Home / Feature Breaking news / हाम्रो पार्टी धेरै नै बिग्रेको छ : प्रचण्ड
फाईल तस्वीर

हाम्रो पार्टी धेरै नै बिग्रेको छ : प्रचण्ड

सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय पार्टीमा विचलन देखापरेको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा आयोजित रामवृक्ष यादवको २८औँ स्मृति दिवस कार्यक्रममा उनले पार्टीमा पछिल्लो समय क्रान्तिकारी नरहेको जिकिर गरे । पार्टी पहिलाको जस्तो नरहेको भन्दै पार्टी केही बिग्रिएको बताए । उनले व्यक्तिवादी, आत्मकेन्द्रित र स्वार्थीपन पार्टीमा देखिएको पनि बताए ।

अध्यक्ष प्रचण्डले क्रान्ति, परिवर्तन, समाज र राष्ट्रको निम्ति प्र्रतिस्पर्धा गर्नेतर्फ नेता–कार्यकर्ता केन्द्रित नभएको उल्लेख गरे । उनले सामूहिक भावनाद्वारा अघि बढ्नेभन्दा स्वार्थ समूह बनाउनेतिर पार्टी अघि बढेको गुनासो गरे ।

व्यक्तिवादी चरित्रका कारण पार्टीको वर्गचरित्र वा क्रान्तिकारी गतिमा नराम्रोसँग असर परेको उनको भनाइ छ ।

“हाम्रो पार्टी अहिले पहिलाको जस्तो छैन । धेरै नै बिग्रेको छ । हामी अलिकति बिग्रेका छौँ भन्ने बाटोबाट नै सुरु गर्नुपर्ने ठान्छु म । हामी हिजोको जस्तो क्रान्तिकारी छैनौँ । हामी व्यक्तिवादी भएका छौँ, आत्मकेन्द्रित भएका छौँ । स्वार्थी भएका छौँ । हामीले क्रान्ति, परिवर्तन, समाज, राष्ट्रको निम्ति प्र्रतिस्पर्धा गरेर त्याग गर्नेतिर होइन, आफ्नै निम्ति कसरी गर्ने भन्नेतिर उद्दत हुन थालेका छौँ,” उनले भने, “हामी सामूहिक भावनाद्वारा अघि बढ्नेभन्दा स्वार्थ समूह बनाउनेतिर, त्यो वैचारिक गुट पनि होइन, त्यतातिर जान थालेका छौँ । यसले पार्टीको वर्गचरित्र वा क्रान्तिकारी गतिमा नराम्रोसँग असर परेको छ । हामी विचार, कुरा र मुखमा त अहिले पनि क्रान्तिकारी नै छौँ, तर हाम्रो व्यवहार, आचरण, दैनिकीसँग त्यो मिल्दैन । हाम्रा भनाइ र हाम्रा गराइमा कति हो कति ठूलो अन्तर आइसकेको छ । यो अन्तरविरोधलाई हल गर्ने आवश्यकता निकै ठूलो छ । यसलाई हल गर्न सकेनौँ भने हामीले क्रान्तिकारी हौँ र हुनुपर्छ भन्ने कुराको औचित्य समाप्त हुन्छ । केही समय यस्तै रहिराखे त्यसको औचित्य सिद्धिन्छ ।”

प्रचण्डले अबका दिनमा पनि माओवादी पार्टी नै क्रान्तिकारी बन्ने सम्भावना भएको पनि बताए । सिद्धान्त र व्यवहारलाई एक ठाउँमा ल्याएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । पुरानै तरिकाले राष्ट्रको आवश्यकता पूरा नहुने भएकाले वामपन्थी आन्दोलनलाई एकीकृत र ध्रुवीकृत गरेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*