Home / Feature Breaking news / ५५ वर्षिय यमीकुमारीको पढाई मोह !

५५ वर्षिय यमीकुमारीको पढाई मोह !

सुशीला ओली
घोराही, ५ कातिक ।
“खाने मुखलाई जुंगाले छेक्दैन् ” भनेझैँ ५५ वर्षिय यमीकुमारी पुनमगरलाई पढ्न उमेरले छेकेको छैन् । दाङको घोराही उपमहानगरपालिका–२ रामपुर कालिमाटीका यमी कुमारी ५५ वर्षको उमेरमा विद्यालय जाने गर्नुहुन्छ । स्थानीय गंगा माध्यामिक विद्यालय रामपुरकोे कक्षा पाँचमा अध्ययनरत यमी साक्षर हुन नसकेकै कारण विभिन्न समस्या भोगेपछि बुढेसकालमै भए पनि पढ्ने रहर पूरा गर्न विद्यालय जाने गरेको बताउनुहुन्छ । ‘पढाई नभएकै कारण कति धेरै अवसर गुमाएको छु ।’ उहाँले भन्नुभयो–‘जीवन सजिलो र सहज बनाउन शिक्षा भन्दा ठुलो केहि रहेनछ्, त्यसकारणले अहिले ५५ वर्षको उमेरमा पनि विद्यालय जाने गरेकी छु ।’ शिक्षा आर्जन गर्नका लागि उमेरले केही गर्दैन भन्ने कुरा देखाउन पनि अरुलाई प्रेरणा मिल्ने उहाँको भनाई छ ।
उहाँ यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । जनप्रतिनिधिमा निर्वाचित भएपछि बैठकमा सहभागी हुनुपर्ने, उपस्थितिमा हस्ताक्षर गर्नुपर्ने, वितरण गरेका लेख्य सामग्री पढ्नुपर्ने र अध्ययन गरेर आफ्नो धारणा राख्नुपर्ने जिम्मेवारी आएको हुँदा दुईवर्ष अघि कक्षा तीनमा भर्ना हुनुभएको थियो । घरमा सबै परिवार शिक्षित भएको बताउँदै उहाँले आफु पनि पढेर हरेक कुराको जानकार बन्ने रहर पुरा हुँदै गएको बताउँनुहुन्छ । यसअघि स्थानीयतहमा निवाचिर्त भए पश्चातको समयमा आफु पढेलेखेको भए अझ धेरै विषय सिक्न र जान्न सहज हुने उहाँको भनाई छ । यमी घरको काम सबै भ्याएर पनि नियमित विद्यालय जाने गर्नुभएको छ । शिक्षकहरुले पढ्ने समयमा आज यो पाठ अथवा विषय पढ्ने हो भन्ने वित्तिकै आफुले सहज तरिकाले भेटाउन सकेको उहाँको अनुभव रहेको छ ।
‘शुरु शुरुमा पढ्न केहि असहज थियो, अहिले त सहज भइसकेको छ ।’ उहाँले भन्नुभयो–‘अहिले नियमित विद्यालयमा जाने गरेको छु ।’ आफनो स्वास्थ्यले साथ दिदाँसम्म पढाईलाई निरन्तरता दिदै जाने उहाँको अठोट छ । बिचैमा पढाई छोडेकाहरुलाई पनि उहाँको पढ्ने र केहि सिक्ने रहेरले प्रेरणा मिल्ने गरेको देखिन्छ् । ‘म विद्यालयबाट फर्कदा अरुले पनि के कति, के के? पढेको भनेर चासो राख्ने गर्छन, उहाँ भन्नुहुन्छ, ‘बिचैमा पढाई छोड्नुभएका दिदी बहिनीहरुले चासो राखेको देखेर खुसि लाग्छ ।’ उहाँलाई परिवारबाट पनि पढाईका लागि निकै सहयोग मिल्ने गरेको छ । आफ्ना नाति नातिनाले अध्ययन गर्ने तहमा बसेर उनीहरूसँगै खेल्दै रमाउँदै गरेर सिक्दा झनै रमाइलो हुने गरेको यमीको अनुभव छ । उहाँको छोरी दुर्गा पुनले आमाको पढाईप्रतिको उत्साहाका कारण सबै परिवार खुसि हुनुे गरेको बताउनुहुन्छ । पढ्नुपर्छ भन्ने त्यो जोस जागर आमामा भएकोले भोलिका दिनमा शिक्षण सिकाईमा अझ प्रभावकारी बढ्दै जाने उहाँको विश्वास छ । उहाँले आफनो पढाईलाई निरन्तरता दिए संगै विद्यालयमा वातावरण रमाइलो बनेको र अरू साना उमेरका विद्यार्थी पनि सिकाइका लागि उत्प्रेरित भएको विद्यालयका शिक्षक सिता अधिकारी बताउनुहुन्छ ।
परिवेश अनुसारको अध्यापन गराउँदा साना उमेरका विद्यार्थी भन्दा यमीले छिटो सिक्ने र बुझने गरेको उहाँले बताउनुभयो । उहाँलाई सुरुवाति दिनहरुमा अध्ययनका लागि केहि अप्ठेरो भएपनि हालभने निकै सहज भएको छ । उहाँले सिकाईप्रति उत्सुक्ता राखेको देख्दा खुसी लाग्ने गरेको उहाँको भनाई छ । पुराना पुस्ताका व्यक्तिले अझै पनि अध्ययनमा चासो देखाउनुले समाजमा पठन संस्कृतिको विकास हुने र त्यसले हरेक विद्यार्थीलाई अध्ययनशील बनाउने विद्यालयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*