Home / Feature Breaking news / सुसंस्कृत राजनीतिमा पत्रकारिता

सुसंस्कृत राजनीतिमा पत्रकारिता

नेपाली समाज राजनीतिक रूपमा निकै धुव्रीकृत हुँदै गएको छ। राजनीति सही रूपमा अगाडि बढ्न नसकेका बेला राजनीतिक नेतृत्वबाट हुने स्वार्थकेन्द्रित निर्णयले यसलाई मलजल गरिरहेको छ। अहिलेको पछिल्लो राजनीतिक तथा संवैधानिक घटनाक्रमलाई हेर्दा पनि संविधान र प्रक्रियाका आधारमा भन्दा पनि दलीय आस्थाका आधारमा विश्लेषण गर्दै दुई पक्षमा समाज विभाजित भइरहेको छ। यस्ता घटना त्यसैका प्रभाव हुन्।

नेपालको राजनीतिले सही गति पक्डन नसकेको दृष्टान्त हेरौँ। जहानियाँ शासन ढालेर प्रजातन्त्र आयो तर टिकेन। अझ राम्रो गर्छु भन्दै राजाले पञ्चायती व्यवस्थाको नाममा निरङ्कुशतन्त्र चलाए त्यो पनि टिकेन। बहुदलीय व्यवस्थाका पुनस्र्थापना भयो, त्यसले पनि अपेक्षित गति लिन सकेन। राजनीतिक अस्थिरता, संसद् विघटन, सत्ताकेन्द्रित गतिविधिले मात्र प्राथमिकता पाउने अवस्था देखियो।

फेरि राजा सक्रिय भए, अवस्था बदलिएन। संयुक्त जनआन्दोलन भयो, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता स्वीकार गरियो, यी कुरालाई व्यवस्थित गर्न संविधान सभाले संविधान बनायो। तर पनि आजका दिनसम्म आउँदा अब त राजनीतिले सही गति लिन्छ कि भनेर आश्वस्त हुने ठाउँ देखिँदैन।

सम्भवतः यो कुरामा त्यति धेरै विवाद हुँदैन होला। साझा अनुभूति नै होला यो। नेपाली राजनीतिको यो अवस्था बनिरहनुमा राजनीतिक नेतृत्व प्रमुख कारक हो नै। तर सबै दोष राजनीतिक नेतृत्वलाई मात्र दिएर पुग्ला त ? यसमाथि छलफल नहुँदासम्म राजनीतिमा सुधार सम्भव छैन।

नेपाली पत्रकारिता नेपालको राजनीतिक परिवर्तनको एउटा बलियो साक्षी हो। परिवर्तन केका लागि भएका थिए र परिवर्तनकारीले आफ्ना एजेन्डालाई कत्तिको आत्मसात् गर्न सके यो कुराको चिरफार नेपाली पत्रकारिता हुन सक्छ। पत्रकारिताले यो विषयलाई विश्लेषण गर्दै गयो भने कहाँ कहाँ ‘करेक्सन’ आवश्यक छ भनेर थाहा हुनसक्छ।

अहिलेसम्मको प्रवृत्तिलाई विश्लेषण गर्ने हो भने नेपाली पत्रकारिताले नागरिक अधिकार भनौँ वा लोकतान्त्रिक पद्धतिका पक्षमा आफूलाई उभ्याउँदै आएको छ। राजनीतिक विषयमा लेख्दै गर्दा दलका गतिविधिलाई ‘एक्पोजर’ दिने प्रवृत्ति नेपाली पत्रकारिताले देखाउँदै आएको छ।

मूलतः यिनै दुई तरिकाबाट नै पत्रकारिताले राजनीतिलाई सघाउने हो।

प्रजातन्त्र पुनस्र्थापनापछिको अर्थनीतिले पत्रकारिता क्षेत्रमा निजी क्षेत्रको लगानी भिœयाउनका लागि ढोका खोली दियो। निजी क्षेत्रको प्रवेशसँगै प्रतिस्पर्धात्मक चरित्र नेपाली मिडियाले ग्रहण गर्दै जान थाल्यो। यस्तो प्रतिस्पर्धाले मिडियाका सामग्रीमा समेत विविधता आउन थाले। राजनीतिक विषयवस्तु मात्र प्रमुख शीर्षक बन्छन् भन्ने कुरा समाप्त भयो। यद्यपि राजनीतिसँग जोडिएका सामग्रीहरूले प्राथमिकता भने पाइरहेका छन्, जो स्वाभाविक पनि हो। भ्रष्टाचार, सफलता, विभेद, अन्याय, पीडाजस्ता सामग्रीहरू अब पत्रकारिताका सामग्री बन्ने गरेका छन्। शिक्षा, स्वास्थ्य, सुशासन, निजामतीका विषयहरू पनि महìवका साथ आउन थालेका छन्। व्यावसायिक प्रतिस्पर्धाको यात्राले पत्रकारितालाई यसरी विविधता र बहुलवादलाई आत्मसात् गर्न सिकाएको छ।

