Home / Feature Breaking news / दाङमा एक पालिका, एक नमूना कृषि वन

दाङमा एक पालिका, एक नमूना कृषि वन

दाङ,२१ साउन । दाङमा वनमा रहेको खाली जमिनलाई उपयोग गरेर उपभोक्ताको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले पहिलो पटक एक पालिका एक नमूना कृषि वन कार्यक्रम सुरु गरिएको छ । जिल्लाका दश पालिकाहरु मध्य पहिलो पटक पाँच वटा पालिकाहरुमा कार्यक्रम सुरु गरिएको हो ।

एक पालिका एक नमूना कृषि वन कार्यक्रम अन्तर्गत घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका,दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका र बंगलाचुली गाउँपालिका गरि पाँच पालिकामा कार्यक्रम सुरु भएको हो । कार्यक्रम अनुसार ४९ हेक्टर खाली जमिनमा छनोट गरेर काष्ठजन्य, गैह्रकाष्ठ, जडिबुटी र फलफुलका ४७ हजार बढी विरुवाहरु रोपिएको डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत तथा सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिएका छन् ।

सूचना अधिकारी केसीका अनुसार घोराही उपमहानगरपालिकामा ८.२२ हेक्टर, तुलसीपुर उपमहानगरपालिकामा ६.५० हेक्टर, बंगलाचुली गाउँपालिकामा १० हेक्टर, शान्तिनगर गाउँपालिकामा ९.४१ हेक्टर र शान्तिनगर गाउँपालिकामा १४ हेक्टर गरी ४९ हेक्टर क्षेत्रफलमा नमूना कृषि वन कार्यक्रम लागु गरिएको हो । कार्यक्रम अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं.११ र १२ का ३५ घरधुरीको ५.१७ हेक्टर, वडा नं. ४ मा रहेको माध्यामिक विद्यालय डाँडागाँउ गोग्लीको १.५ हेक्टर, वडा नं. १ मा रहेको सिद्ध कृषि वन र वडा नं. ११ मा रहेको प्रगति कृषि वनको १÷१ हेक्टर गरी ८.२२ हेक्टर जमिनलाई नमूना कृषि वनका रुपमा विकास गरिएको छ ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नं. ४,८,९,१०,१२ र १७ का १४ घरधुरीले ६.५०, बंगलाचुली गाउँपालिका–५ मा रहेको साकिने कृषि वनको १० हेक्टर, शान्तिनगर गाउँपालिकाका १४ घरधुलीले ९.४१ र दंगीशरण गाउँपालिका वडा नं. २,५,७ र ९ का ६५ घर परिवारले १४ हेक्टर जमिनमा खेती गरेको डिभिवन वन कार्यालय दाङले जनाएको छ ।

डिभिजन वन कार्यालय घोराही अन्तर्गत रहेका पाँच वटै पालिकाहरुलाई समेट्ने कार्यक्रम भएपनि यसबर्ष बबई गाउँपालिकामा कार्यक्रम हुन नसकेको सूचना अधिकारी केसीले बताउनुभयो । वन तथा व्यक्तिको खाली रहेको जमिनलाई उपभोग गर्दै वनका माध्यमबाट आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले कार्यक्रम लागु गरिएको उनले बताए ।

नमूना वनमा ४७ हजार बढी विरुवा

कार्यक्रम अनुसार ४९ हेक्टर क्षेत्रमा काष्ठजन्य, गैह्रकाष्ठ, जडिबुटी र फलफुलका ४७ हजार ७ सय २ विरुवाहरु रोपिएको डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत तथा सूचना अधिकारी केसीले जानकारी दिएका छन् । उनका अनुसार नमूना कृषि वनमा सवैभन्दा बढी काष्ठजन्य विरुवा १९ हजार ४ वटा, जडिबुटीका १४ हजार २० विरुवा,फलफुलका ७ हजार ६९९,डालेघाँसका ४ हजार ८२६ र गैह्रकाष्ठका २ हजार १५३ विरुवाहरु रोपिएको छ ।

उनका अनुसार घोराही उपमहानगरपालिकाको ८.२२ हेक्टरमा काष्ठजन्य विरुवा १ हजार ९२०, फलफुलका १ हजार ५१८ विरुवा, जडिबुटीका २ हजार ८० विरुवा, डालेघाँसका २ हजार ६०० विरुवा र गैह्रकाष्ठका ३५६ विरुवा गरि ८ हजार ४७४ विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको ६.५० हेक्टरमा काष्ठजन्य ५ हजार ३५७ विरुवा, फलफुलका ३९४,जडिबुटीका ५८ विरुवा र डालेघाँसका १ हजार २३३ विरुवा गरी जम्मा ५ हजार ८०९ विरुवा, बंगलाचुली गाउँपालिकाको १० हेक्टर जमिनमा काष्ठजन्य १४७ विरुवा, फलफुलका १ हजार ९५० र जटिबुटीका ९ हजार १७३ विरुवा रोपिएको छ ।

त्यसैगरी शान्तिनगर गाउँपालिकाको ९.४१ हेक्टरमा काष्ठजन्य ३ हजार ४५६ विरुवा, फलफुलका १ हजार ९११ विरुवा, जडिबुटीका २ हजार २६५ विरुवा, डालेघाँसका १ हजार ६८८ विरुवा र गैह्रकाष्ठका १ हजार ७१९ विरुवा गरि ११ हजार ३९ विरुवा र दंगीशरण गाउँपालिकाको १४ हेक्टर जमिनमा काष्ठजन्य ८ हजार १२५ विरुवा, फलफुलका १ हजार ९२६ विरुवा, जडिबुटीका ४४४ विरुवा, डालेघाँसका ५३८ र गैह्रकाष्ठका ७८ गरी ११ हजार १ सय ११ विरुवा रोपिएको डिभिजन वन कार्यालय घोराहीका सूचनाअधिकारी केसीले जानकारी दिएका छन् । कृषि वनमा समावेश किसानहरुलाई प्रोत्साहनका लागि डिभिजन वडा कार्यालयले प्रति विरुवा २० रुपैया अनुदान दिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*