Home / Feature Breaking news / ‘चुनावमा सपना बाँड्दिनँ, काम गरेर देखाउँछु’

‘चुनावमा सपना बाँड्दिनँ, काम गरेर देखाउँछु’

दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्, रेखा शर्मा । पूर्व सांसद एवं मन्त्री समेत रहेकी माओवादीकी नेतृ शर्मा गठबन्धनबाट उम्मेदवार बनेर चुनावी मैदानमा छिन् ।

२०४३ सालदेखि अखिल क्रान्तिकारीबाट राजनीति सुरु गरेकी शर्मा २०७० र २०७४ सालमा समानुपातिक सांसद बनिन् र सामान्य प्रशासन मन्त्री समेत भइन् । शर्मा पहिलो पटक प्रत्यक्ष निर्वाचनमा उम्मेदवार भएकी छिन् । सोही निर्वाचन क्षेत्रबाट एमालेका महासचिव शंकर पोखेरल पनि उम्मेदवार छन् । दुईबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

पाँचदलीय गठबन्धनको साथ भएकाले जित आफ्नो पक्षमा हुने शर्माको तर्क छ । उनी भन्छिन्, ‘जनतामाझ ठूला सपना बाँड्दिनँ, अधुरा काम गरेर देखाउँछु ।’ पूर्व सांसद शर्मासँग पत्रकार आभास बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंश :

चुनाव नजिकिइसक्यो, तयारी कस्तो छ ?

मनोनयन दर्ता गरेसँगै हामी चुनावी तयारीमा छौं । अहिलेको तयारी भनेको गठबन्धन दलका कार्यकर्ताहरू वडा तहसम्म परिचालन गर्ने, राजनीतिक भेटघाट, छलफल गर्ने जस्ता आन्तरिक कामहरू भइरहेका छन् ।

अहिलेसम्म घोषणापत्र तयार भएकै देखिंदैन, के एजेण्डा लिएर मतदाता कहाँ पुग्दै हुनुहुन्छ ?

घोषणापत्र आउन बाँकी नै छ, त्यसपछि मात्रै हामी हाम्रा एजेण्डाहरू के हुन् भनेर मतदातालाई बताउँछौं । तर अहिलेको मुख्य राजनीतिक विषय भनेको हामी गठबन्धनमा छौं । गठबन्धन के कारणले बन्यो, किन बन्यो ? भन्ने कुरा जनतालाई बुझाउँदै हिंडेका छौं ।

यो निर्वाचन सामान्य विषय नभएर अग्रगमन र पश्चगमन विरुद्धको लडाईं हो । लोकतन्त्र पक्षधर र विरोधीबीचको लडाईं हो । हिजोको लामो संघर्षपछि समानुपातिक, समावेशीलगायत जे–जस्ता उपलब्धि हासिल भएका छन्, त्यसलाई रक्षा गर्ने र नगर्ने बीचहरूको लडाईं पनि हो ।

अर्को कुरा संविधानमा नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गर्ने र देशलाई निरंकुशतातिर लैजाने जुन प्रयत्न भयो, त्यसका विरुद्ध यो गठबन्धन बनेको हो भन्ने जनतालाई बुझाउँदै हिंडेका छौं । तर हामी अझै पनि मतदाताको घरदैलोमा पुगेका छैनौं । आम कार्यकर्ता र शुभचिन्तकमाझ गठबन्धन किन आवश्यक छ भन्ने बुझाउँदै हिंडिरहेका छौं । हामी यो निर्वाचनमा अरूका कमजोरी भन्दा पनि आफ्ना समृद्धिका कुरा र हामी दाङको विकास कसरी गर्छाैं भनेर जनतामाझ बुझाउने तयारीमा छौं ।

पूर्व सभामुख कृष्णबहादुर महराले चुनाव नलड्ने घोषणा गरेपछि अकस्मात् टिकट तपाईंको भागमा पर्‍यो । एमालेको बलियो उम्मेदवार महासचिव शंकर पोखरेलसँग तपाईंलाई प्रतिस्पर्धा गर्न भारी पर्ने देखियो नि ?