यो क्षणमा आइपुग्दा पत्रकारिताले अब बिटका आधारमा समाचार लेख्ने, जनशक्ति उत्पादन गर्दै त्यसको अभ्यास गर्न थालिसकेको छ। राजनीतिक बिटको अभ्यास त एउटा महìवपूर्ण बिटका रूपमा हरेकजसो सञ्चारमाध्यमले गर्दै आइरहेका छन्। राजनीतिक बिटले खासगरी राजनीतिक घटनाक्रमका बारेमा जानकारी दिने, दलहरूका आन्तरिक गतिविधि ‘एक्सपोज’ गरिदिने, अन्तरकलहले पारेको समस्यामाथि टिप्पणी गर्ने, दलहरूका एजेन्डा कार्यान्वयनको अनुगमन गर्ने, दलहरूका एजेन्डामाथि नागरिक टिप्पणीहरूलाई आवाज दिने, राजनीतिक दलहरूले अघि सारेका चुनावी प्रतिबद्धतालाई कार्यान्वयन गर्ने सवालमा नीति निर्माताको बुझाइको विश्लेषण गर्ने गर्दछ।

त्यसैगरी,

दलहरूको प्रतिबद्धता कार्यान्वयनमा उनीहरूको सक्रियता र प्राथमिकताको मापन गर्ने, सामाजिक मुद्दामा दलहरूको धारणा सार्वजनिक गराउन, संविधानको रक्षाका सन्दर्भमा उनीहरूको भूमिकाको निगरानी गर्ने, संसद्मा दलहरूले खेलेको भूमिकालाई जनताका माझ पु¥याउने काम पनि पत्रकारिताले गर्नुपर्ने हुन्छ। मूल रूपमा यी भूमिका नै राजनीतिक बिटमा कलम चलाउने पत्रकारले खेलिरहेको हुन्छ र खेल्नु पर्दछ। यस्तो भूमिकाले नै हो राजनीतिलाई गतिशील बनाउने र जनतासँग राजनीतिलाई जोड्ने। राजनीतिलाई जनतासंग जोड्ने सामथ्र्य राजनीतिक बिटको पत्रकारिताले मात्र राख्दछ भन्दा हुन्छ। अन्यथा राजनीति सीमित टाठाबाठाको कोठाभित्र कैद हुन पुग्छ।

यति भनिरहँदा राजनीतिक बिटमा कलम चलाउने पत्रकारले नेपाली राजनीतिका आयामहरू, दलहरूको उदय र गतिशीलतासँग जोडिएका घटनाक्रम, उनीहरूका उद्देश्य, चुनावी प्रतिबद्धताजस्ता विषयमा राम्रो अध्ययन गर्नुपर्ने कुरा अति महìवपूर्ण हुन्छ। दिनदिनका घटना क्रममा कलम चलाउन सक्ने क्षमताले मात्र राजनीतिक बिट सम्हाल्न सम्भव छैन। यो बिट हेर्ने पत्रकारले माथि उल्लेखित सबै भूमिका निर्वाह गर्ने क्षमता र आत्मविश्वास राख्नुपर्दछ।

आफ्नो लक्ष्य राजनीतिमा सुधारका लागि योगदान दिने हो भन्ने भावनाका साथमा काम गर्नुपर्ने हुन्छ। यति ठूलो दायित्व निर्वाह गर्नुपर्ने भएकोले उसमा अध्ययनशील, फरासिलो, कुरा बुझ्न सक्ने क्षमता, स्रोतको पहिचान गर्न सक्ने क्षमता, सबै प्रकाकार स्रोतसंग आत्मीय क्षमता राख्ने कुशलता, अभिलेखहरूलाई सुरक्षित राख्नसक्ने कला, विश्लेषणमा दखल, तटस्थता कायम गर्न सक्नेजस्ता निश्चित गुणहरू चाहिन्छ। यी र यस्ता गुणको अभावमा कुनै पनि पत्रकारले राजनीतिक बिटमा काम गर्न सम्भव हुँदैन।

