Home / Feature Breaking news / नेपाल संस्कृत विश्वविद्यालयमा दुई महिनापछि खुल्यो ताला

नेपाल संस्कृत विश्वविद्यालयमा दुई महिनापछि खुल्यो ताला

दाङ,२० असार । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा लागेको ताला दुई महिनापछि खुलेको छ । नेपाल विद्यार्थी संघले उठाएका १४ बुँदे मागहरुमध्ये आधा बढी मागहरु सम्बोधन भएपछि नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयमा लागेको ताला दुई महिनापछि खुलेको हो ।

सहमति अनुसार कार्यालयको मुलगेट र प्रशासन शाखालगायतका ठाउँका ताला खोले पनि उपकुलपति र रजिष्ट्रारलगायतका कार्यकक्षको ताला भने यथावत रहेको नेपाल विद्यार्थी संघले जनाएको छ । विद्यार्थीहरुको आउँदै गरेको परीक्षा र कार्यालयको दैनिक प्रशासकीय कार्य सञ्चालनलाई अवरोध नगर्ने उद्देश्यअनुसार दुई महिनादेखि गरिएको तालाबन्दी खोलेको नेपाल विद्यार्थी संघ नेपाल संस्कृत विश्वविद्यालय संघर्ष समितिका संयोजक चोलेन्द्र रिजालले जानकारी दिएका छन् ।

नेपाल विद्यार्थी संघले राखेका मागहरु विश्वविद्यालयले तीन महिनाभित्र दीक्षान्त समारोहको आयोजना गर्नुपर्ने, विद्यापीठमा प्रात एवं सामकालीन कक्षाको व्यवस्था गर्नुपर्ने, छात्राबाससँगै लाइब्रेरीलाई व्यवस्थित गर्दै इ–लाइबे्ररीका रुपमा व्यवस्थित गर्नुपर्ने, विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरुको व्यवस्थापन गर्नुपर्ने, विद्यार्थी मैत्री पाठ्यक्रमको व्यवस्था गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति तोक्नुपर्नेलगायतका मागहरु सम्बोधन भएपछि कार्यालयको मूलगेटमा लगाएको ताला खोलिएको बताए ।

उनका अनुसार विद्यार्थीहरुको छात्रवृत्ति २०० प्रतिशतले वृद्धि गर्नुपर्ने, अवैज्ञानिक तवरले गरिएको उपप्राध्यापकको विज्ञापन खारेज गरी वैज्ञानिक अध्ययन गरी सर्वपक्षीय माग सम्बोधन गरी पुनः विज्ञापन हुनुपर्ने, सेवा आयोगको पुनर्गठनसहित विश्वविद्यालयमा हुने आर्थिक अनियमितता छानबिनका लागि समिति गठन गर्नुपर्ने र नेसंविघको नर्सरीका रुपमा गुरुकुलहरुमा प्रक्रियाबद्ध ढंगबाट स्थायी प्राध्यापकको तत्काल व्यवस्था गर्नुपर्ने मागमा सहमति हुन नसक्दा संघर्ष समितिले पदाधिकारीहरुको कार्यकक्षमा भने तालाबन्दीलाई गरिएको बताए ।

‘हामीले उठाएका मागहरु मध्य अधिकांश माग पूरा गर्ने सहमति भएपछि नेपाल संस्कृृत विश्वविद्यालयको केन्द्रीय कार्यालयकलगायतका ठाउँमा लगाएका ताला खोलेका छौं’, संयोजक रिजालले भने– ‘सहमति कार्यान्वयनलाई लापरबाही गरिए पुनः थप कडा आन्दोलनका कार्यक्रम गर्नेछौ ।’ तालाबन्दीले नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयका सम्पूर्ण गतिविधि चल्न सकेका थिएनन् ।

तालाबन्दीका कारण विश्वविद्यालयले दूरगामी प्रभाव पर्ने खालका कुनै पनि निर्णय गर्न सकेको थिएनन् । त्यसैगरी बाह्र बर्षदेखि रोकिएको दीक्षान्त समारोह सम्पन्न गर्ने योजना अवरुद्ध भएको विश्वविद्यालयले जनाएको छ । त्यसैगरी पाठ्यक्रम लागू गर्ने निर्णय, एकीकृत हस्पिटलको निर्माणको प्रक्रिया अघि बढाउनेलगायत सम्पूर्ण पुँजीगत बजेट खर्च गर्नका लागि पनि समस्या उत्पन्न भएको विश्वविद्यालयले जनाएको छ । तालाबन्दीका कारण वि.सं. २०६७ सालदेखि थाती रहेको दीक्षान्त समारोह हुन सकेको छैन ।

नेपाल संस्कृत विश्वविद्यायलमा नेपाल विद्यार्थी संघले विभिन्न विद्यापीठमा रहेका विद्यमान समस्याहरुलाई मध्यनजर गरेर उपकुलपतिसमक्ष गत चैत २२ गते माग प्रस्तुत गरेको थियो । तर उक्त मागपत्रको कुनै पनि सम्बोधन नभएपछि नेविसंघले दोस्रो चरणको आन्दोलनअन्र्तगत गत वैशाख १९ गतेदेखि उपकुलपतिको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*