Home / Feature Breaking news / साउने संक्रान्ति र यस विशेषता

साउने संक्रान्ति र यस विशेषता

विनोद पोख्रेल

२०७७ साउन १
आज साउने संक्रान्ति । एउटा पर्वकै रुपमा मनाइने दिन । कतिले आजको दिनमा खानामा मासुलाई महत्व दिन्छन् भने कतिले खिरलाई दिन्छन् । त्यसबाहेक बयलडाँडी खेल्ने दिन पनि हो । यो बयलडाँगी मलाई लाग्छ, एक प्रकारको गीतिनाटक हो । यसमा प्रायःजसो विवाह नभएका वा भर्खरै विवाह भएका महिलाहरुको बढी सहभागिता हुनेगर्छ ।

यसको एउटा अलग महत्व पनि छजस्तो लाग्छ । पुराना दिनहरुमा हाम्रोजस्तो समाजमा नाटकहरुमा स्त्रीको भूमिका पनि पुरुषले नै खेलेको देखिन्थ्यो वा सुनिन्थ्यो तर यो नाटक नै भनौ मा पुरुषको भुमिका समेत महिलाले नै निभाउने चलन थियो । आजभोलि यो कुरो सामान्य लाग्न सक्छ तर त्यो समयको कुरा गर्ने हो भने यो पनि एएटा विशेषता नै लाग्न सक्छ । मैले थाहा पाउनँदा त उमेर अली पाकेका महिलाहरु पनि सहभागी भएको देखेको छु । आजभोलि हाम्रो ठाउँमा यो हराउँदै जान थालेको जस्तो लाग्छ ।

अनि त्यो बयलडाँडी खेल्ने टोली कुनै डाँडामा गएर खल्ने र त्यही पिकनिक जस्तो खाना खाने पनि गर्थे । त्यसबाहेक आज लुतो पुज्ने दिन पनि हो । मलाई थाहा छ, आजका दिनमा मलायो, करिल्ले आदि वनस्पति वनबाट ल्याएर पूजा गरेर छानोमा कोचार्ने चलन थियो । यी वनस्पतिहरुको रसायनिक महत्व पनि थाहा छैन । यसै पूजालाई लुतो पूजा भनिन्थ्यो । अनि यो पूजा गरेपछि लुतो, खटिरालगायत छालाका धेरै रोगहरु नलाग्ने विश्वास गरिन्थ्यो । यो पूजापछि बलिरहेको दाउरो खास गरेर सल्लाको दाउरा अली पर पुग्ने गरी फाल्ने र लुतोपुतो लैजा भनेर कराउने पनि गरिन्थ्यो ।

मजाक गर्न कुनै व्यक्तिलाई बोलाएर उसले हजुर भन्यो भने त्यही कुरा भन्ने पनि चलन थियो । त्यसबाहेक मेहन्दी लगाउने पनि आजै गरिन्थ्यो । मेहन्दीका पात थिचेर मही हालेर मसिनो पेस्ट बनाएर हातमा लगाउने अनि मालुको पातले ढाकेर पात हातमै बाँधिदिने चलन थियो । पछि आएर कतिले मेहन्दी असार मसान्तमै लगाउने गरेको देखिन्छ । मेहन्दी पनि अब त बजारमा किन्न पनि पाइन्छ र लगाउन पनि सजिलो हुन्छ । कामहरु सजिलो भए भने रमाइलो नहुने अथवा कम हुने रैछ । हाम्रो परिवारमा मात्रै हो अथवा सबै परिवारमा थियो भन्न त सक्दैन तर हामी कहाँ आजको दिनदेखि मात्रै गाभा खाने चलन थियो ।

योभन्दा पहिले गर्मीमा घरभित्र गगोरोमुनि लगाएको गाभाको टुप्पसासम्म खाइन्थ्यो । बारीमा लगाएको ठूलो पात खान आजको दिन पर्खनुपथ्र्यो । यो पर्खाईले पनि हो कि रमाइलो लाग्थ्यो र गाभा मीठो पनि लाग्थ्यो । मीठो त अझै पनि लाग्छ तर यो रमाइलोपन अब छैन । यसबाहेक आजकै दिनबाट अयन फेरिने पनि हो । वर्षलाई दुई भागमा बाँडिएको हुन्छ । त्यसलाई उत्तरायन दक्षिणायन भनिन्छ । आजबाट ६ महिनाका लागि दक्षिणायन सुरु हुन्छ । मान्यताअनुसार आजदेखि गर्मी कम हुँदै जाने, दिन छोटा हुँदै जाने हो । अर्को कुरा मेरो व्यक्ति भावना पनि यो दिनसँग गाँसिएको छ ।

कारण त मलाई थाहा छैन तर साउन र भदौलाई मात्रै मैले बर्षा मान्ने गर्छु । बर्षा ऋतु यही हो भन्ने जानेपछि हो या पहिलेबाट ते पनि थाहा छैन । यसको मुख्यकारण हामीले स्कुलमा पढ्दा दुई महिना लामो बर्षे विदा यही दुई महिनामा हुने गथ्र्यो । त्यसैले यो दुई महिना अलि अलगजस्तो लाग्थ्यो । बर्षालाई मैले अलि खतरायुक्त समय पनि मान्ने गर्थे ।

खोलाहरु बढी भल आएर खेत काट्ने, मानिस बगाउने त्यस्तै मानिस मरेको समाचार सुन्नुपर्ने, बादल गर्जेर चिर्को पर्ने आदि पनि बढी यसै बेलामा सुनिन्थ्यो । औलोको बढी प्रकोप पनि यस बेला हुने गथ्र्यो र मानिस बढी बिरामी यसै बेला हुने गर्थे । यो सबैको सम्झनाको प्रभाव अझै कतै बाँकी नै छजस्तो लाग्छ ।
२०७७ साउन ३ गते