पत्रकारितामा राजनीतिक बिटको सही ढङ्गले अभ्यास हुँदै गर्दा त्यसले राजनीतिक प्रणालीमा सुधार ल्याउन मात्र होइन, नेपाली राजनीतिले जुन रूपमा अस्थिरताको सामना गरिरहेको छ, त्यसमा सुधार ल्याउनसमेत योगदान पुग्ने आकाङ्क्षा राख्न सकिन्छ। सबै राजनीतिक दल, उनीहरूका सबै गतिविधिप्रति समान धारणा राख्ने, जनताका माझ ‘सबै त उस्तै हुन्’ भन्ने भावना जागृत गर्ने हो भने त्यसबाट निराशा उत्पन्न हुन्छ, सही बाटो पक्डन सम्भव हुँदैन। दलहरूको गुण दोष केलाएर दलका गतिविधिमाथि निर्मम समीक्षा गरेर जस्ताको तस्तै जनताका बीचमा कुरा पु-याउने विशिष्ट दायित्व यो बिटले निर्वाह गर्न सक्दछ । त्यो आधारमा जनतामा धारणा बन्छ र राजनीतिभित्रको सही पक्षको वकालत जनस्तरबाटै हुन थाल्छ। त्यसो हुँदा खराब प्रवृत्ति निरुत्साहित हुन्छ।

यति मात्र गर्न सकियो भने राजनीतिक सुधारको यात्रामा ठूलो योगदान हुनेछ। मिडियाले वस्तुनिष्ठ तथ्य तथ्याङ्कको खुराक दिइराख्यो भने जनस्तरको बहस पनि त्यसमा आधारित हुन थाल्छ र त्यसले समाजलाई अहिलेको जस्तो ध्रुवीकरणको बाटोमा जानबाट जोगाउँछ।

अब छिट्टै नै सङ्घीय तथा प्रदेश तहको निर्वाचन हुँदैछ।

यो बेलामा दलका बीचमा आरोप प्रत्यारोपको बाढी नै चलेको छ। अझ नेकपा विभिन्न टुक्रामा विभाजित भएका कारण ती दलका नेताहरूले एकअर्काका विरुद्ध आरोप प्रत्यारोपमा छन्। राप्रपा फुटेको छ, त्यहाँ पनि त्यस्तै अवस्था छ। नेपाली कांग्रेसभित्र गठबन्धनको विषयमा एक खालको बहस छँदैछ। यो बेलामा पत्रकारिताले दलहरूको आरोप प्रत्यारोपलाई स्थान दिने हो भने त्यो क्रम अझै बढ्छ। मिडियामा ठाउँ पाइन्छ भनेर पनि नेताहरूले त्यस्ता अभिव्यक्तिहरू दिन थाल्छन्। तसर्थ, पत्रकारिताले यसरी प्रकट भइरहेका र समय समयमा हुने घृणापूर्ण अभिव्यक्तिलाई ठाउँ दिनु हुँदैन। यसले सामाजिक सद्भावसमेत बिथोल्ने काम गर्दछ। यस्ता कुरामा राजनीतिक बिटको पत्रकारिताले आफूलाई गम्भीर र पूर्ण सचेत बनाउनु पर्दछ।

घृणापूर्ण अभिव्यक्ति यति धेरै आउन थाल्यो कि अब यसलाई मिडियामा निरुत्साहित गर्न पर्दछ भनेर योजना नै बनाउन पर्ने देखिएको छ। यसै क्रममा यस पटक निर्वाचन आयोगले बनाएको आचारसंहितामा घृणापूर्ण अभिव्यक्तिलाई स्थान दिन नहुने व्यवस्था नै गरेको छ। आयोगले यस्तो व्यवस्था गरेको यो पहिलो पटक हो। राजनीतिक क्षेत्रलाई सही कोर्षमा लैजानका लागि जुन रूपमा बहस हुनपर्ने हो, त्यो हुन सकेको छैन। माफिया, बिचौलिया, नवधनाढ्यको प्रभावबाट राजनीतिलाई मुक्त गर्नुको साटो त्यास्तो प्रवृत्तिलाई राजनीतिमा भिœयाउन रातो कार्पेट ओछ्याउने प्रतिस्पर्धा छ।

त्यस्तै पात्र उम्मेदवार बन्ने र नीति निर्माणको तहसम्म पुग्न सहज बन्दै गएको छ। चुनाव निकै महँगो भएका कारण इमानदार कार्यकर्ताहरू निर्वाचनबाट भाग्दै राजनीतिमा समेत निष्क्रिय बन्न थालेको अवस्था छ। आदर्श परिकल्पनाका साथ राजनीतिमा प्रवेश गरेकाहरू स्वतःविस्थापित बन्दै गएका छन्। यो अवस्थामा मिडियाले आफ्नो भूमिकाको समीक्षा गर्नु आवश्यक छ। लगानीको सुरक्षाभन्दा सम्पादकीय स्वतन्त्रता र दायित्वलाई अझ

प्रभावकारी बनाउँदै लैजानुपर्ने अवस्था आएको छ। राजनीतिमा हावी हुँदै गएको गलत प्रवृत्तिका विपक्षमा पत्रकारिता उभियो भने मात्र परिवर्तन सम्भव छ।

लेखक नेपाल पत्रकार महासङ्घका अध्यक्ष हुनुहुन्छ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*