Home / Uncategorized / बिपद्को घाउमा ‘मल्हम’ लागेका रमेश

बिपद्को घाउमा ‘मल्हम’ लागेका रमेश

दाङ । कोरोनाको महामारीले जनजीवन आजित बन्दै थियो । सर्वसाधारणहरुले आफ्नो दैनिकी नाजुक बन्दै जाँदा कोरोनाको चोटमा मल्हम बन्नेहरुको खोजी गरिरहेका थिए । लकडाउनले दैनिकी ठप्प, अनि बाहिर भयाबह बनिरहेको कोरोनाले घर बाहिर निस्कनै सकस ।

साँझ बिहानको छाक टार्नै मुश्किल । तर घोराही उपमहानगरका एक वडाका जनप्रतिनिधि भने कोरोनाका यस्तै घाउहरुमा मल्हम बन्न दिनरात खटिए ।घोराही उपमहानगरपालिका वडा नम्बर १५ का रमेश पाण्डेले वडा अध्यक्षको ५ बर्षेकाल पुरा गरिसके ।

यो बेलाका बिकासका पूर्वाधार सर्वसाधारणहरुको आँगनमा पुर्याउनु उनको दायित्व छँदै थियो , त्यसमाथि नेपालमा महामारीका रुपमा फैलिएको कोरोना महामारीबाट वडाबासीहरुलाई सुरक्षित राख्नु अर्को गहन जिम्मेवारी आईपर्यो । कोरोनाको महामारीका बेला रमेश घरमै थुनिएर बसेनन् ।
भलै कोरोना संक्रमणको जोखिम र त्रासमा उनी पनि थिए ।

तर वडा बासीहरुको सुरक्षालाई प्रमुख ठाने । कोरोना महामारीबाट वडाबासीहरुलाई सुरक्षित राख्न घरघरमै स्वास्थ्य सामाग्री पुर्याउन खटिए रमेश । अनि लकडाउनले हातमुख जोड्न मुश्लिक परिरहेका सर्वसाधारणहरुको घर घरमा चामलका बोरा बोकेरै पुगे ।

‘मेरो सानी छोरीसंगै सिंगो परिवरलाई कोरोना संक्रणको जोखिम थियो, परिवार म बाहिर गएको देख्दा डराउँथ्यो,’ रमेशले भने ‘तर मलाई परिवार संगै वडाबासीहरुको सुरक्षाका लागि पनि खटिन् पर्ने जिम्मेवारी थियो, फलतः कोरोना मन भरिको संक्रमणको डरलाई थाँती राखेर दिनरात फिल्डमै खटिएँ ।’

कोरोना संक्रमणका कारण गरिएको लकडाउनका कारण अन्य दिर्घरोगीहरु झनै मारमा परे । यातायातका साधन ठप्प । उपचारका लागि कसरी अस्पताल सम्म पुग्ने ? रमेशले यो अँझ ठूलो समस्याको समाधान गर्ने प्रमुख जिम्मेवारी पनि आफ्नै देखे ।

फलतः आफैले गाडी ब्यवस्थापन गरिदिए । अनि अस्पताल सम्म कैयन दिर्घ रोगका बिरामीहरुलाई अस्पताल सम्म पुगेर औषधी खान ब्यवस्था मिलाईदिए ।रोल्पा माडीकी सीता बिक २०७७ चैत दोस्रो साता लखतरान बिरामी परिन् । प्रेसरको औषधी सेवन गर्दै आएकी उनी लखतरान परेपछि उपचारका लागि घोराही झरिन्। घोराहीस्थित बुद्ध हस्पिटलमा चेकजाँच भएपछि थाहा भयो ‘उनका दुबै मृगौला खराब भएछन् ।’

‘रोल्पाका विभिन्न अस्पतालमा उपचार गराउँदा रोग पत्ता लागेन, अनि घोराहीमा उपचारका लागि ल्याएपछि दुबै मृगौला खराव भएको थाहा भयो,’ सीताका छिमेकी कृष्ण बिकले भने । कृष्ण घोराहीमै रहेकाले उनले सीताका छोरा रमेशलाई घोराही ल्याउन भनेका थिए ।

