक्षा क्याम्पसले शिक्षा संकाय र मार्क कलेजले व्यवस्थापन संकाय मात्र स्नातकोत्तरसम्म र दीपशिखा माविले स्नातक तहमा व्यवस्थापन संकाय सञ्चालन गरिरहेका छन् । त्यसैगरी दाङभ्याली कलेज र ज्ञानसिन्धु कलेजले पनि स्नातक तहमा व्यवस्थापन संकाय सञ्चालन गर्दै आएको छ । नयाँ विषयको रुपमा ज्ञानदीप कलेज तुलसीपुरले होटेल म्यानेजमेन्ट र पत्रकारिता विषय सञ्चालन गर्दै आएको छ । विद्यानीलकण्ठ मावि घोराहीले पनि विगतदेखि नै पत्रकारिता विषयमा अध्यापन गर्दै आएको छ । व्यवस्थापन संकायमा आधुनिक विषय बिबिए गोरखा ग्रुप अन्तर्गत भिक्टोरिया कलेजले घोराहीमा सफलताका साथ अध्यापन गर्दै आएको छ ।

दाङ्गमा नै प्राविधिक जनशक्ति उत्पादन गर्नको निम्ति अम्बिकेश्वरी कलेजले प्राविधिक विषयमा विगतका वर्षदेखि नै वि.एस्सी., सिआएसटी सञ्चालन गरिरहेको छ । दाङ्गकै अन्य प्रमुख स्थानहरु गढवा, लमही, रामपुर, नारायणपुर, बयाले र पश्चिम श्रीगाउँमा स्नातक तहमा विभिन्न विषयहरुको अध्यापन भइरहेको छ । तर दाङको शिक्षा क्षेत्रमा अझै पनि फरेस्ट्री क्याम्पस, मेडिकल कलेज, इन्जिनियरिङ कलेज र कृषि क्याम्पसको अभाव महसुस भइरहेको छ । शिक्षा ऐन आठौं संशोधनले विद्यालयलाई कक्षा १–८ सम्मलाई आधारभूत र ९–१२ सम्मलाई माध्यमिक तहमा परिभाषित गरेको छ । निजी तथा सामुदायिक उच्च माविहरु माविमा परिवर्तन भएका छन् ।

सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा नमूनाको रुपमा विज्ञान विषय सञ्चालन गर्न अनुमति दिएको छ र केही निर्वाचन क्षेत्रमा विज्ञान कक्षाहरु सञ्चालनमा आएको पनि छ । दाङ्गमा विशेष गरी सामुदायिक भन्दा निजी विद्यालयहरुको विस्तार र विकास तीव्र गतिमा भइरहेको छ । सामुदायिक विद्यालयहरु पनि निजी विद्यालयसँग प्रतिस्पर्धा गर्नको निम्ति अंग्रेजी माध्यमबाट कक्षाहरु चलाइरहेका छन ।

शिक्षा मन्त्रालयले नमूना विद्यालयको रुपमा सामुदायिक विद्यालय गुरुजजुर मावि रक्षाचौर, आदर्श मावि देउपुर, आदर्श मावि लालमटिया, पद्मोदय पब्लिक मावि, भरतपुर र वी.पी. कोइराला बयालेलाई छनोट गरेको छ । बालबालिकालाई रमाइलो र खेल विधिको माध्यमबाट आधुनिक पठन–पाठन गर्नको निम्ति मन्टेश्वरी विद्यालयहरु पनि खुलेका छन् ।

शिक्षाको विकास र विस्तार अनि समयको परिवर्तनसँगै दाङ्गको शिक्षा क्षेत्रमा पनि ठूलो परिवर्तन आएको छ । काठमाडौंको विकल्पमा दाङ्ग अहिले शिक्षाको एक भरपर्दो केन्द्रविन्दुको रुपमा उभिने बाटोमा उन्मुख छ ।दाङ्ग समग्र ५ नं. प्रदेशका विद्यार्थी र अभिभावकको शैक्षिक गन्तव्य स्थल बन्ने बाटोमा छ ।

गाउँदेखि शहरसम्म निजी तथा सामुदायिक मावि तथा कलेजहरुको उपस्थितिले अभिभावकहरुमा आर्थिक बोझ कम भएको छ भने विद्यार्थीहरुले सस्तो र भरपर्दो तरिकाले घर नजिक शिक्षा आर्जन गरिरहेका छन् । हामी अव्वल छौं, शिक्षा क्षेत्रमा । घरकै खानाले उच्च शिक्षा प्रदान गर्नहामीहरु प्रतिवद्ध छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*