Home / Feature Breaking news / हराँउदै चिउरी पेल्ने कोल

हराँउदै चिउरी पेल्ने कोल

दाङ, २८ चैत । घोराही उपमहानगरपालिका–१३ मौलाकोट निवासी कृष्णबहादुर घर्तीमगरको कुनै समय घरको प्रमुख आम्दानीको स्रोत चिउरीको तेल नै थियो । जंगलमा फलेका चिउरीको फल संकलन गर्ने र त्यही फललाई पेलेर तेल बनाएर बेच्ने काम उनको परिवारले गथ्र्याे । त्यही तेल बिक्री गरेर आएको पैसाले घर व्यवहार चलाउने गर्दथे ।

तर चिउरी परम्परागत रुपमा पेलेर तेल निकाल्दा दुःख धेरै हुने र बैकल्पिक माध्यम नहँुदा चिउरीको तेल पेल्ने काम विस्तारै छोड्दै गएको उनले बताए । उनका अनुसार पेल्ने कोलसमेत प्रविधिमैत्री बन्न नसकेको र भएका पनि जीर्ण छन् । त्यो भएर पनि अधिकांशले काम गर्न छोडिसकेका छन् ।

मेहनत गर्नेका लागि गाउँमै धन भए पनि सुख र धेरै पैसाको खोजीमा मानिसहरु बाहिर जाने गरेको उनी बताउँछन् । ‘कुनै समय घरको प्रमुख आम्दानीको स्रोत थियो चिउरीको तेल पेल पैसा तर अहिले फुर्सदमा गर्ने काम मात्रै भएको छ’, घर्तीले भने– ‘मेहनत गर्नेका लागि जंगलमा फलेको फलले राम्रो आम्दानी दिने गरेको छ । तर जंगलदेखि चिउरीको फल खोजेर ल्याउनेदेखि कोलमा पेलेर तेल बनाउँदासम्म दुःख धेरै हुने भएपछि धेरैले काम छोड्दै गएका छन् ।’ उनले कुनै दिन मौलाकोटवासीका लागि चिउरीको तेल पेल्ने काम प्रमुख आम्दानीको स्रोत भए पनि अहिले अधिकांशले छोडिसकेको बताए ।

पहाडी क्षेत्र र अन्य बाली कम उत्पादन हुने भएकाले पहिले अधिकांश परिवारको मुख्य कामजस्तै थियो तर अहिले समिति परिवारहरुले मात्र गर्ने गर्दछन् । उनका अनुसार मौलाकोटमा उत्पादन भएको चिउरीको तेल घोराही, तुलसीपुरलगायतका सहरहरुमा बिक्री हुने गरेको सुनाउँछन् । त्यही बिक्री गरेर आएको पैसाले चाडपर्व मान्नेदेखि छोराछोरीलाई लत्ताकपडा किन्ने पैसा समेत जुट्ने गरेको उनी बताउँछन् ।

घरमै बसेर मेहनत गर्नेहरुका लागि अहिले पनि चिउरीको तेल पेल्ने काम राम्रो माध्यम बन्न सक्ने उनले बताए । ‘गाउँघरमै बसेर मेहनत गर्नेका लागि अहिले पनि चिउरी राम्रो आम्दानीको फल हो’, उनले भने– ‘तर मेहनत गर्न सक्नुपर्छ ।’ उनले अन्य व्यवसायमा जस्तै चिउरीको तेल पेल्नका लागि वैकल्पिक माध्यम नहुँदा पनि पनि स्थानीयलाई समस्या भएको बताए ।

जंगल फल्ने फल निःशुल्क रुपमा पाइने भएपनि पनि मेहनत धेरै लाग्ने भएका कारण पछिल्लो समय अधिकांश मानिसहरुले चिउरीको फलबाट तेल निकाल्ने पेशा छोड्दै गएको मौलाकोटकै बीरबहादुर घर्तीमगरले बताए । स्वास्थ्यका लागि फाइदा हुने भएकाले उत्पादन भएको तेल बिक्रीमा समस्या नभए पनि तेल उत्पादनका लागि मेहनत धेरै लाग्ने भएकाले चिउरीको तेल बनाउने काममा नयाँ पुस्ता लाग्न नसकेको बताए ।

‘कुनै समय गाउँमा सबैका घरमा चिउरीको तेल खाने गरिन्थ्यो । खाने तेल स्थानीयलाई किन्न पर्ने अवस्था थिएन’, उनले भने– ‘तर अहिले अधिकांशको घरमा तेल बजारबाट आउने भएको छ । चिउरीको फल भने जंगलमा खेर जान थालेको छ ।’ आफ्नै जंगलमा फल्ने र निःशुल्क रुपमै टिप्न पाइने फलको सदुपयोग गर्न सके मौलाकोटवासीका लागि राम्रो आर्थिक आम्दानीको स्रोत बन्न सक्ने उनी बताउँछन् । तर यसतर्फ कसैको ध्यान जान नसकेको उनी बताउँछन् ।

उनका अनुसार चिउरी चैतको अन्तिमतिर फूल खेल्न थाल्छ । चैत महिनामा फुलेर असारदेखि साउन महिनासम्म चिउरी पाक्ने गर्दछ । त्यसरी पाकेर खसेको फल टिप्ने, सफासँग धुने र सुकाउने गरिन्छ । त्यसपछि तेल पेल्नका लागि तयार गर्न फललाई धुलो बनाउन ढिकीमा कुट्ने र नरम बनाउनका लागि आगोमा पकाउने गरिन्छ । आगोमा पकाएर नरम बनाएपछि त्यसलाई काठको कोलमा हालेर पेलेर तेल निकाल्ने गरिँदै आएको उनी बताउँछन् । तेल पेल्नका लागि स्थानीयले परम्परागतरुपमा बनाएको काठको कोल नै मौलाकोटवासीले प्रयोग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*