मुख्य कुरा के हो भने म यही ठाउँ (दाङ–२) को प्रतिनिधि भएकाले पार्टीभित्र प्रत्यक्षमा टिकट पाए चुनाव लड्छु भनेर आफ्ना कुरा राख्दै आएकी थिएँ । त्यसमाथि महरा सरले चुनाव नलड्न पनि सक्छु भन्दै आउनुभएको थियो । त्यसकारण पनि महरा सर, मसहित तीन जना (निर्मल आचार्य) को नाम पार्टीले जिल्लाबाट सिफारिस गर्‍यो । त्यसैले पनि मेरो लागि यो अकस्मात् थिएन, पहिलेदेखि नै म मानसिक रूपमा चुनाव लड्न तयार नै थिएँ ।

जहाँसम्म बलियो उम्मेदवारको कुरा गर्नुभयो, मूल कुरा व्यक्ति भन्दा पनि एजेण्डा हो भन्ने म ठान्छु । एजेण्डा बलिया र कमजोर हुनसक्छन् तर व्यक्ति बलिया र कामजोर भन्ने हुँदैन । त्यसैले को बलियो को कामजोर उम्मेदवार भन्ने कुरै छैन । मलाई लाग्छ गणतन्त्र प्राप्ति, संविधान निर्माण, महिला र दलितको अधिकार स्थापना गर्ने कुरामा मैले खेलेको भूमिका कोही कसैको भन्दा कम छ जस्तो लाग्दैन ।

संविधानमा अधिकार स्थापित गर्ने सन्दर्भमा र मुलुकलाई नै परिवर्तन गर्ने सन्दर्भमा मेरो महत्वपूर्ण भूमिका छ भन्ने म ठान्छु । आजसम्म आउँदा पनि हामी संविधानको रक्षाका निम्ति उभिएका छौं । प्रतिगमन विरुद्धको आन्दोलनको सवालमा पनि हामी सक्रिय छौं । त्यसकारण कोही उम्मेदवार बलियो र कोही कमजोर भन्ने हुँदैन । पदीय हिसाबमा कोही कहाँ कोही कहाँ होला यसमा मेरो केही भन्नु छैन, तर हाम्रा एजेण्डा र गठबन्धनको मतका हिसाबले म आफूलाई बलियो उम्मेदवार ठान्छु ।

दाङले केन्द्रको राजनीतिमा प्रभाव राख्न सक्ने नेता पायो । तर यहाँका जनताले अपेक्षा गरे अनुसारको विकास पाएन भन्ने जनगुनासो छ । यो चुनावमा रेखा शर्मालाई विश्वास गर्नुपर्ने कारण के ?

पहिलो २०६४ सालपछि मात्र हामी चुनावी प्रक्रियामा आयौं । त्यसअघि हामी चुनावमा थिएनौं, त्यो फरक कुरा भइहाल्यो । २०६४ सालमा हाम्रो मूल ध्येय नै संविधान निर्माण गर्ने भन्ने थियो र विकास निर्माणको काम सहायक थियो । त्यो बेला राजनीतिक परिस्थिति जे थियो, त्यसलाई ट्रयाकमा ल्याउने कुरा नै मूल थियो । त्यसपछि हामीले संविधान निर्माण गरेर राजनीतिलाई ट्रयाकमा ल्यायौं । तर ट्रयाकमा आएको त्यही राजनीतिलाई अहिले यताउता गर्ने प्रयत्न भइरहेको छ । त्यसका लागि आज पनि हामी लडिरहेका छौं ।

जहाँसम्म विकास निर्माणको कुरा छ, संविधानसभाको पहिलो निर्वाचनपछि यही क्षेत्रबाट चुनाव जित्नुभएका नेता कृष्णबहादुर महरा पटक–पटक मन्त्री हुनुभयो । उहाँ मन्त्री हुँदा यो क्षेत्रमा थुप्रै विकासका काम भएका छन् । २०७० सालपछि म सांसद भएपछि पनि विकासका काम भएका छन् । तपाईंले हेर्नुहुन्छ भने शहीद मार्गको ट्रयाक खोल्ने काम हामै्र अग्रसरतामा सुरु भएको हो । दाङबाट प्युठान, रोल्पा र सुर्खेत जोड्न बाटोको ट्रयाक खोल्ने काम भएका छन् । खानेपानी र सिंचाइका काम व्यवस्थित ढंगले भएका छन् ।