घोराहीस्थित बुद्ध हस्पिटलले दुबै मृगौला खराव भएको जनाएपछि पहिलो चरणको डायलासीसका लागि बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा लैजान सुझाव दियो । त्यहाँ लगेर पहिलो चरणको डायलासीस भयो पनि ।
यहि अस्पतालको लमहीमा रहेको शाखा अस्पतालमा नियमित डायलासीस गराउनु पर्ने अस्पतालले सुझाव दियो । तर लकडाउनका कारण बन्द रहेको यातायात सेवा । महंगोमा उम्बुलेन्स रिजर्भ गरेर हप्तामा दुईपटक डायलासीसका लागि लमही पुग्नु पर्ने समस्या उत्तिकै थपियो ।

‘आमाको उपचार कसरी गर्ने भन्ने चिन्ताले निकै सतायो,’सीताका छोरा रमेशलेका थिए ‘हामीसंग कुनै उपायनै थिएन ।’ सीताको उपचारका लागि एक सारथी बनेर आइदिए — घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष उनै पाण्डे ।

सीताको उपचार समस्याका बारेमा वडा अध्यक्ष पाण्डेले जानकारी पाए । सवारी आवतजातका लागि प्रशासनसंग समन्वय गरे अनि उनले आफ्नै पहलमा लमहीसम्म आउजाउ गर्नका लागि निशूल्क गाडीको व्यवस्थापन गरिदिए । यति मात्रै हैन, डायलासीसका लागि लमही आउजाउ गर्दा बाटोमा समस्या होला भनेर उनी आँफैसंगै पुग्थे ।

‘उहाँ (पाण्डे) भगवान बनेर आइदिनु भयो,’ सीताका छोरा रमेशले भने ‘उहाँले यति सहयोग नगरिदिएको भए आज मेरो आमाको अवस्था के हुन्थ्यो ?’ पाण्डे यसर्थ पनि सीता तथा उनको परिवारका लागि सारथी बनेर आए , रोल्पाकै माडी गाउँपालिका वडा नम्बर १ ले उनको उपचारका लागि चासो दिँदै दिएन ।

‘रोल्पाका हाम्रा वडा अध्यक्षलाई भन्यौँ, तर उहाँहरुले कागजात मिलाईदिनु भएन,’ सीताका छिमेकी कृष्णले भने ‘अनि उताबाट सहयोग नपाएपछि घोराही १५ का वडा अध्यक्षलाई भन्यौँ, उहाँले एकैबचनमा सहयोग गर्ने बचन दिनु भयो।’

लकडाउन यता मानव सेवामा खटिएका पाण्डे आफ्नो तर्फबाट सक्दो सहयोग गर्न खटिए । यसैक्रममा मृगौला फेल भएकी सीताको समस्याका बारेमा उनले थाहा पाए । उनले लगत्तै बचन दिए ‘उपचारका लागि चिन्ता नलिनु ।’

हप्तामा दुईपटक सीताको डायलासीस गर्नु पथ्र्यो । सीताका छोराले डायलासीसका लागि वडा अध्यक्षलाई मिति सम्झाइदिन्थे रमेश आँफै गाडी लिएर पुगिहाल्थे । ‘लकडाउनका बेला हरेक क्षेत्र मारमा परिरहेका बेला सीता जीको मृगौला फेल भएर लखतरान परिरहेको अवस्थामा मैले मानवीय धर्म निभाउनु मेरो दायित्व हो,’ पाण्डेले भने ‘मैले उपचारका लागि उहाँ आँफैलाई पुर्याउने र लिएर आउने गरेँ ।’

कोरोनाको महामारीले लगाएको घाउमा मल्हम बनेका उनै रमेश पुनः यही वडाको वडा अध्यक्ष बन्ने दौडमा छन् । नेपाली कांग्रेसका तर्फबाट पुनः वडा अध्यक्षको उम्मेदवार बनेका रमेश फेरी वडाबासीको ‘सारथी’ बन्न खोजिरहेका छन् ।

नेपाली कांग्रेसको लामो राजनीति अनुभवले खारिएका रमेश जनप्रतिनिधि बनेर एक कार्यकाललाई सफल पारेका छन् । यो कार्यकालमा तयार भएका केही आधार स्तम्भ हरु अबको कार्यकालमा पुरा गर्ने अठोट छ उनीमा । फलतः वडा ‘सरकार’ को नेतृत्वमा पुनः दोहोरिएर फेरी उस्तै काबिल वडा अध्यक्षका रुपमा पुनरस्थापित गर्ने दौडमा दौडिएका छन् रमेश ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*