Home / Feature Breaking news / माओवादी उत्पीडित, उपेक्षित समुदायको अगुवा होः पुन

माओवादी उत्पीडित, उपेक्षित समुदायको अगुवा होः पुन

प्यूठान, २६ भाद्र
नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य वर्षमान पुन ‘अनन्त’ले माओवादी उत्पीडित, उपेक्षित समुदायको अगुवा भएको बताउनुभएको छ । प्यूठानको पुण्यखोलामा आयोजित नेपाल दलित मुक्तिमोर्चा ५ नं. प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

माओवादी आन्दोलन उत्पीडित वर्ग, जाति, लिङ्ग र राज्यको पहुँचभन्दा पछि पारिएका समुदायलाई अधिकार दिलाउन थालिएको महाअभियान भएको बताउँदै नेता अनन्तले माओवादी उत्पीडित वर्ग समुदायको आवाज भएको बताउनुभयो ।

‘माओवादी आन्दोलन बलियो हुँदा दलित, महिला, किसान, मजदूर, आदिबासी जनजाति र विपन्न समुदाय उत्साहित हुन्छन्, उनीहरुको मनोबल बढ्छ,’ उहाँले भन्नुभयो, ‘माओवादी कमजोर हुँदा उत्पीडित वर्ग र समुदाय प्राप्त अधिकार पनि गुम्छन् कि भनेर चिन्तित हुने अवस्था छ ।’

स्थानीय तहको निर्वाचनसम्म आउँदा माओवादीको एजेण्डामा अरुको रजाई भइरहेको भन्दै नेता पुनले माओवादीले आफ्नो एजेण्डा जनतासम्म पु¥याउन नसक्दा पछि परेको बताउनुभयो । ‘माओवादीका कारणले प्राप्त उपलब्धि र माओवादी विचारलाई जनतासम्म पु¥याउन हाम्रो कला क्षमता पुगेन, उहाँले भन्नुभयो, ‘जनतासम्म हाम्रा विचार र योजना पु¥याउन हामीले बलियो संगठन र एकताबद्ध शक्ति निर्माण गर्न जरुरी छ ।

आगामी निर्वाचनबाट माओवादी निर्णायक
नेता पुनले आगामी संघ र प्रदेशको निर्वाचनमा माओवादी राष्ट्रिय राजनीतिको निर्णायक शक्ति हुने बताउनुभयो ।  ‘आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनबाट हामी निर्णायक शक्तिको रुपमा रहनेछौं, उहाँले भन्नुभयो, ‘५ नं. प्रदेशमा पहिलो पार्टी बनेर प्रदेशकै नेतृत्व गर्ने हामीले लक्ष्य लिएका छौं, समग्र देशको हकमा पनि हामी निर्णायक शक्तिको रुपमा रहन्छौं ।’

प्रदेश सम्मेलन सफलताको शुभकामना दिदै प्रदेश इन्चार्ज समेत रहनुभएका नेता पुनले सही नीति, सही नेतृत्व र जुझारु टीम निर्माण गरी अभियानात्मक रुपमा संगठन निर्माणमा लाग्न निर्देशन दिनुभयो । दलित समुदाय सामन्तवाद, दलाल तथा नोकरशाही पूँजीवाद र वर्णवादी समाजको साँस्कृतिक उत्पीडन गरी तीनवटा पहाडले थिचिएको बताउँदै नेता पुनले साँस्कृतिक परिर्वतन र मुक्ति राजनीतिक परिवर्तनजस्तो सहज नभएको बताउनुभयो ।

राजनीतिक विचार बिनाको दलित आन्दोलन होस् वा अरु कुनै जातीय र अरु आन्दोलन निष्कर्षमा नपुग्ने भन्दै नेता पुनले त्यसका लागि सही राजनीतिक विचार अनिवार्य भएको बताउनुभयो । ‘उत्पीडित वर्ग समुदायको पक्षमा लड्ने माओवादी भएको भन्दै नेता पुनले माओवादी विचारसहितको दलित मुक्ति आन्दोलन माओवादी आन्दोलनको रिजर्भ फोर्स भएको बताउनुभयो ।

सम्मेलनलाई नेपाल दलित मुक्तिमोर्चाका केन्द्रीय संयोजक तिलक परियार, माओवादी केन्द्र प्रदेश नं. ५ का संयोजक पूर्ण घर्ती, माओवादी केन्द्र प्यूठानका कृष्णध्वज खड्का लगायतले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । प्रदेशका १२ जिल्लाबाट करिब एक हजार प्रतिनिधि सहभागी सम्मेलनले प्रदेशको नयाँ कार्यसमिति चयन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*