नारायणपुर, २१ कार्तिक
घोराही उपमहानगरपालिका १० मा रहेको ईलाका प्रहरी कार्यालय नारायणपुरको भवन शिलन्यास गरिएको छ । स्थानीयहरुको अगुवाईमा भवनको निर्माण कार्य सुरुवात गरिएको हो । साविक त्रिपुर नगरपालिका कार्यक्षेत्रमा शान्ति सुरक्षा व्यवस्थापनका लागि कार्य गरिरहेको ईप्रका नारायणपुरको आफ्नो भवन नहुँदा समस्या झेल्नुपरिरहेको समयमा स्थानीयहरुको अगुवाईमा भवन निर्माणको सुरुवात गरिएको छ ।
भवनको घोराही उपमहानगरपालिका वडा न. १० का वडा अध्यक्ष दिपककुमार पाण्डेय र भवन निर्माण समितिका संयोजक गोपालप्रसाद लम्सालले शिलन्यास गर्नुभएको हो । स्थानीयहरुको बाक्लो उपस्थितिमा भवनको शिलन्यास गरिएको थियो ।
भवन निर्माण समितका संयोजक गोपालप्रसाद लम्सालको अध्यक्षता एवं घोराही उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष दिपक पाण्डेयको प्रमुख आतिथ्य र जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक दिपक श्रेष्ठको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा सहभागीहरले जनस्तरबाट सहयोग संकलन गरेर प्रहरीको भवन निर्माण गर्नु प्रशसनिय कार्य भएको बताएका थिए । उनीहरुले भवन निर्माण भएपछि नेपाल प्रहरीलाई शान्ति सुरक्षा व्यवस्थापन गर्न र दैनिक कार्य गर्न सहज हुने अपेक्षा गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले साविक त्रिपुर नगरपालिकाको शान्ति सुरक्षामा खटिने प्रहरी कार्यालयको भवन निर्माणमा स्थानीयहरुले देखाएको अग्रसरताले प्रहरीहरुको मनोवल उच्च हुने बताउनुभयो ।
उहाँले यस भवन निर्माण कार्यमा सबैले सहयोग गर्न आवश्यक भएको भन्दै आफूले पनि समन्वय सहकार्य गर्ने बताउनुभयो । साथै सम्पूर्णमा भवन निर्माण अभियानमा जोडिन अनुरोध पनि गर्नुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक दिपक श्रेष्ठले नागरिक स्तरबाट प्रहरीको भवन निर्माणमा नारायणपुर क्षेत्रबासी र समग्र त्रिपुर क्षेत्रका नागरिकहरुले देखाएको अग्रसरता प्रशसनिय भएको बताउनुभयो ।
उहाँले यस्ता कार्यले नागरिक र प्रहरी बिचको सम्बन्ध थप बलियो बनाउन भूमीका खेल्ने बताउनुभयो । उहाँले अपराध अनुसन्धानमा प्रहरीलाई सधै सहयोग गर्न पनि अनुरोध गर्नुभयो ।
कार्यक्रममा घोराही उपमहानगरपालिका वडा न. ९ का वडाअध्यक्ष रुपक चौधरी(चैतु), घोराही उपमहानगरपालिका वडा न. ८ का कार्यवाहक अध्यक्ष चुडामणी चौधरी, नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद रजौरे (श्रवण) लगायतले मन्तव्य राख्नुभएको थियो ।
नवदुर्गा पूजा व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं भवन निर्माण समितिका सल्लाहकार बसन्त न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण भवन निर्माण समितिका सचिव दिपककुमार सुवेदीले गर्नुभएको थियो ।
लामो समयदेखी भाडाको घरमा बस्दै आएको भवनमा पनि ईप्रकामा भदौ २४ गते भएको जेन जीहरुको आन्दोलनमा आगजनी एवं तोडफोड भएको थियो ।
स्थानीय व्यवसायी युवाहरुको अगुवाईमा विजयादशमी २०८२ को अवसरमा ईप्रकाको भवन निर्माणकालागि नव दुर्गा पूजा सञ्चालनबाट आर्थिक संकलन सुरुवात गरिएको थियो ।
सो दुर्गा पूजामा सकंलन भएको रकमबाट भवन निर्माणको सुरुवात गरिएको छ । भवन निर्माणकालागि स्थानीय व्यवसायी एवं युवाहरुले स्वच्छीक रुपमा रकम सहयोग गरेका छन् ।
भवन निर्माणकालागि हालसम्म रकम ९ लाख ४० हजार ९ सय ५५ रुपैया संकलन भएको भवन निर्माण समितिका कोषाध्यक्ष धरमबहादुर बस्नेतले जानकारी दिनुभयो । साथै उहाँले भवन निर्माणको कार्यमा सहयोग गर्न सम्पूर्णमा अनुरोध गर्नुभएको छ ।
RaptiSandesh RaptiSandesh