Home / Feature Breaking news / एक्लै नाचिरहेको करोडको ‘नाचघर’

एक्लै नाचिरहेको करोडको ‘नाचघर’

घोराही उपमहनगरपलिकाको ‘घोरदौरा’ गाउँ लाई पर्यटकीय क्षेत्रका रुपमा बिस्तार गर्ने योजना अनुसार तत्कालीन शंकर पोख्रेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारले उक्त स्थानमा ‘नाच घर’ निर्माण गर्ने योजना बनायो । जसलाई सांस्कृतिक डबली नाम दिईयो । आर्थिक बर्ष २०७६÷०७७ मा १ करोड ५० लाख रुपैयाँ बजेट बिनियोजन भयो । यो मध्य ४४ लाख ४७ हजार रुपैयाँ खर्च भयो । डबली निर्माणको जिम्मा पाएको वन कार्यालयका अनुसार त्यो बेला कोरोनाको महामारीका कारण काम हुन सकेन , फलतः पुरै रकम खर्च हुन सकेन । अर्को बर्ष पुनः नाचघर निर्माणकै लागि थप १ करोड २० लाख रुपैयाँ बजेट विनियोजन भयो । वन कार्यालयले लगाएको ठेक्का मार्फत गतबर्ष नाचघर निर्माणका लागि करोड बढि खर्च भयो । तर करोड बढिको लागतमा बनेको नाच घर कच्चो बन्यो, नाच सुरु नहुँदै भताभुंग भैसकेको छ ।
त्यसोत,निर्माण भएको नाच घर हेर्दा उक्त लागत निकै अस्वाभाविक देखिन्छ । सांस्कृतिक नाच घर नजिकै बसोबास गर्दै आएका टेकबहादुर पुन भन्दै थिए ‘यो नाच घर भन्दा त पानीको ब्यवस्था गरिदिएको भए हुने नि , नाच घरको हालत हेर्नुस् त, कि त राम्रो बनाउनु पर्ने ।’
भिरालो जमिन । एक्सकाभेटर प्रयोग गरेर सम्याईएको छ । पश्चिम तर्फको खाल्डो देखि सम्याईएको जमिनको सतह बराबर गर्नका लागि वाल उठाईएको छ । घर भर्खरै निर्माण सम्पन्न भएको थियो । बर्खाको झरीलाई नाचघरको वालले थेग्नै सकेन । नाचघरको एकातर्फको वाल भत्कीयो । ‘माटो सम्याए मात्रै, माटोलाई बलियोसंग दाब्नु पर्ने, दाबिएन,’ स्थानीय भन्छन् ‘अनि बर्खाको झरीले वाल स्वाट्टै भत्काईदियो ।’ निर्माण कम्पनीले पुनः वालको मर्मत गर्यो ।
वाल उठाउने क्रममा दुईवटा कोठा निर्माण गरिएका छन् । दुई कोठा नाच्ने कलाकारहरुको ‘ड्रेस चेन्ज’ का लागि बनाईएका ‘डे«सिङ रुम’ हुन् । त्यहि वाल माथि नाच्नका लागि स्टेज निर्माण गरिएको छ । तर,छानोको भित्री भागमा प्रयोग गरिएका ‘पाता’ हरु भुईमै यत्रतत्र झरेका छन् । ‘गत माघमा ठूलो हावा चल्यो हावाले छानाको भित्र पट्टि रहेका पाताहरु सबै फालिदियो,’ स्थानीय टेकबहादुर पुनले भने ‘जाबो हावा पनि थेग्न नसक्ने सामान हालेर के गरिएको होला ?’
