Home / Feature Breaking news / आज र भोलि वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज र भोलि वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यो वर्षको दसैँमा पानी पर्ने भएको छ । दसैँको टीकाको दिन पनि पानी पर्ने भएको छ । जल तथा मौसम विज्ञान विभागले मनसुनी प्रणाली बाहिरिन केही दिन ढिलो भएकाले दसैँभर पानी पर्ने जनाएको छ ।

आज पनि देशका केही भू–भागमा बिहानैबाट पानी परिरहेको छ । प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर सामान्य बदली रहनेछ । प्रदेश–१, मधेस प्रदेश,  वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश–१, मधेस प्रदेशका एकदुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भोलि (बुधबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । विभागका अनुसार प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

भोलि राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*