तर पछिल्लो समयमा यहाँका नेता (शंकर पोखरेल) प्रदेशको मुख्यमन्त्री हुँदा जस्तो विकास हुनुपर्थ्यो, त्यो भएन । बरु ठूला–ठूला सपनाहरू देखाइए तर सडकका खाल्डा पुर्ने काम भएनन् । म के भन्छु भने हामीले आकाश देखाएर होइन धर्तीमा टेकेर सपना बाँड्ने हो । नयाँ सपना बाँड्ने भन्दा पनि सम्भावना हुने कामहरू गर्ने हो, तिनलाई व्यवस्थित गर्ने हो ।

अहिलेको अवस्थामा पाँच वर्षमा गर्न सकिने काम के–के हुन् ? ती कामहरूलाई व्यवस्थित गर्नेतर्फ लाग्नुपर्छ । आकाश र चन्द्रमाको सपना देखाउने तर जमिनको काम पनि नगर्ने जुन प्रवृत्ति छ, त्यसलाई अब अन्त्य गर्नुपर्छ । जनतामाझ ठूला सपना देखाएर निराशा बाँड्ने होइन, पूरा गर्न सकिने कामहरूको मात्र सपना बाँड्नुपर्छ ।

म अहिले दंगाली जनताको प्रतिनिधित्व गर्ने हिसाबले चुनावमा आइरहँदा के भन्न चाहन्छु भने, म उहाँहरूको सहज पहुँचमा हुनेछु । जनताको पहुँचमा पुग्न मेरो लागि कुनै बार–बन्देज हुनेछैन । म सहजै उपलब्ध हुनेछु । यस क्षेत्रमा भएका जनताको आवश्यकतालाई ख्याल गर्दै, त्यस किसिमको विकासको मोडल तयार गर्छु । चुनावमा निर्वाचित भएर गइसकेपछि पाँच वर्षभित्र गर्न सकिने काम गर्छु । म काम गरेर देखाउँछु, सपना बाँड्दिनँ ।

गएको स्थानीय तहको चुनावमा गठबन्धन दलहरू इमानदार नहुँदा पराजय हुनुपर्‍यो । अहिले पुनः त्यही दलसँगै चुनावी तालमेल गरेर चुनावमा होमिंदा फेरि पनि अन्तर्घात हुने सम्भावना देखिंदैन ?

विगतको निर्वाचनमा दलहरू इमानदार नभएका होइनन्, केही प्राविधिक कारणले पराजय भोग्नु परेको थियो । उम्मेदवार नै नभएको चुनाव चिह्न हुँदा गठबन्धनको करिब १० हजार मत बदर भयो । अर्काे विगतमा हाम्रो मनोविज्ञानमा, बुझाइमा केही समस्या थिए । अहिले ती सबै समस्यालाई हामी चिर्न खोज्दैछौं ।

स्थानीय तहको चुनावमा समय पनि थोरै हुँदा कतिपय कुरा कार्यकर्ता र जनतालाई बुझाउन सकेनौं । अहिलेको निर्वाचनमा हामीले यी सबै कुरा बुझाइरहेका छौं । यो निर्वाचन निर्वाचन मात्र नभएर प्रतिगमन विरुद्धको लडाईं हो भनेर जनतालाई सम्झाएका छौं । विगतमा भएका कमजोरीको पनि समीक्षा गरेका छौं । यसअर्थमा यो पटक गठबन्धनकै मर्म अनुसार भोट खस्नेछ र प्रतिगमन विरुद्धको लडाईंमा हामी विजयी हुनेछौं भन्नेमा ढुक्क छौं ।

दाङको समृद्धिका लागि तपाईंको ‘विकासको मोडल’ कस्तो छ ?