नाच घर अगाडी भत्कीएको ‘दर्शक दिर्घा’ ले पनि एक करोड बढिको अस्वाभाविक लागतलाई उदांगो बनाईदिएको छ । स्टेज नजिकै पूर्वतर्फ दर्शक दिर्घा छ । दर्शक बस्नका बनाईएको पेटी भत्कीसकेका छन् । दर्शक बस्नका लागि जिल्ला बाहिरबाट ढुंगाहरु खरिद गरेर ल्याईए । बाहिरबाट ढुंगा खरिद गरेर ल्याईएका कारण नाचघर निर्माणमा लागत बढि हुन पुगेको दाबी निर्माण पक्षको छ । दर्शक बस्नका लागि पेटी निर्माण गरिएको थलोमा ओत छैन । नाच घर देखि पूर्व तिरको भिरालो जमिनका कारण बर्खायाममा उक्त नाच घर सम्मै भेल बग्ने देखिन्छ ।
यसैगरि स्टेजमा प्रयोग गरिएका ‘प्यूठानी’ ढुंगा अधिक महंगो रहेको दाबी गरिएको छ । नाच घर निर्माणका लागि एक करोड बढि रकम खर्च भैसक्यो,तर यो घर अधकचल्टो छ । नत यो घरको निर्माणले पूर्णता पाउने सम्भावनानै देखिन्छ । त्यो बेला प्रदेश सरकारको पर्यटकीय योजना निर्माणको जिम्मा वन कार्यालयको थियो । अहिले वनबाट त्यो जिम्मेवारी खोसिएको छ । यसर्थ अहिले उक्त नाचघरका बारेमा वनलाई कुनै जानकारी नै नभएको वताउँछ । प्रदेशका पर्यटनसंग सम्बन्धीत योजना सञ्चालनका लागि बाँकेको नेपालगञ्जमा पर्यटन डिभिजन कार्यालय स्थापना भएको छ । यही कार्यालयले यस्ता योजना सञ्चालन गर्छ । तर यो कार्यालयको योजना सुचीमा घोरदौराको नाचघर छैन । कार्यालयका प्रमुख माधव ज्ञवालीले उक्त नाच घर बारे आफूलाई कुनै जानकारी नभएको बताए । ‘त्यो काम वनले ठेक्का मार्फत लगाएको हो,’ उनले भने ‘हाम्रो योजना भित्र त्यो नाचघर परेको छैन, यसर्थ त्यो आयोजना बारे मैले केही भन्न सकिन ।’ कार्यालयको योजना सुचीमा उक्त नाचघर नपरेका कारण आफूहरुले उक्त आयोजना प्रति ध्याननै नदिएको उनले बताए । ‘हामीहरुको योजना सुचीमा नै नपरेको योजनालाई हामीले हेर्ने कुरै हुँदैन नि,’ ज्ञवालीले भने ‘यो बर्ष १० लाख रुपैयाँ विनियोजन भएको र उक्त रकम लिन नमानेको भन्ने सुनेको चाहीँ हो, तर हामीसंग कुनै समन्वय भने भएको हैन।’
‘नाच घर’ का नाममा करोडको नास
वन कार्यालयका अनुसार तत्कालीन लुम्बिनी प्रदेश सरकारले जिल्लामा सांस्कृतिक नाच घर निर्माण गर्ने योजना बनायो । जिल्लामा हुने कार्यक्रममा परम्परागत नृत्यको प्रवर्धनका लागि नाच घर बनाउने लक्ष प्रदेश सरकारको थियो । अनि प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलले ठाउँ चयन गरे — घोरदौरा । तर घोराही देखि उत्तर पूर्वमा रहेको घोरदौरा सम्म पुग्नका लागि कच्चि धुलाम्य सडक छ । घोराहीमा भएको कार्यक्रमका सहभागीहरुलाई नाच देखाउनका लागि मात्रै ६ किलोमिटर पहाड धुले सडक हुँदै उक्लनु पर्ने हुन्छ । भौगोलिक बिकटतासंगै नाच घर निर्माण गरिएको थलोमा पिउने पानी सम्मको ब्यवस्था छैन । नत पक्की सडकनै । यि अत्यावश्यक पूर्वाधारको ख्यालै नगरि घोरदौराको डाँडोमा निर्माण गरिएको नाचघरको औचित्य सर्वसाधारणहरुले देख्दैनन् ।यो योजनाको डिपिआरमा भने पक्की सडक र पिउने पानीको व्यवस्थापन पनि समेटिएको भने छ । तर यो काम कुनै निकाय मार्फत हुने भन्ने अन्यौलताले करोड भन्दा बढिको लगानीमा बनेको नाच घर जिर्ण बन्दै जाने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*