Home / Feature Breaking news / निर्वाचन सामग्री ढुवानी तीव्र, समानुपातिकको मतपत्र ढुवानी ९ जिल्लामा बाँकी

निर्वाचन सामग्री ढुवानी तीव्र, समानुपातिकको मतपत्र ढुवानी ९ जिल्लामा बाँकी

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आवश्यक निर्वाचन सामग्री ढुवानी तीव्र गतिले सुरु भएको छ । निर्वाचन आयोग परिसरमा सामान राख्ने ठाउँ नभएपछि मधेस प्रदेशमा मतपेटिका, छेकाबारलगायतका सामान सोमबारदेखि नै ढुवानी सुरु गरेको हो । आयोगले समानुपातिक तर्फको मतपत्र ६८ जिल्लामा ढुवानी गरिसकेको छ ।

सडकको पहुँच नपुगेको मनाङ, मुस्ताङ, जुम्ला, हुम्ला, डोल्पा, बाजुरा र मुगुलगायतका जिल्लामा समानुपातिक तर्फको मतपत्र पठाउन बाँकी छ । यी जिल्लामा आवश्यक पर्ने प्रत्यक्षतर्फको मतपत्र पनि छपाइ भइसकेकोले एकै पटक पठाइने आयोगले जनाएको छ । प्रत्यक्षतर्फका लागि आवश्यक पर्ने ४ करोड मतपत्रमध्ये १ करोड ८५ लाख छपाइ भइसकेको छ ।

सडक मार्गबाट सामग्री पुर्‍याउन सम्भव नभए हेलिकप्टरबाट ढुवानी गरिने आयोगले जनाएको छ । आयोगले आउँदो निर्वाचनको लागि खरिद गरिने सामानमध्ये मतपत्रमा छाप लगाउने ठाउँमा राखिने रबर म्याटबाहेक सबै सामान आइसकेको आयोगको प्रशासन महाशाखाले जनाएको छ । ५० हजार मतपेटिकामध्ये २० हजार आयोग परिसरमा आएपछि सामान राख्ने ठाउँको अभाव भएको छ ।

हरेक निर्वाचन क्षेत्रमा आवश्यक पर्ने सामानको प्याकिङ गरिरहेको छ । निर्वाचन तालिकाअनुसार कात्तिक ११ देखि २० सम्म निर्वाचन क्षेत्रमा सामग्री पठाउनेछ । आयोगबाट मतपत्रसहित ५७ प्रकारको सामान निर्वाचन क्षेत्रमा पठाइनेछ । जिल्ला निर्वाचन कार्यालयले १५ प्रकारको सामान जिल्लामै खरिद गर्ने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*