हामी छिट्टै घोषणापत्र लिएर मतादाताकहाँ पुग्नेछौं । त्यो बेला हाम्रा चुनावी एजेण्डाहरू आउने नै छन् । तर मूलतः हामीले गर्ने काम भनेको यहाँ भएका पूर्वाधारलाई व्यवस्थित र स्तरोन्नति गर्ने नै हो । हामी जनतालाई नयाँ सपना बाँड्ने भन्दा पनि अधुरा कामहरू पूरा गरेर देखाउँछौं ।

उदाहरणका लागि हामीले निकै दुःखका साथ दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्यायौं । तर, त्यहाँबाट दिनुपर्ने गुणस्तरीय स्वास्थ्य सेवा दिन र राम्ररी मेडिकल कलेज सञ्चालन गर्न सकेनौं । त्यसलाई छिटोभन्दा छिटो व्यवस्थित गर्दै मेडिकल शिक्षा सुरु गर्नुपर्नेछ । त्यस्तै दाङमा रहेको नेपाल संस्कृत विश्वविद्यालय, जुन पूर्वीय दर्शनको आफैंमा ठूलो विश्वविद्यालय हो ।

अन्तर्राष्ट्रियस्तरमै पूर्वीय दर्शनप्रति आकर्षण बढिरहेको बेला हामीले भने यसलाई स्थानीयस्तरमा पनि व्यवस्थित गर्न सकेका छैनौं । हाम्रो चाहना संस्कृत विश्वविद्यालयलाई व्यवस्थित गरेर अन्तर्राष्ट्रियस्तरमै लैजाने गरी यसको विकास गर्नेछ ।

यहाँको अर्काे ठूलो समस्या एयरपोर्टको हो । अन्तर्राष्ट्रियस्तरको एयरपोर्ट बनाउने कुरा पटक–पटक उठ्दै आएको छ । तर भएको एयरपोर्टमा कम्तीमा ७२ सिटको जहाज सञ्चालन गर्न सक्ने गरी स्तरोन्नति गर्न सकेका छैनौं । अन्तर्राष्ट्रियस्तरको पनि चाहिएला तर अहिलेलाई ७२ सिटका विमानहरू तत्काल नियमित सञ्चालन गर्नुपर्ने अवस्था छ । त्यसैले दाङ जस्तो जिल्लामा सहज हवाई आवागमनका लागि एयरपोर्ट सञ्चालन एकदमै जरूरी देखेकी छु ।

त्यस्तै तुलसीपुर–लमही सडकखण्डको स्तरोन्नति गर्नुपर्नेछ । अर्काे कुरा दाङ कृषिका लागि राम्रो ठाउँ मानिन्छ तर सिंचाइ व्यवस्था छैन । सिंचाइका लागि माडी डाइभर्सनको कुरा पटक–पटक उठ्दै आए पनि काम भएको छैन । त्यसलाई अगाडि बढाउने सोचेकी छु । दाङ आफैंमा सुन्दर शहर छ तर अव्यवस्थित छ । यसलाई व्यवस्थित शहर बनाउन खानेपानी, ढल, सडक सबै पूर्वाधारहरू तयार गर्नमा ध्यान केन्द्रित गर्नेछु ।

मुख्य कुरा नयाँ काम गर्छु भन्दा पनि भएका कामलाई हामी पहिला व्यवस्थित गर्छौं । नयाँ स्कुल, कलेज खोल्ने भन्दा पनि भएकालाई व्यवस्थित गर्दै शिक्षाको हब बनाउनुपर्छ भन्नेमा मेरो ध्यान केन्द्रित छ । स्वास्थ्य र शिक्षामा मैले विशेष ध्यान दिनुपर्छ भन्ने सोचेकी छु । त्यस्तै महिलालाई आर्थिक रूपमा सक्षम र अधिकारसम्पन्न बनाउन विशेष योजनाहरू बनाउनेछु ।

थारू आदिवासीको बाहुल्य भएको यो ठाउँमा थारू संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने गरी योजनाहरू ल्याउने सोच छ । धार्मिक पर्यटकीय क्षेत्रहरूको विकास गर्न व्यवस्थित योजना बनाउने सोचेका छौं । तर यी काम गर्दा नयाँ सपना बाँड्ने भन्दा पनि कामहरू गरेर देखाउने हाम्रो प्रयास हुनेछ ।

अनलाईनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*