Home / Feature Breaking news / राष्ट्रिय सभा सदस्य उपनिर्वाचन : तीन जनाको उम्मेद्वारी

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन : तीन जनाको उम्मेद्वारी

घोराही, ११ माघ

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभाको उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धनबाट नेकपा (एमाले)का कुमार दसौंदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गराउनुभएको हो। एमालेका केन्द्रीय सदस्य दसौंदीले गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलको प्रस्तावक र प्रदेश सभा सदस्य मीनाकुमारी श्रेष्ठको समर्थनमा राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ।

एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मासहितका नेतासँग उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेर दसौंदीले राष्ट्रिय सभाका लागि उम्मेदवारी दर्ता गर्नुभएको हो। दसौंदीले एमाले, माओवादी केन्द्र, राप्रपालगायतका पार्टीको समर्थनमा उम्मेदवारी दर्ता गराउनुभएको हो। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै दसौंदीले आफ्नो लागि राष्ट्रिय सभा अवसर भएको बताउनुभएको छ। त्यसैगरी, नेपाली कांग्रेसबाट नेपाली कांग्रेस रोल्पाका पूर्व जिल्ला सभापतिसमेत रहनुभएका माधवप्रसाद आचार्यले उम्मेदवारी दर्ता गराउनुभएको छ।

चार दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय महासमिति सदस्य आचार्यको प्रस्तावकमा दाङको बङ्गलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी र समर्थकमा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी रहनुभएको छ। उहाँ दुवै नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको थियो। लामो समय पार्टी राजनीति गरेको र जनताको सेवा गर्ने अवसर प्राप्त नभएकाले पार्टीको आग्रहमा आफू राष्ट्रियसभा सदस्यको उम्मेदवार बनेको आचार्यले बताउनुभयो।

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि नागरिक उनमुक्ति पार्टीबाट राजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गराउनुभएको छ। प्रदेशसभा सदस्य धर्मराज चौधरीको प्रस्तावक र प्रदेशसभा सदस्य राजकुमार चौधरीको समर्थनमा रायले उम्मेदवादवारी दर्ता गराउनुभएको हो। एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको हो ।

उपनिर्वाचनका लागि माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ। राष्ट्रिय सभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् । लुम्बिनी प्रदेशमा कुल मतदाता सङ्ख्या ३०५ छ। जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको सङ्ख्या दुई सय १८ रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ। प्रदेशका १०९ पालिकामध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ।

त्यसैगरी एमालेले २७, माओवादीले २५, जसपाले तीन, जनमोर्चा र लोसपाले दुई–दुई, राप्रपा र जनता प्रगतिशीलले एकएक स्थानमा जितेका छन्। त्यस्तै प्रदेशमा ८७ सदस्यीय प्रदेश सभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले चारचार, जसपा, लोसपा र जनमतले तीनतीन, जनमोर्चा र नेकपा एकीकृत समाजवादीले एकएक र स्वतन्त्रबाट दुई जनाले जितेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*