आज लेख्न अली ढिला भयो । यस्तो भयो भने लेख्न गाह्रो हुन्छ । धेरै कुराको प्रभाव मनमा पर्छ । अनि के लेखूँजस्तो लाग्छ । अलमल र अल्छी दुबैले सताउँछ तर पनि सकेसम्म प्रतिबद्धता पूरा गर्नैपर्छ । मैले अरुको कुनै प्रभाव नपरेर आएको भावनामा लेख्न सजिलो मान्छु । कलम सरसर्ती कुदेको जस्तो लाग्छ । केही मिश्रण, केही वनावट वा कुनै व्यवधान हुँदैन तर ढिला भएपछि भेटघाट, कुराकानी आदिले भावनालाई प्रभाव पार्छन् । त्यो गतिमा रुकावट आउँछ । आज त्यस्तै भयो । यस्तो कमै हुन्छ ।

त्यस्तै कम अवसरमध्येको एउटा आज भयो । मामाकी छोरी संगु काठमाडौं फर्कन लागेकी एकैछिन भेट्न आउँछु भनी । उसलाई समय दिन पनि प¥यो । माया पनि लाग्यो । अनि उनीहरु आएर चिया खाँदासम्म धेरै गफ गरेर लेख्न बस्दा भावना नै फेरिए अथवा छित्रिए । यस्तो हुने गर्छ कहिले काहीँ त्यसैले त मानिसलाई कतिपल्ट धेरैले भावनाको पुत्ला भन्ने गर्छन् होला । वर्तमान परिववेशले मानिसलाई बढी प्रभाव पार्छ । पुरानालाई बिर्साउने र हल्का बनाउ नै वर्तमानले हो । त्यही नियम यहाँ पनि लागू हुन्छ ।

प्रतिबद्धताले नझक्झकाउने भए केही काम बाँकी छ भन्ने सोच आउने थिएन । त्यो सोच नआउने भए आजको जस्तो परिस्थितिमा लेखिने थिएन अथवा ठग्ने प्रयास गरिन्थ्यो होला । तर प्रतिबद्धताप्रति इमान्दार बन्न मन लागेपछि यी कुराहरुबारे केही सोचिँदैन । मलाई थाहा छ, मैले कुनै विषय पकड्न सकेको छैन । तर इमान्दारीसँग भन्नुपर्छ म आफ्नै मनोविश्लेषणमा छु । अहिले जे लेखिरहेको छ र मनमा जे छ त्यो यही हो । यस्तो मनस्थिति नभएको भए सायद हिजो पनि स्थगित भएको सत्तासीन दलको स्थायी समितिको बैठक पथ्र्यो होला तर आज त्यो लेख्न मन पनि छैन ।

यता त्यो बैनीले जे–जस्तो भावुकता प्रकट गरी, त्यो सबै लेख्ने मन पनि छैन । बैनी आई, खुसी भई, अली भावुक पनि भई । यो सब के लेख्ने ? किरण कतिपल्ट आफ्नी माइजुसँग कुरा गर्दा रोएकी छ फोनमै । मसँग पनि त्यस्तै गरेकी छ । ऊ सामान्यतथा सजिलो जीवन बाँचिरहेकी छ तर भावना भनेको अलग कुरा हो । अप्ठ्यारो होस् वा सजिलो मानिसको मनको आफ्नै गति हुन्छ । त्यो गतिमा धेरै कुराको प्रभाव पर्छ । त्यसमा भावना नै प्रधान हुन्छ । भावना परिकल्पना मात्रै होइन । वर्तमान व्यवहार, अतितको सम्झना, मानवीय स्वभाव, सामाजिक पारिवारिक जिम्मेवारी यस्तै अझ धेरै कुराको समिश्रण वा प्रतिक्रियाले जन्माएको सोच हो भावना ।

यो यही परिभाषा हो भने पनि मैले कसैले भनेको सुनेर वा लेखेको घोकेर यहाँ व्यक्त गरिरहेको छैन । अहिले मेरो मनले यस्तै भन्यो । उही ठीक हो भन्ने जिद्दी पनि गर्न सक्दैन । मैले आज ढिलो भएको कारणलाई त्यति लामो अभिव्यक्ति दिन चाहेको पनि थिएन तर आइहाल्यो । यस्ता कुराहरुलाई व्यक्तिगत कुराको रुपमा लिएर कमै अभिव्यक्त गर्न चाहन्छु । किनभने यसमा कुनै विचार छजस्तो लाग्दैन । यसले अरुलाई कुनै प्रकारको चाख जगाउन सक्छ जस्तो पनि लाग्छैन । कुनै प्रकारले मनोरञ्जन दिन सक्छ जस्तो पनि लाग्दैन ।

त्यसैकारण यिनी कुरा अरुको मतलबका हुँदैनन् । जुन कुरा अरुको मतलबका हुँदैनन् तिनी डायरीमा नलेख्ने जस्तो लाग्छ । डायरी जति थोरैले पढे पनि सो सार्वजनिक विषय हो । त्यसकारण यहाँ सार्वजनिक चासोका या सार्वजनिक महत्वका कुरा मात्रै लेख्न पाए हुन्थ्यो भन्ने चाहना हो तर माथि कतै भनेजस्तै म पनि भावनाको पुत्ला हुँ । अपवाद हुन सकेको छैन । त्यस्तोमा धेरैपल्ट भावनासँग हारेको छु । यो आजमात्रै होइन । मस्तिष्कसँग मनले धेरैपल्ट जितेको छ, आज पनि त्यही भयो सायद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*