Home / Feature Breaking news / दाङ क्रिकेट लिग जिल्लाको प्रतिष्ठा, तयारी अन्तिम चरणमा

दाङ क्रिकेट लिग जिल्लाको प्रतिष्ठा, तयारी अन्तिम चरणमा

लिलाधर वली

दाङ,११ चैत । दाङ जिल्लामा सवैभन्दा ठुलो राशीको क्रिकेट प्रतियोगिता ‘दाङ क्रिकेट लिग’को तयारी अन्तिम चरणमा पुगेको छ । दाङ क्रिकेट संघको आयोजनामा यहि चैत १२ गतेदेखि १७ गतेसम्म घोराही उपमहानगरपालिका–१७ स्थीत गुलरिया क्रिकेट मैदानमा हुन थालेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो ।

लिग सञ्चालन हुने दिन नजिकिदै गर्दा क्रिकेट मैदानको घाँस काटेर सम्याउने र सफा गर्ने काम सकिएको छ । प्रतियोगिताका लागि आवश्यक मैदानमा तीन वटा पिच निर्माणको काम अन्तिम चरणमा पुगेको दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिएका छन् । पिच निर्माणका लागि टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानका क्यूरेटर विसनकुमार मण्डलको नेतृत्वको टिमले काम गरिरहेको छ ।

त्यसैगरी मैदानमा पेभेलियन बक्स, मिडिया बक्सलगायतका क्रिकेट खेल्नका लागि आवश्यक पूर्वाधारहरु निर्माणको काम अन्तिम चरणमा पुगेको अध्यक्ष मजगैयाले बताए । ‘जिल्लाको प्रतिष्ठासँग जोडिएको प्रतियोगिताको तयारी लगभग अन्तिम चरणमा पुगेको छ’, अध्यक्ष मजगैयाले भने,‘भालीसम्म मैदानमा सवै काम सकेर खेल्नका लागि तयार बनाउने छौ ।’ उनले खेलाडीलाई खेल्न सहज होस भनेर मैदानको दुवै छेउमा ठुला साइडस्क्रन समेत राख्ने काम गरिएको बताए ।

निजी क्षेत्रबाटै खेलाडी खरिद विक्रि गरेर प्रतियोगिता आयोजना गरिनु दाङको इतिहासमै पहिलो अभ्यास भएकाले आगामी दिनहरुमा खेलमा लगानीसँगै पूर्वाधार विकासमा आकर्षण बढ्ने बताए । जसले दाङको खेलकुद क्षेत्रको प्रर्वद्धनसँगै खेलाडीहरुलाई खेलप्रति आकर्षण बढाउने विश्वास उनलाई छ । ‘सरकारी तहबाट जिल्लामा राष्ट्रियस्तरका प्रतियोगिताहरु भएका छन्, तर निजी क्षेत्रबाट खेलाडी खरिद विक्रि गरेर पहिलो पटक ठुलो प्रतियोगिता हुदैछ’,उनले भने,‘यसले खेलक्षेत्रको विकाससँगै लगानीका लागि समेत स्थानीय सरकारलाई आकर्षित गर्नेछ ।’ उनका अनुसार जिल्ला लिगका लागि घोराही उपमहानगरपालिका संरक्षक बनेको छ भने राप्ती गाउँपालिका र बबई गाउँपालिकाले सहयोग गरेको बताए ।

प्रतियोगितामा पाँच वटा फ्रेन्चाइज टिमहरु घोराही टाईगर्स, देउखुरी वारियर्स, दंगाली लायन्स, पुरन्धारा च्यालेन्जर्स र तुलसीपुर रोयल रहेका छन् । उनका अनुसार यी टिममा जिल्लाका उदयमान खेलाडीदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेलिसकेका एक सय बढी खेलाडीहरु समावेश भएर प्रतियोगिता खेल्नका लागि घोराहीमा आएर नियमित अभ्यास गरिहेका छन् । जिल्लाका दशवटै पालिकाहरुलाई समेटिएर बनाइएको टिमहरुको नेतृत्व जिल्लाकै राजनीतिक दल तथा व्यवसायीहरुले लिएका छन् ।

जिल्लामा पहिलो पटक हुन थालेको अक्सनमा आधारित प्रतियोगिताले जिल्लाको खेलक्षेत्रको विकाससँगै नयाँ खेलाडी उत्पादनमा सहयोग पु¥याउने नेपाल क्रिकेट संघ (क्यान)का लुम्विनी तथा कर्णाली प्रदेश सदस्य एवं क्रिकेट संघ दाङका सल्लाहकार कैलाश रोकामगरले जानकारी दिएका छन् । उनका अनुसार प्रतियोगिताले नयाँ र अनुभवी खेलाडीविचको खेलले सम्वन्ध स्थापित मात्र नभई दाङको खेल क्षेत्रको विकासका लागि कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

‘दाङ क्रिकेट लिगले जिल्लाको खेलकुदसँगै खेलाडीहरुको पहिचानका लागि ठुलो भूमिका खेल्ने छ’,पूर्व खेलाडी समेत रहेका रोकाले भने,‘यसले जिल्लामा पूर्वाधार विकासमा समेत स्थानीय सरकारदेखि निजी क्षेत्रलाई पनि आकर्षित गर्नेछ ।’ कोरोनाका कारण ठप्प प्रायजस्तै रहेको खेलक्षेत्रलाई पुनर्जीवित गर्न र खेलका माध्यमबाट यहाँको आर्थिक,पर्यटनलगायको विकासमा समेत टेवा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*