Home / Feature Breaking news / दाङमा पाक्यो चैते धान, काट्दै किसान

दाङमा पाक्यो चैते धान, काट्दै किसान

लिलाधर वली
दाङ, २२ असार । असारको महिना अन्त्यतिर लाग्दै गर्दा जिल्लाका अधिकांश किसानहरु धान खेतीमा व्यस्त छन् । मानो छरेर मुरी उब्जाउनका लागि किसानहरु खेत जोत्नदेखि धान रोप्न व्यस्त छन् । असारे झरीसँगै विगत तीन दिनदेखि सक्रिय मनसुन सुरु भएकाले किसानलाई धान रोप्न पानीको पनि समस्या देखिएको छैन । कतै सुख्खा स्थानमा मोटरबाट पानी तानेरै पनि किसानहरुलाई धान रोप्न भ्याइँ–नभ्याइँ छ ।

पूर्वी देउखुरी क्षेत्रमा करिब ७० प्रतिशत खेतमा रोपाइँ सकिइसकेको छ भने दाङ उपत्यकामा पनि करिब ५० प्रतिशतको हाराहारीमा रोपाइँ भैसकेको कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ । कृषिलाई यान्त्रिकरणतर्फ लगिँदै गर्दा धान रोपाइँमा पनि हल गोरु र ठिगारेको साटो टेक्टर र पावर टेलरबाट खेत जोत्ने र सम्याउने काम भइरहेको किसानहरुले बताएका छन् । यद्यपि रसायनिक मलको सहज आपूर्ति भने हुन सकेको छैन । किसानहरुले भारतीय सीमा बजारबाट ल्याएको महंगो मल प्रयोग गरेरै पनि धान रोप्ने कामलाई निरन्तरता दिइरहेको बताएका छन् ।

जिल्लाका अधिकांश ठाउँमा धान रोपाइँ भइरहँदा बंगलाचुली गाउँपालिका–४ डाबरका किसानलाई भने चैते धान घरमा भित्र्याउन हतारो छ । खेतमा पाकेको धानलाई पानीले असर गर्ने भएपछि किसानहरुलाई चैते धान घरमा भित्र्याउन हतार भएको हो । बैशाखको पहिलो सातातिर रोपेको धान पाकेसँगै घरमा भित्र्याउन थालेको बंगलाचुली–४ डाबर निवासी किसान रत्न थापाले बताएका छन् । उनका अनुसार अहिले चैते धान काट्नदेखि धान घरमा भित्र्याउने काम भइैरहेको छ ।

‘बर्खे धान भएको भए एकै पटक काटेर विस्तारै दाउने हुन्थ्यो । तर चैते धान बर्षातको समय काट्नुपर्ने भएका कारण सकेर दाउने हुँदैन’, किसान थापाले भने– ‘त्यसैले बर्षातको समयमा पानी पर्ने डरका कारण धान काट्दै घरमा लगेर धान झाट्ने गरिरहेका छौ ।’ उनका अनुसार चैते धान यसबर्ष राम्रो उत्पादन भएको बताए । करिब ६ कठ्ठा खेतमा चैते धान रोपेका थापाले उक्त खेतमा पुनः बर्खे धान रोपेर बर्षमा दुई बाली धान उत्पादन गर्दै आएका छन् । अब उनले बर्षेधान रोप्ने तयारीमा जुटेका छन् ।

त्यसैगरी बंगलाचुली गाउँपालिका–४ तल्लो गहतेरा निवासी रेश्मा गिरीलाई पनि खेतमा पाकेको चैते धान घरमा भित्र्याउन चटारो छ । चैते धान पाकेसँगै बर्खे धान रोप्नलाई ब्याड तयार हुन थालेपछि पाकेको धान काट्दै गरेको गिरीले बताइन् । ‘खेतमा बैशाखमा रोपेको धान पाकिसकेको छ भने बर्खे सिजनका लागि ब्याड पनि तयार हुँदैछ’, गिरीले भनिन्– ‘त्यसैले अहिले पाकेको धान काट्दै गरेका छौ ।

अबको केही दिनमा रोपाइँ हुन्छ ।’ उनका अनुसार असार महिनामा पानी परिरहने भएका कारण चैते धान घरमा भित्र्याउँदा भने समस्या हुने गरेको बताइन् । ‘बर्खाको समयमा पानी परिरहने भएका कारण पाकेको चैते धान स्याहार्न समस्यै हुन्छ’, उनले भनिन्– ‘तर धान राम्रो उत्पादन हुने भएपछि गाउँका अधिकांशले खेती गर्दै आएका छन् ।’

वर्र्षे धानजस्तो चैते धान नफल्ने भए पनि मौसम र पानी प्रशस्त भएको ठाउँमा राम्रो धान फल्ने गरेका कारण जिल्लाका धेरै ठाउँहरुमा चैते धान खेती हुने गरेको छ । केही बर्ष अघिसम्म चैते धान रोप्ने किसानलाई सरकारले प्रोत्साहनस्वरुप बीउ निःशुल्करुपमा दिने गरेपछि पछिल्लो समय दिन छोडेको किसानहरु बताउँछन् ।

जिल्लामा चैते धान बंगलाचुली गाउँपालिका वडा नं. ३ र ४ अन्तर्गत डाबर, घोराही उपमहानगरपालिका वडा नं. १ को सुकाखोला र देउखुरीका विभिन्न ठाउँमा किसानले चैते धान रोप्ने गरेका छन् । कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा दुई हजार पाँच सयभन्दा बढी हेक्टरमा चैते धान खेती हुने गर्छ ।

चैते धान रोपेका किसानहरुले साउनको पहिलो सातासम्म पुनः उक्त खेतमा बर्खे धान रोपेर बर्षमा दुई बाली धान उत्पादन गर्दै आएका छन् । जिल्लाको ३९ हजार ९ सय ५ हेक्टर खेती योग्य जमिनमध्ये ३५ हजार हेक्टर बढी जमिनमा धान खेती हुने गरेको छ । कृषि ज्ञान केन्द्रबाट आवश्यक प्राविधिक सहयोग र पालिकाबाट उन्नत जातको बीउ–बिजन उपलव्ध हुन सके यहाँको धान उत्पादनले जिल्लाभरीको खपतलाई पूरा गरेर बाहिर निकासी गर्न पनि सकिने किसानहरुले बताएका छन् ।

उनीहरुले स्थानीय सरकारलाई समयमा मलबीउ उपलव्ध गराउन र आधुनिक कृषि प्रणालीमा किसानलाई जोड्न पनि आग्रह गरेका छन् । त्यस क्षेत्रको आर्थिक आयआर्जनको मुख्य आधार कृषि नै भएकाले यसलाई सहज र उत्पादनमुखी बनाउन पनि ती किसानहरुको आग्रह थियो । तर यो सन्दर्भमा स्थानीय सरकारले भने खासै ध्यान दिन नसकेको उनीहरुको गुनासो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*