Home / Feature Breaking news / सडक निर्माणमा लापरबाही ४ महिनामा सक्नुपर्ने काम १५ महिनापनि सकिएन

सडक निर्माणमा लापरबाही ४ महिनामा सक्नुपर्ने काम १५ महिनापनि सकिएन

घोराही,१४ असार । सडक निर्माणमा सम्बन्धित निकायको चरम लापरबाहीका कारण ४ महिनामा सक्नुपर्ने काम १५ महिना बितिसक्दा पनि पूरा हुन सकेको छैन । जिल्लाको मुख्य बजारमै सडक निर्माणमा ढिलासुस्ती हुँदा स्थानीयले सास्ती ब्यहोर्नुपरेको छ ।

घोराहीको तुलसीपुर चोकदेखि–गुलरिया पार्कसम्म, सहिदगेटदेखि जिल्ला प्रशासन कार्यालयसम्म र क्याम्पस रोडअन्तर्गत भरतपुर उकालोदेखि महेन्द्र बहुमुखी क्याम्पससम्मको करिव चार किलोमिटर सडक सममयै काम गरेको भए २०७८ साल असार महिनामा सकिनुपथ्र्याे । तर सडक विस्तारसँगै नाला निर्माणको जिम्मा पाएको निर्माण कम्पनी आत्रेय÷पूर्णचन्द्र÷बस्नेत जेभी र कार्यान्वयन गराउने निकाय सहरी विकास तथा भवन कार्यालय र घोराही उपमहानगरपालिकाको लापरबाही कारण सडक विस्तारसँगै कालोपत्रे गर्ने काममा ढिलाई हुँदै आएको छ ।

निर्माण गर्ने ठेकेदारले चरम ढिलासुस्ती गरेपनि कार्यान्वयन गर्ने निकायले बेवास्ता गर्दा ४ महिनामै निर्माण हुनुपर्ने सडक अहिलेसम्म निर्माण हुन नसकेको घोराहीका स्थानीय प्रवीन बुढोथाकीले बताए । ‘जिल्लाको मुख्य बजारमा समयमै सडक निर्माण हुन नसक्नु लज्जाको विषय हो’, उनले भने,‘यसमा सम्बन्धित निकाय गम्भीर बन्नुपर्छ । जनतासँगै व्यवसायीले पाइरहेको दुःख समाधान गर्नतर्फ ध्यान दिनुपर्छ ।’ समयमै काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न समेत माग गरेका छन् ।निर्माण व्यवसायीले बाटो खन्ने र गिटटी बाटोमा थुपार्दा दुर्घटनाको जोखिम समेत बजारमा बढाएको छ ।

सहरी विकास तथा भवन कार्यालयका अनुसार ४ महिनामा काम सक्नेगरी करिब ४ करोड ८१ लाखमा २०७७ चैत १ गते आत्रेय÷पूर्णचन्द्र÷बस्नेत जेभीसँग सम्झौता भएको थियो । सहरी विकास तथा भवन कार्यालयले भने निर्माण व्यवसायीको अटेरीपनाका कारण नालासहितको फुटपाथ निर्माणमा ढिलाई भएको बताएको छ ।

पहिलो चरणमा सम्झौताअनुसार काम नभएपछि कार्यालयले दोस्रो पटक २०७८ चैतसम्म सक्नेगरी सम्झौता थप गरेको थियो । त्यो समयमा पनि काम नसकिएपछि असार महिनाभित्र निर्माण व्यवसायीले सक्छु भनेपनि कामको प्रगति हेर्दा सक्ने अवस्था नरहेको सहरी विकास तथा भवन कार्यालय दाङका प्रमुख आनन्दकुमार देवले बताए । ‘निर्माण व्यवसायीलाई सोध्दा काम गरिरहेको बताएको छ । तर कामको प्रगति भने ६०÷७० प्रतिशत मात्रै छ’,कार्यालय प्रमुख देवले भने,‘यहि तरिकाले बाँकी १६÷१७ दिनमा काम सक्ने अवस्था छैन ।’ नालासहितको फुटफात नबन्दा सडक कालोपत्रे गर्ने काम अघि बढ्न सकेको छैन ।

प्रदेश सरकारअन्तर्गत सहरी विकास तथा भवन कार्यालयले फुटपाथसहितको नाला निर्माण गर्ने र घोराही उपमहानगरपालिकाले सडक कालोपत्रे गर्ने गरी निर्माण पक्षसँग सम्झौता भएको थियो । तर नाला निर्माण भएको स्थानमा पनि सडक कालोपत्रे हुन सकेको छैन । कार्यालय प्रमुखका अनुसार निर्माण व्यवसायीले सुरुमा कोरोना भाइरसको कारण देखाउँदै सडक निर्माणमा अलटाल गर्ने काम गरेपनि पछिल्लो समय महंगीको बहाना बनाउँदै सडक निर्माणमा ढिलाई गदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*